

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७९/८० को अन्तिम कारोबार दिन आज नेप्से परिसूचक शून्य दशमलव ५८ प्रतिशत अर्थात् १२ दशमलव १६ अंक बढेर बन्द भएको छ ।

यससँगै नेप्से परिसूचक २ हजार ९७ दशमलव ०९ विन्दुमा पुगेको हो । परिसूचक बढे पनि कारोबार रकम भने केही घटेको छ । अघिल्लो कारोबार दिन रू. ३ अर्ब ३९ करोड बराबरको कारोबार भएकोमा आज (आइतवार) भने रू. २ अर्ब ३७ करोड बराबरको भएको हो ।

आइतवार कारोबारमा आएका २८६ धितोपत्रको ७१ लाख ८४ हजार २५४ कित्ता शेयर ३९ हजार ३७ पटकमा रू. २ अर्ब ३७ करोड बराबरको शेयर कारोबार भएको छ । यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ७४ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ६३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ८५ प्रतिशत वृद्धि भएको छ ।
कारोबारमा आएका धितोपत्रमध्ये सनराइज फोकस्ड इक्वीटी फण्डको इकाई मूल्य सबैभन्दा बढी १० प्रतिशत वृद्धि भएको छ । यससँगै फण्डको इकाई मूल्य रू. ९ दशमलव ६८ पुगेको हो । एनआईबिएल ग्रोथ फण्डको इकाई मूल्य ९ दशमलव ९२ प्रतिशत बढेर रू. १० दशमलव ६४ पुगेको छ ।

त्यस्तै आइतवार लिवर्टी इनर्जी कम्पनीका शेयरधनीले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ५ दशमलव ९६ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २४४ दशमलव ५० मा झरेको छ ।
शेयर मूल्य सर्वाधिक घट्नेको सूचीमा दोस्रोमा मकर जितुमाया सुरी हाइड्रोपावर छ । कम्पनीको शेयर मूल्य ५ दशमलव ८३ प्रतिशत घटेर रू. २७३ दशमलव १० पुगेको छ ।

यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा शिवम् सिमेन्ट्सले ओगटेको छ । कम्पनीको रू. १९ करोड १३ लाख बराबरको शेयर कारोबार भएको हो । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६५१ दशमलव ५० कायम भएको छ ।
त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुनेमा दोस्रोमा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी छ । कम्पनीको रू. १५ करोड ६९ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
यस दिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये पाँचकाे समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ ।

समूहगत परिसूचक सर्वाधिक बढ्नेमा म्युचुअल फण्ड समूह छ । उक्त समूहको परिसूचक २ दशमलव ०६ प्रतिशत बढेको छ । यस्तै समूहगत परिसूचक सर्वाधिक घट्नेमा हाइड्रोपावर समूह छ । कम्पनीको परिसूचक शून्य दशमलव ७३ प्रतिशत घटेको छ ।



