

रुपन्देही । संघीय सरकारलाई ओभरटेक गर्दै लुम्बिनीमा प्रदेश निजामती विधेयक पारित भएको छ । संघीय सरकारले केही दिनअघि सदनमा यो विधेयक पेश गर्ने निर्णय गरेको थियो । तर, प्रदेशमा सबै प्रक्रिया पूरा गरेर शुक्रबार निजामती दिवसकै दिन पारित गरिएको छ ।
.jpg)

प्रदेशसभाको २५औं बैठकले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेर संघीय सरकारलाई दबाब बढाएको छ ।
निजामती कानून नबन्दा प्रदेशमा कर्मचारीको सरुवा बढुवा, वृत्ति विकास तथा अन्य खटनपटन र कर्मचारी दरबन्दी निर्धारण र पदपूर्तिका विषयमा समस्या परिरहेको थियो ।

शुक्रबारको बैठकमा सरकारको तर्फबाट मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । सभामुख तुलाराम घर्तीले विधेयक पारित गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरे । ध्वनि मतका आधारमा प्रदेशसभाले सर्वसम्मत रुपमा विधेयक पारित गरेको हो ।

बिहीबार बसेको २४औं बैठकमा प्रदेश मामिला तथा कानून समितिका ज्येष्ठ सदस्य सुधाकर पाण्डेले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक पेश गरेका थिए ।-एन पि







