काठमाडौं: ५० वटै ब्रोकर कार्यालयमा सेयर लगानीकर्ताको ताला

काठमाडौं । आन्दोलनरत सेयर लगानीकर्ताहरुले काठमाडौंमा रहेका ५० वटै ब्रोकर कार्यालयमा तालाबन्दी गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमा सेयर कारोबार गर्दा सरकारले थप कर लगाएकाले काठमाडौंमा रहेका ५० वटै ब्रोकर कार्यालयमा तालाबन्दी गरिएको आन्दोलनरत अगुवा लगानीकर्ता नयन बास्तोलाले जानकारी दिए ।

आर्थिक विधेयकमार्फत सरकारले व्यावसायिक सेयर कारोबारसरह नै कर तिर्नुपर्ने नियम लगाएको भन्दै दुई दिनदेखि लगानीकर्ता आन्दोलित बनेका छन् ।  विद्यमान पुँजीगत लाभकर दीर्घकालीन ५ र अल्पकालीन ७.५ प्रतिशत नै अन्तिम कायम गर्नुपर्ने अडान लगानीकर्ताले राखेका छन् ।

आर्थिक विधेयक परिमार्जन नभएसम्म आन्दोलन जारी राख्ने लगानीकर्ताले घोषणा गरेका छन् । बिहीबार पनि लगानीकर्ताले एकाध ब्रोकर कारोबार बन्द गराएका थिए ।

अर्थमन्त्रीले सेयर कारोबारमा कुनै प्रकारको कर नलगाएको बुधबार प्रस्टीकरण दिएका छन् । उनले सेयर कारोबार गर्दा ९९.९९ प्रतिशत कुनै पनि कर नलगाएको दाबी गरेका थिए ।

1

त्यस्तै, आन्तरिक राजस्व विभागले पनि विद्यमान पुँजीगत लाभकर यथावत् रहेको विज्ञप्तिमार्फत प्रस्ट पारेकाे छ । तैपनि, लगानीकर्ता करको विषयलाई लिएर आक्रोशित भएका छन् ।

images