अब वैदेशिक रोजगारीमा जाने श्रमिकले एक घण्टाभित्रै श्रम स्वीकृति पाउने

spot_img

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकले अब एक घण्टाभित्रै श्रम स्वीकृति पाउने भएका छन् । काठमाण्डौको ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालयले आवश्यक कागजपत्र पुगेको अवस्थामा एक घण्टामै सबै खालको श्रम स्वीकृति उपलब्ध गराउने भएको हो ।

हिजो वैदेशिक रोजगार कार्यालयमा भएको पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी) अर्यालले श्रमिकले सबै प्रक्रिया पूरा गरी आवश्यक कागजपत्रसहित कार्यालय समयमा अनलाइनबाट आवेदन दिएमा २ मिनेट ४४ सकेन्डमा नै श्रम स्वीकृति दिन सकिने दाबी गर्नुभयो ।

प्राविधिक समस्या, बिजुलीको आपूर्ति र इन्टरनेटको स्पिडलाई ध्यानमा राखेर एक घण्टामा श्रम स्वीकृति दिन सक्ने अवस्था रहेको दाबी गर्नुभएको हो ।  नीतिगत र प्राविधिक सुधारका साथै कर्मचारीको अथक प्रयासले एक घण्टामा श्रम स्वीकृति उपलब्ध गराउन सम्भव भएको भन्दै उहाँले यसका लागि कार्यालयका सबै कर्मचारीलाई धन्यवाद दिनुभयो ।

पहिले १५ दिनसम्ममा श्रम स्वीकृति दिने व्यवस्था रहेकोमा त्यसलाई बिस्तारै घटाउँदै पछिल्लो समय तीन दिनभित्रमा श्रम स्वीकृति दिने व्यवस्था मिलाइएको थियो । तर श्रमिकले श्रम स्वीकृति पाउन हप्तौँ कुर्नुपर्ने बाध्यता भएपछि ती समस्याको समाधान गर्दै एक घण्टाभित्र नै श्रम स्वीकृति दिने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।

श्रम स्वीकृतिको लागि वैदेशिक रोजगारीमा जाने श्रमिकले आफ्नै मोबाइल वा कम्प्यूटरबाट अनलाइन आवेदन दिन सक्ने र श्रम स्वीकृति पनि अनलाइनबाट नै प्राप्त गर्न सक्ने मन्त्री अर्यालले बताउनुभयो । श्रम स्वीकृतिको लागि श्रमिकले मुख्य गरी पासपोर्ट, भिसा र रोजगारदातासँगको सम्झौता पत्र पेस गर्नुपर्छ ।

त्यस्तै, बिमा, कल्याणकारी कोष र सामाजिक सुरक्षा कोषको शुल्क  भुक्तानी गरेको हुनुपर्छ । श्रम कार्यालयमा अहिले कर्मचारीहरूले बिहान ७ देखि बेलुका ९ बजेसम्म गरी दुई सिफ्टमा काम गर्दै आएका छन् ।

 

May be a graphic of text that says "अर्घाखाँची डट् कम् अर्घाखाची डट् कम् Arghakhanchi.com News for all from Everywhere SUBSCRIBE www.arghakhanchi.com"