दोहोरी साँझ र नाइट क्लबलाई नयाँ नियम : अब ग्राहक रक्सी पिएर अचेत भएमा व्यवसायीले नै घर पुर्‍याइदिनुपर्ने

spot_img

काठमाडौं । दोहोरी साँझ, नाइट क्लबलगायत रात्रिकालीन मनोरञ्जनसहित सेवा प्रदान गर्ने व्यवसायीको लागि नयाँ नियम आएको छ ।

ठमेल र दरबारमार्ग क्षेत्र २४ सैँ घण्टा खुल्ला गर्ने सन्दर्भमा रक्सी पिएर अचेत भएका ग्राहकलाई व्यवसायीले नै घर पुर्‍याइ दिनुपर्ने लगायतका नयाँ नियम आएको हो ।

गृहमन्त्रालयमा शुक्रबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितको उपस्थितिमा भएको  छलफलमा यसबारे छलफल भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जनकारी गराए ।

जसअनुसार राति १० बजेपछि मनोरञ्जनसहित सेवा प्रदान गर्ने व्यवसायीले अनिर्वाय रूपमा ध्वनी नियन्त्रण ‘साउन्ड प्रुफ’ व्यवस्था गर्नुपर्ने छ । बिहान ४ बजेसम्म सञ्चालनमा रहने त्यस्ता व्यवसायका लागि छुट्टै आचारसंहिता तयार पारिएको छ ।

श्रमिकको नाम थर ठेगानासहितको व्यक्तिगत विवरणको लगत तयार गरेर राख्नुपर्ने, डान्स बार, दोहोरी साँझ, लाइभ बार एण्ड लाउन्ज बार, पब, बार, क्लब र डिस्कोमा १८ वर्षभन्दा मुनिका बालबालिकालाई ग्राहकको रूपमा प्रवेश गराउन पाइने छैन ।

कार्यविधिमा अत्यधिक मादक पदार्थ सेवनबाट अचेत भएको सेवाग्राहीलाई घरसम्म पुर्‍याउन तथा सुरक्षित रूपमा बस्ने व्यवस्था मिलाउनु पर्ने भनिएको छ ।

कलाकारहरूले गायन तथा पर्दशन गर्दा मौलिकता, संस्कृति झल्किने र सीपमूलक नृत्य प्रदर्शन गर्नुपर्ने संहितामा छ । डान्सबार तथा नृत्य प्रदर्शन हुने ठाउँमा अस्लीलता प्रदर्शन नहुने गरी स्वस्थ मनोरञ्जन दिने गरी गायन तथा नृत्य व्यवस्था मिलाउनुपर्ने समेत उल्लेख गरिएको छ ।

श्रमिकलाई रात्रिकालीन समयमा वासस्थान सम्म पुर्या‍उनुपर्ने व्यवस्था मिलाउनुपर्ने पनि भनिएको छ । व्यवसाय स्थलमा यौन तथा यौन उत्पीडन शोषण र अमर्यादित व्यवहार नहुने अवस्था सुनिश्चित गर्नुपर्ने, श्रमजीवी महिला तथा कर्मचारीले पोसाक परिवर्तन गर्ने कोठामा सीसीटीभी राख्न नपाइने व्यवस्था गरिएको छ ।

– एनपि

 

May be a graphic of text that says "अर्घाखाँची डट् कम् अर्घाखाची डट् कम् Arghakhanchi.com News for all from Everywhere SUBSCRIBE www.arghakhanchi.com"