सांकेतिक तस्वीर

सर्लाही । प्रहरीले सर्लाहीको रामनगरस्थित मनुषमारा घाटमा जलाउन लागिएको अवस्थामा २१ वर्षीया युवतीको शव नियन्त्रणमा लिएको छ । मनुषमारा घाटबाटै प्रहरीले युवतीका पतिसहित परिवारका तीन सदस्यलाई पनि पक्राउ गरेको छ ।

रामनगर–१ खैर्वा निवासी सुनिल साहकी पत्नी २१ वर्षीया मनिषा साहको शव बुधबार दिउँसो चितामा चढाएर जलाउन ठिक्क पारेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए ।

घाटबाटै प्रहरीले युवतीका पति सुनिल, ससुरा रामेश्वर र देवर रामबाबुलाई पक्राउ गरेको छ । घाटमै प्रहरी पुगेपछि केही मलामी भागेका थिए । मनिषाको गलामा निलडाम देखिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको डीएसपी पञ्जियारले बताए ।

घाटबाट उठाएको शव प्रहरीले पोष्टमार्टमका लागि बुधबार साँझ प्रादेशिक अस्पताल मलंगवाको शव गृहमा लगेर राखेको छ । सर्लाहीकै कविलासी गाउँपालिका– ३ घर भएकी मनिषाको केही वर्ष पहिले विवाह भएको थियो । उनका माइती पक्षले पतिसहित परिवारका सदस्य मिलेर मनिषाको हत्या गरेको आशंका गरेका छन् । डीएसपी पञ्जियारका अनुसार परिवारका सदस्यले भने छारे रोगकी बिरामी मनिषाले आत्महत्या गरेको दाबी गरेका छन् ।

-एन पि







