
काठमाडौँ — उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी अनुसन्धानमा दोषी देखिए माओवादी केन्द्रका नेता हुन् कि अरु कुनै पार्टीका नछुट्ने बताएका छन् । प्रतिनिधसभामा उठेका प्रश्नको जवाफ दिने क्रममा मंगलबार गृहमन्त्री श्रेष्ठले उक्त प्रतिबद्धता जनाएका हुन् ।

भेप’मा लुकाएर ९ किलो सुन ल्याएको विषयमा माओवादी केन्द्रका नेता शंकाको घेरामा परेपछि अनुसन्धान रोकिएको भन्ने आरोपको जवाफ दिने क्रममा गृहमन्त्री श्रेष्ठले भने, ‘माओवादी वा कुनै पार्टी होस् अनुसन्धानले तथ्य प्रमाणले दोषी देखाउँछ भने कोही छुट्नेवाला छैनन् । अनुसन्धानका तथ्य प्रमाणले दोषी देखाए भने कोही छुट्दैन, कोही उम्कन पाउँदैन ।’

९ किलो सुन तस्करी भएको र त्यसको छानबिन फाइल गृहमन्त्रीको टेबुलमा भएको अभिव्यक्ति एमालेका सचिव तथा सांसद योगेश भट्टराईले बताएका थिए । उनले गृहमन्त्रीलाई प्रश्न सोध्दै त्यो फाइल किन नखोलेको भनेका थिए । जवाफमा गृहमन्त्री श्रेष्ठले भने, ‘भेपको फाइल त गृहमन्त्रीको टेबुलमा छ भन्नुभयो । पहिला सरकार चलाउँदा त्यस्तो चलन थियो ? सीआईबीलाई निर्देशन दिएका छौं, अनुसन्धानबाट जे देखिन्छ त्यो गर्नुस् । कसलाई छोड्ने र कसलाई तान्ने भन्ने हामी होइनौं ।’




