कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी छ,अर्थमन्त्री महत

  1काठमाडौँ — अर्थमन्त्री प्रकाशशरण महतले कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी रहेको  बताएका छन् । आयातकर्ता तथा करदातालाई अप्ठ्यारो पारेर कतिपय कर्मचारीले आफ्नो फाइदाका लागि बार्गेनिङ गर्ने गरेको रिपोर्टिङ मन्त्रालयमा आएको मन्त्री महतले बताए । भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा मन्त्री महतले कर्मचारीले इमान्दार भएर काम गर्ने हो भने लक्ष्यअनुसारको राजस्व संकलन हुने दाबी गरे ।‘मैले धेरै भन्सार नाकाको भ्रमण गरेँ, कर्मचारीले बार्गेनिङको व्यवहार गरेका रिपोर्टिङ मन्त्रालयमा आइरहेको छ, यो गलत हो, बन्द हुनुपर्छ ।’

तर सबैलाई एउटै बास्केटमा हालेर भन्सार नेतृत्वले मूल्यांकन गर्न नहुने उनको भनाइ छ  । अब प्रविधिको उच्चतम उपयोग गर्नुको विकल्प नरहेको मन्त्री महतले बताए । वीरगञ्ज भन्सारको उदाहरण दिँदै मन्त्री महतले भने ‘त्यहाँ ठूलो एक्सरे मेसिन प्रयोग नगरी वर्षौं त्यत्तिकै थन्काएर राखिएको छ’ उनले भने ‘मेसिनको प्रयोग भयो भने हाम्रो के काम ? भन्ने कुरा कर्मचारीबाट सुनियो, अब त्यसरी हुँदैन ।’

गत वर्ष ६० प्रतिशत राजस्व उठेकोमा यो वर्ष इमान्दार भएर काम गरियो भने सय प्रतिशत पुग्ने उनको दाबी छ । ‘जिम्मेवारीमा सम्झौता नगरी यसका काममा व्यवसायिकता, सम्मान र समर्पित हुनुपर्छ, कुनै पनि बहानामा सार्वजनिक फाइदाभन्दा निजी फाइदाका लागि काम गर्नु हुँदैन’ महतले भने ।

ad