करिब दुई किलो सुन र डेढ करोड नगदसहित सात जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले पौने दुई किलो सुन र डेढ करोड नगदसहित सात जना पक्राउ गरेको छ ।

प्रहरीले विहीबार राति काठमाण्डौंको न्युरोडबाट १ हजार ७ सय ६८ दशमबल २५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जनालाई पक्राउ गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका सातै जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा दार्चुलाका वर्ष ४७ का गणेशदत्त बडू, भारत महारनष्ट्रका ३७ वर्षीय अमल विभूती, सोही स्थानका वर्ष १८ का प्रकाश विभूती र गणेशसतिस बाल्टे रहेको डिएसपी सुरक्षा केसीले बताउनुभयो । त्यस्तै पक्राउ पर्नेहरुमा झापा बिर्तामोडका वर्ष ३० का दिनेश खरेल, सोही स्थानका वर्ष २२ का भरतराज खरेल र दार्चुलाका वर्ष २१ का आयुष बडू रहेको पनि उहाँले जानकारी गराउनुभयो ।

बिहीवार न्युरोडको एक हुण्डी गोदाममा छापा मार्दा उक्त सुन, रकम र संलग्नहरुलाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।