भुमिकास्थानमा प्रभावकारी बन्दै कर्मशिल कार्यक्रमः पोष्कर÷थाकलका झोला र टोपी निर्यात गर्दै (तस्बिर सहित)

spot_img

-गोपाल प्रसाद भट्टराई 

फागुन–१७,अर्घाखाँची – अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले संचालन गरेको कर्मशिल जनशक्ति परिचालन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । बाँझो जग्गा खनेर गहत, प्याज र विभिन्न तरकारी खेतीबाट मनग्य आम्दानी हुने र कर्मशिल उद्यमीले तयार पारेका हस्तकलाका सामाग्री विदेशमा निर्यात हुन थालेपछि कर्मशिल कार्यक्रमको महत्व बढेर गएको हो ।

May be an image of 13 people and text

स्वरोजगार सिर्जना गर्ने, बसाइसराई नियन्त्रण गर्ने र आन्तरिक आम्दानी वृद्धि गरि भुमिकास्थानलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ कर्मशिल कार्यक्रम ल्याएको भुमिकास्थानले मकैको पोष्कर र थाकलको पातबाट निर्माण हुने हस्तकला सामाग्रीलाई व्यवसायिक रुपमै अगाडि बढाउने भएको छ । चालु आर्थिक बर्ष २०८०÷०८१ बाट भुमिकास्थान नगरपालिकाले सुरु गरेको कर्मशिल जनशक्ति परिचालन कार्यक्रम अन्तरगत प्रत्येक वडाबाट १० जनाका दरले १ सय जना कर्मशिल महिला उद्यमी तयार गरि मकैको पोष्कर र थाकलबाट टोपी र झोला निर्माण गर्न थालेपछि यसलाई व्यवसायिक रुपमै अगाडि बढाउने भएको हो ।

May be an image of 11 people, hat, hat shop and text

जसको निम्ती भुमिकास्थान नगरपालिकाका १ सय जना उद्यमी, नगरपालिका र बजारिकरणको जिम्मा लिएको ओम राजश्री मल्टि एग्रो प्रा.ली. काठमाडौं विच गुणस्तरिय उत्पादन र बजारिकरणमा इमान्दारिता पूर्वक जिम्मेवारि पूरा गर्ने त्रिपक्षिय प्रतिवद्धता भएको छ । तालिम प्राप्त १ सय जना उद्यमी, नगरपालिका र तालिम तथा बजारिकरणमा सहजीकरण गर्दै आएको ओम राजश्रीका प्रतिनिधिविच बिहिबार पोखेडाँडामा बृहत अन्तरक्रिया गरि यस्तो प्रतिवद्धता व्यक्त गरिएको हो ।

May be an image of 13 people and crowd

गत कार्तिक १२ गतेदेखि पहिलो चरणमा ३० दिने, दोस्रो र तेस्रो चरणमा १५ र ५ दिने तालिम पश्चात अहिले भुमिकास्थानका १० वटै वडाहरुमा १ सय जना महिला उद्यमीले झोला र टोपी निर्माण गर्दै आएका छन् ।

May be an image of 16 people and text

नगरपालिकामा कर्मशिल जनशक्ति परिचालन कार्यक्रम संचालनमा ल्याएपछि भुमिकास्थानमा अहिले मकै भन्दा पोस्करको मुल्य बढि पर्नेभएको छ । घरको काम सकाएर अतिरिक्त समयमा महिला उद्यमीले मकैको पोष्कर र थाकलको पातबाट टोपी र झोला बनाउन सक्ने भएपछि भुमिकास्थानका नागरिकको अतिरिक्त आम्दानी समेत थपिन थालेको छ । आफ्नै बारीमा फलेको मकैबाट निस्किएको पोस्करबाट मुल्यवान हस्तकला सामानबाट नसोंचेको अतिरिक्त आम्दानी हुन थालेपछि स्थानिय बासिन्दा पनि दङ्ग छन् ।

May be an image of 15 people

गाईभैंसीलाई घाँस हाल्ने, नखाए खेर फाल्ने मकैको पोस्करबाट टोपी र झोला जस्ता सामान बनाउने सिप सिकाएर तयारी सामान ओम राजश्री मल्टि एग्रो प्रा.लि. काठमाडौंले खरिद गरिदिने भएपछि भुमिकास्थानका किसानहरुमा अर्को खुशी थपिएको हो ।

May be an image of 4 people and text

भुमिकास्थानका १० वटै वडाबाट प्रतिनिधित्व गर्दै अहिले १ सय जनाले तालिम लिएर कर्मशिल जनशक्तिको रुपमा काम गर्न योग्य भएको नगरप्रमुख झविलाल थापाले बताउनुभएको छ । “खेर जाने पोस्करबाट आम्दानी दिने सामाग्री बनाउन हामीले अभियान चलाएका छौं” नगर प्रमुख थापाले भन्नुभयो, “यहाँका नागरिक पनि हाम्रो अभियानलाई साथ दिंदै व्यावसायिक रूपमै काममा लाग्ने योजना बनाउन थाल्नुभएको छ ।” उहाँले अगाडि थप्नुभयो,“ सबैलाई उत्पादनमा जोडेर भुमिकास्थानलाई समृद्ध बनाउने लक्ष्य लिएका छौं ।” सुकेको पोस्करकै प्रति किलो १ सय ५० रुपैंया, पोस्करबाट बनेको टोपी प्रति थान ६ सय रुपैंया र झोला प्रति थान ५ सय रुपैंयामा बिक्री हुन थालेपछि सर्वसाधारणलाई स्वरोजगारको अवसर सिर्जना भएको नगर प्रमुख थापाको तर्क छ ।

May be an image of 1 person and studying

कर्मशिल जनशक्ति परिचालनबाट तयार हुने सामाग्री तथा उपजको बजारीकरणको ग्यारेन्टि भएसंगै भुमिकास्थानका सर्वसाधारणको आन्तरिक आम्दानी बढ्ने, स्वरोजगारको सिर्जना हुने र बसाइसराई रोकिने आँकलन गरिएको नगर उप–प्रमुख बालकृष्ण बन्जाडेको धारणा छ ।

May be an image of 3 people and people studying

३० दिने तालिमकै समयमा प्रयोग भएको पोस्कर र तयार भएका हस्तकलाका सामाग्री समेत नगरपालिका मार्फत ओम राजश्री काठमाडौंले खरिद गरि पैसा दिन थालेपछि व्यावसायिक रूपमै पोस्करका सामाग्री बनाउन भुमिकास्थानका किसानको रहर जागेको प्रमुख प्रशासकिय अधिकृत खिमानन्द आचार्यको भनाई छ ।

May be an image of 8 people, people studying and text

तालिम अवधिमा १ सय जना उद्यमीले तयार पारेका हस्तकला सामाग्री टोपी र झोला विक्रिबाट ३ लाख १२ हजार रुपैंया उद्यमीले आम्दानी गरिसकेको भुमिकास्थानका कार्यक्रम अधिकृत हरिश्चन्द्र भुसालले जानकारी दिनुभएको छ । उहाँका अनुसार भुमिकास्थानका १० वटै वडामा पोष्कर र थाकलबाट तयार भएका सामाग्रीलाई संकलन र बजारीकरण गर्न भुमिकास्थानले कोशेलीघर स्थापना गर्ने योजना समेत बनाएको छ ।

May be an image of 8 people

अन्तरक्रिया कार्यक्रममा भुमिकास्थान–५ का वडाध्यक्ष जयगोपाल श्रेष्ठ, ओम राजश्री मल्टि एग्रो प्रा.लि.का प्रवन्ध निर्देशक युवराज गैरे, पत्रकार महासंघका जिल्ला सदस्य गोपाल प्रसाद भट्टराई र कर्मशिल उद्यमीहरुका प्रतिनिधिहरुले आ–आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा बोल्दै उहाँहरुले कर्मशिल जनशक्ति परिचालन अभियान निकै प्रभावकारी रहेको भन्दै यसलाई सफल पार्न सबैको हातेमालोको खाँचो औल्याउनुभएको छ ।

May be an image of 7 people and text

भुमिकास्थानका जनप्रतिनिधि, कर्मचारी, बजारिकरणको जिम्मा पाएको ओम राजश्रीका प्रतिनिधि, कर्मशिल महिला उद्यमी र सरोकारवालाको उल्लेख्य सहभागितामा सम्पन्न बृहत अन्तरक्रिया कार्यक्रम मार्फत कर्मशिल जनशक्ति परिचालन कार्यक्रमलाई सफल पार्न सबैले हातेमालो उद्घोष गरिएको भुमिकास्थान नगरपालिकाका कम्प्युटर अधिकृत शेषकान्त घिमिरे ओसनको भनाई छ ।