पूर्व न्यायाधीश भुवन गिरीकी पत्नी आरतीले सर्वोच्चको इजलासमै पिइन् विष

फाइल फोटो

spot_img

काठमाडौँ । पूर्व न्यायाधीश भुवन गिरीकी पत्न आरती रावलले सर्वोच्च अदालतको इजलासमै विष सेवन गरेकी छन् । आरतीले मुद्दाको बहस चल्दाचल्दै विष पिएकी हुन् ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा मुद्दाको बहस चल्दै गर्दा उनले विष सेवन गरेको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

कपिलवस्तु जिल्ला अदालतका पूर्वन् यायाधीश भुवन गिरीकी श्रीमती आरती न्याय माग्दै लामो समयदेखि सडक आन्दोलन गरिरहेकी छन् । श्रीमान गिरीविरुद्ध वैवाहिक बलात्कारको आरोप लगाउँदै उनले जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुमा जाहेरी दिएकी थिइन् । उनले गएको माघ २ गते सर्वोच्चको गेट अगाडि आत्मदाहको कोशिस गरेकी थिइन् । हाल उनको वीर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको र अहिले उनी स्थिर र बोल्न नसक्ने अवस्थामा रहेकी बताइएको छ ।-एनपि