

काठमाडौं। नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण कार्यका लागि कडा चट्टानी पहाड फुटाउने काम अन्तिम चरणमा पुगेको छ । चट्टानी पहाड फुटाउने काम अन्तिम चरणमा पुगेको जानकारी सडक डिभिजन भरतपुरले शुक्रवार साँझ सामाजिक सञ्जालमार्फत दिएको हो ।


हरेक दिन मध्यान्ह १२ देखि अपरान्ह ४ बजेसम्म आवागमन बन्द हुँदै आएको सडक आइतवारदेखि २४ सै घण्टा खुला रहने नागढुंगा-मुग्लिन सडक योजना (पश्चिमखण्ड)का सूचना अधिकारी ई कृष्णप्रसाद आचार्यको भनाइ उद्धृत गर्दै सडक डिभिजन भरतपुरले जनाएको छ ।

‘नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण कार्यका लागि कडा चट्टानी पहाड फुटाउने कार्य लगभग अन्तिम चरणमा पुगेको जानकारी गराउँदछौँ,’ आचार्यले भनेका छन्, ‘दिनको १२ देखि ४ बजेसम्म आवागमन बन्द हुँदै आएको सडक यही फागुन १३ गते आइतवारदेखि २४ सै घण्टा सडक आवागमन खुला रहने कुराको समेत जानकारी गराउदछौं ।’








