

काठमाडौं । महिला अधिकारकर्मीहरूले संविधान दिवसको अवसरमा सरकारबाट आममाफी पाएका योगराज ढकाललाई पुनः थुनामा राख्न माग गर्दै आन्दोलन गरेका छन् । बुधबार महिला अधिकारकर्मीहरूले आममाफी फिर्ता गरी योगराज ढकाललाई जेल चलान गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।


ढकाललाई कैद मिनाह दिइएको भन्दै मृतककी पत्नी भारती मानन्धर माईतीघरमा अनसनरत हुनुहुन्छ । उनीहरुले चेतन मानन्धरको आत्मालाई शान्ति दिन माग गर्दै शान्तिपूर्ण खबरदारी विरोध र्याली गरेका छन् ।

नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर व्यक्ति हत्या गरेको अभियोगमा जन्मकैदको सजाय पाएका योगराज ढकाल (रिगल) लाई सरकारले संविधान दिवसको अवसर पारेर कैद मिनाह गरेको थियो । रिगल २०७२ असार २८ मा नेपालगञ्जका चेतन मानन्धरको हत्या गरेको अभियोगमा दोषी ठहर भएका थिए । रिगल विरुद्धको मुद्दामा सर्वोच्च अदालतले सरकार र राष्ट्रपति कार्यालयको नाममा समेत कारण देखाउ आदेश जारी गरिसकेको छ ।










