राष्ट्रपतिबाट कैद मिनाहा भएको एक महिनामै लोकबहादुरले गरे महिलाको हत्या

Open photo

रुकुम। असल चालचलन र ५० प्रतिशत कैद भुक्तान गरेका आधारमा बाँकी कैद मिनाहा गरिएका एक व्यक्तिले जेलमुक्त भएको २५ दिनमा एक महिलाको हत्या गरेका छन्।

गत असोज ३ गते संविधान दिवसका अवसरमा मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट कैद माफी भई कारागार कार्यालय रुकुमबाट मुक्त भएका रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–९ का ३३ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर विकले एक महिलाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

लोकबहादुरले मुसीकोट नगरपालिका–७ साँखकी २८ वर्षीया भावना विकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए। लोकबहादुरले अभियोग स्विकार गरेको, दसी प्रमाण र अनुसन्धानका क्रममा समेत खुल्न आएको भन्दै प्रहरीले लोकबहादुरलाई बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ।

1

लोकबहादुरले कैदमुक्त भएको २५ दिनपछि असोज २९ गते सोमबार भावनालाई मुसीकोट नगरपालिका–१ खलङ्गा बजारको होटल सत्कारमा हत्या गरेको प्रहरीको दाबी छ। अघिल्लो दिन होटल पुगेका उनीहरूले त्रिवेणी गाउँपालिकाका विकास केसीको नाममा श्रीमान् श्रीमती नाता उल्लेख गरेर होटलको कोठा नम्बर १ बुक गरेका थिए।

दुवै जना २९ गतेदेखि नै सम्पर्कमा नआएपछि ३० गते बिहान बन्द कोठा खोलेर हेर्दा भावनाको शव सिरकले छोपिएको अवस्थामा भेटिएको थियो। लोकबहादुरले भावनाको घाँटीमा धारिलो चक्कु प्रयोग गरी हत्या गरेको डिएसपी भट्टराईले जनाउनुभयो। अनैतिक सम्बन्ध र आर्थिक लेनदेनका कारण हत्या भएको प्रहरीको भनाइ छ।

मृतकका श्रीमान् र हत्या आरोपितकी श्रीमती हाल वैदशिक रोजगारीमा रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलबाट धारिलो चक्कु, चक्कुको खोल, ८५ हजार ८३५ रुपैयाँ र मोबाइलसमेत बरामद गरेको छ।

प्रतिवादी कारागारमुक्त भएयता २५ दिनमा १२४ पटक दुई जना बिचमा मोबाइलमा कुराकानी भएको, विक कारागारमा रहँदा मृतक दुई पटक भेट्न गएको कुरा खुल्न आएको प्रहरीले उल्लेख गरेको छ।

1

images

हत्या आरोपित लोकबहादुरले बहुविवाह मुद्दामा रुकुम कारागारमा कैद भुक्तान गरेका थिए। उच्च अदालत सुर्खेतले २०७६ जेठ ९ गते एक वर्ष कैद सजाय सुनाएका लोकबहादुर २०७९ फागुन १४ गते कैद परेका थिए।

अन्तिम फैसला नहुँदा त्यसअघि उनले २४ दिन कैद भुक्तान गरेका थिए। २०८० माघ १९ गते कैदमुक्त हुनुपर्ने लोकबहादुरलाई सात महिना १२ दिन कैद भुक्तान गरेको र असल चालचलन रहेको भनी कैद भुक्तान गर्न तीन महिना २३ दिन बाँकी रहँदै मुक्त भएका थिए। प्रहरीले लोकबहादुरविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर थप अनुसन्धान अघि बढाएको जनाएको छ। -गोरखापत्र

images

111Open photo