शालिन घटना पोस्टमार्टम रिपोर्ट आयो : शालिनको बलात्कार भएको देखिएन ,मृत्युको कारण ‘ह्याङ्गिङ’

spot_img

चितवनको रत्ननगर नगरपलिका–१० स्थित एकता शिशु निकेतन विद्यालयलकी १४ वर्षीया छात्रा शालिन पोखरेलको बलात्कार नभएको पोस्टमार्टम रिपोर्ट आएको छ। प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको पोस्टमार्टमको रिपोर्ट आइतबार आएको हो।

‘हिजो सार्वजनिक बिदा भएकाले आज (आइतबार) शालिनको पोस्टमार्टम रिपोर्ट हामीकहाँ आइपुगेको छ’, एक प्रहरी अधिकारीले  भने, ‘पोस्टमार्टम रिपोर्टले शालिनको बलात्कार भएको पुष्टि गरेन। उनको मृत्युको कारण प्रष्टसँग ‘ह्याङ्गिङ’ भन्ने छ। अर्थात्, उनको मृत्युको कारण आत्महत्या हो भन्ने पोस्टमार्ट रिपोर्ट अस्पतालले दिएको छ।’

गत शनिबार बिहान १० बजेको समयमा चितवनको रत्ननगर नगरपालिका–१५ माधवपुर मामाघर भएकी एकता शिशु निकेतन स्कुलको होस्टलमा बस्दै आएकी १४ वर्षीया शालिनको शंकास्पद मृत्यु भएको थियो।

अर्की साथीसहित बस्ने होस्टलको कोठामा रहेको सिलिङको पंखामा डोरीको सहयोग लिएर झुन्डिएको अवस्थामा उनी मृत भेटिएकी थिइन्। शालिनको मृत्युपछि आफन्तले ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएका थिए।

जाहेरीपछि प्रहरीले प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सह-प्रधानाध्यापक ४० वर्षीय किरणबहादुर अधिकारी र होस्टेल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो। उनीहरू अझै प्रहरीको हिरासतमै छन्।

उनीहरूलाई चितवन जिल्ला अदालतको आदेशमा अनुसन्धानका लागि सात दिनसम्म हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।

उता शालिनका आफन्तहरू उनको बलात्कारपछि हत्या भएको दाबी सहित आन्दोलित छन्। सामाजिक सञ्जालमासमेत शालिनको पक्षमा न्याय अभियान चलाइएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले पनि यो प्रकरणको निष्पक्ष छानबिन गर्न आग्रह गरेका छन्।  -एनपी