६ किलो सुन, ६ किलो चाँदी र ६२ लाख नगदसहित भारतीय नागरिक पक्राउ

spot_img

पाेखरा –६ किलो सुन, ६ किलो चाँदी र ६२ लाखभन्दा बढी नगदसहित पाेखराबाट एक भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारत पश्चिम बंगाल मेदिनीपुर दासपुर ११ घर भई हाल पोखरा महानगरपालिका- २ मोहरिया टोल बस्ने ४० वर्षीय सुरजित भौमिक रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले जानकारी दिए।

पोखरा-२ मोहरिया टोलस्थित कवीन्द्रप्रसाद श्रेष्ठको घर भाडामा लिई विगत लामो समयदेखि भौमिकले गरगहना बनाउने कालिगढको रूपमा काम गर्दै आएका थिए।

भाैमिकले घर भाडामा लिई अवैध सुन ल्याई विभिन्न गरगहना बनाएर बेचबिखन तथा कारोबार गर्ने गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनकाे कोठामा लुकाई राखेकाे सुनका गरगहना, काँचो सुन, चाँदी, नगद र विभिन्न बैंकका चेकसहित नियन्त्रणमा लिएकाे थापाले बताए।

प्रहरीका अनुसार उनकाे साथबाट पाँच किलो दुई सय ग्राम, काँचो सुन, नौ सय ९९.९० ग्रामको एक ढिका (बिस्कुट) एक थान र ५० ग्रामको एक ढिक्का (बिस्कुट) गरी ६ किलो दुई सय ४९.९० ग्राम सुन बरामद गरेको छ।

साथै, उनका साथबाट ६ किलो चाँदी, ६२ लाख ८१ हजार नगद, विभिन्न बैंकका ६० लाख रुपैयाँबराबरका १३ थान चेक, मोबाइल, भारतको आधारकार्डलगायत सामान बरामद भएकाे एसपी थापाले जानकारी दिए। प्रहरी टोलीले २९ माघकाे साँझ भौमिकको कोठामा छापा मारेको थियो। बरामद गरिएका सुन, चाँदी, नगदसँगै अन्य सामग्री संकलन गर्न दुई दिन लागेकाे थियाे।