
सर्लाही । सर्लाहीको बरहथवामा प्रदर्शनका क्रममा प्रहरीको गोली लागि मृत्यु भएका युवकको पहिचान खुलेको छ । मृत्यु हुनेमा बरहथवा नगरपालिका वडा–६ का ३२ वर्षीय जयशंकर साह रहेको सर्लाही प्रहरीले जानकारी दिएको छ ।


बरहथवा–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेससहितका दलले गरेको प्रदर्शनको क्रममा प्रहरीसँग झडप भएको थियो ।
आन्दोलनकारीले नगरपालिका कार्यालय तथा नगर प्रमुख कल्पनाकुमारी कटुवालको घरमा ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिन बल प्रयोग गरेको जनाएको छ ।


नगर अस्पताललाई प्रादेशिक अस्पताल बनाउने विषयमा बरहथवा नगरपालिकाका कार्यालय अगाडि शुक्रबार प्रदर्शन भएको हो । प्रदर्शनकारीले ढुंगामुढा गर्न थालेपछि प्रहरीले १३ राउण्ड गोली हवाई फायर गरेको थियो । भीडलाई नियन्त्रणमा लिन १९ राउण्ड अश्रुग्यास समेत प्रहार भएको डीएसपी पंजियारले जानकारी दिए । झडपमा ६ प्रहरी र दुई स्थानीय घाइते भएको जनाइएको छ ।







