सवारी साधनको कुम्भ मेला ,नाडा अटो शो सुरू : ६ दिनसम्म चल्ने(तस्बिर सहित)

काठमाडौं । काठमाडौंको भृकुटीमण्डमा सवारी साधनको कुम्भ मेला ‘नाडा अटो शो–२०२३’ शुरु भएको छ । ६ दिनसम्म चल्ने उक्त शोको उद्घाटन अर्थमन्त्री डा. प्रकाशशरण महतले गरेका हुन् ।

१५ औँ संस्करणको यो अटो शोमा १२० स्टल राखिएको छ । जहाँ नयाँ नयाँ ब्राण्ड र मोडलका विद्युतीय सवारीसाधन यस पटकको नाडा अटो शोमा प्रमुख आकर्षण बनेको छ । यद्यपी ४५ भन्दा धेरै ब्राण्डका सवारीसाधन अटो शोका स्टलमा राखिएको छ ।

अटो शोमा १६ ब्राण्डका चार पाङ्ग्रे, २२ वटा ब्राण्डका दुई पाङ्ग्रे, ७ वटा ब्राण्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं अन्य उपकरण कम्पनीहरूले सहभागिता जनाएका छन् । २–पाङग्रे, ४–पाङग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणहरूको छुट्टा–छुट्टै प्रदर्शन गरिएको छ ।

टाटा मोटर्स जेनुइन आयल भदौ ३१ सम्म चल्ने अटो शोको प्रमुख प्रायोजक हो । सह–प्रायोजकमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ ।

सवारी साधनको कुम्भ मेलाः ‘नाडा अटो शो–२०२३’ (फोटोफिचर)

यसैगरी प्रदर्शनीको डोर प्राइजमा याडिया, टिकटिङ्ग पार्टनरमा खल्ती, अफिसियल इन्टरनेट पार्टनरमा वल्र्डलिङ्क, फायर सेफ्टी सपोर्टमा हिटको प्रालि एवम् हस्पिटल पार्टनरमा फ्रन्टलाइन् हस्पिटल जस्ता संस्थाहरू रहेका छन् ।


अटो शोमा सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा एवम् सवारीसाधनसँग सम्बन्धित सामग्री खरिद एवम् जानकारी एकै थलोमा पाइनेछ ।

नेपाली महान चाड–पर्वहरूको पूर्वार्धमा आयोजना हुन लागेको प्रदर्शनीले अटो व्यवसायी, ग्राहकवर्ग, गाडी प्रेमीहरू तथा अटोमोबाइलसँग प्रत्यक्ष–अप्रत्यक्षरूपमा संलग्न सबैलाई उत्साह पूर्वक सहभागी गराउने आयोजकले विश्वास लिएको छ ।


नाडा अटो शोमा सहभागी संस्था तथा अवलोकनकर्ताहरूको चाप बढ्दै गइरहेको सन्दर्भमा, प्रदर्शनीले सवारी साधनलाई विलासिता मात्र नभइ आम सर्वसाधारणको जीविकोपार्जनका लागि चाहिने अत्यावश्यक साधनको रूपमा चित्रण गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ ।


अटो शोमा प्रवेश टिकटको मूल्य २०० रुपैयाँ तोकिएको छ । विद्यार्थीहरूले १५० रुपैयाँ तिरेर नाडा अटो शो अवलोकन गर्न पाउनेछन् ।  शोमा २० अर्ब रुपैयाँभन्दा बढी कारोबार हुने अपेक्षाा गरेको छ । – आर्थिक

ad