त्रिकोणात्मक टी-२० आई सिरिज : उपाधिको लागि नेपाल र पपुवा न्युगिनी भिड्‌दै

spot_img

काठमाडौँ- त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) भिड्‌दैछन् । हङकङमा नेपाली समयअनुसार बिहान ११:४५ बजेदेखि खेल सुरू हुनेछ ।

मंगलबार बिहान भएको खेलमा नेपालले पीएनजीलाई नै ८५ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

जितका लागि १९९ रनको लक्ष्य पछ्याएको पीएनजीले १६ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय १३ रनमात्र बनाएको थियो ।

पीएनजीका लागि हिरि हिरिले सर्वाधिक २८ रन तथा सेसे बाउले २१ रन बनाएका थिए । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४, प्रतिश जिसीले २ तथा आकाश चन्द र गुल्सन झाले १-१ विकेट हात पारे ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १९८ रन बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेलले ५९ तथा सन्दीप जोराले ५६ रन बनाए । पीएनजीका असाद भालाले सर्वाधिक २ विकेट हात पारेका थिए ।

त्यस्तै मंगलबार भएको अर्को निर्णायक खेलमा हङकङलाई १० विकेटले पराजित गर्दै पीएनजीले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

मंगलबारको खेलमा हङकङले दिएको १२२ रनको लक्ष्य पीएनजीले १२ ओभर ४ बलमा विना विकेटको क्षतिमा पूरा गरेको थियो ।

पीएनजीको जितमा सेसे बाउले ६१ रन तथा टोनी उराले ५१ रन जोडेका थिए । हङकङले १८ ओभर ३ बलमा सबै विकेट गुमाएर १२१ रन बनायो । हङकङका लागि जिसन अलीले सर्वाधिक ५५ रन जोडेका थिए ।

हालसम्म पीएनजी र नेपालबीच भएको ५ टी-२० आई खेलमा नेपाल ४ खेलमा विजयी भएको छ ।