धारापानीको आगलागी: दाताको सहयोगबाट बन्न थाले पीडितका घर (तस्बिर सहित)

-गोपालप्रसाद भट्टराई

बैशाख-२४,अर्घाखाँची- अर्घाखाँचीको भूमिकास्थान–३ र ४, धारापानीका विभिन्न स्थानमा गत बैशाख ८ गते भीषण आगलागी भयो । रातामाटा क्षेत्रको जङ्गलबाट सुरु भएको आगो बस्तिमा पस्दा गाउँ नै उजाड बनाइदियो । १५ वटा घर, १५ वटा गोठ, २ वटा भैसी, ९ वटा बाख्रा र सयौं रोपनी बन क्षेत्र जलेर खरानी हुँदा लाखौंको क्षति भएको छ ।

आगलागीबाट घरबास गुमाएकाहरुको घर संगै गाँस,बास र कपास पनि गुम्यो । जसका कारण आगलागी पीडितहरु अरुको शरणमा पर्नु पर्यो । यसरी पीडामा रहेका धारापानी बासीका दुःखेका मनका घाउलाई टाल्ने मल्हम बोकेर सहयोगीदाताहरु पनि त्यहा पुगिरहेका छन् ।

बैशाख ९ गतेबाटै सुरु भएको राहत दिनेक्रम अझै सम्म जारी छ । हालसम्म भूमिकास्थान नगरपालिका, जिल्ला प्रशासन मार्फत अर्घाखाँची उद्योग वाणिज्य संघ, लायन्स क्लब अफ अर्घाखाँची, भूमिकास्थान– रुपन्देही सम्पर्क समाज, ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाज, धारापानी–रुपन्देही सम्पर्क मंच, भूमिकास्थान–८ का वडाध्यक्ष राजकुमार श्रेष्ठ र सन्धिखर्क–८ का भरतमणी पौडेल लगायत अन्य थुप्रै दाताहरुले आगलागी पीडितलाई विभिन्न राहत सामाग्री वितरण गर्नु भएको छ ।

सहयोगी दाताहरुले आगलागी पीडितलाई खाद्यान्न, लत्ताकपडा, भाडावर्तन, आवास निर्माणको लागि रकम र जिन्सी समेत बितरण गरेको भूमिकास्थान–३ का वडाध्यक्ष कृष्ण प्रसाद बन्जाडेले जानकारी दिनुभएको छ । यसैविच आगलागि पिडितको आवास निर्माणको लागि पनि सहयोग प्राप्त भएको छ । ढाकावाङ्ग–धारापानी,सन्धिखर्क सम्पर्क मन्च र धारापानी–रुपन्देही सम्पर्क मंचले आगलागि पिडितलाई घरबास निर्माणको लागि आर्थिक सहायता प्रदान गरेको हो ।

भूमिकास्थान नगर–प्रमुख झविलाल थापा, भूमिकास्थान–१ का वडाध्यक्ष गोपाल खनाल, भूमिकास्थान–३ का वडा अध्यक्ष कृष्णप्रसाद बन्जाडे, भूमिकास्थान–४, का वडाध्यक्ष बाबुराम पन्थी, कार्यपालिका सदस्य ठाकुर सौराग लगायतको उपस्थितिमा ढाकावाङ्ग,धारापानी,सन्धिखर्क सम्पर्क मन्चका अध्यक्ष तुल्सीराम खनाल, कविराम खनाल, पदम श्रेत्री, शोभाखर भुसाल, हरी प्रसाद भुसाल र धारापानी–रुपन्देही सम्पर्क मंचका महासचिव सन्तोष बन्जाडे लगायतको सहजीकरणमा राहत रकम पिडित परिवारलाई हस्तान्तरण गरिएको हो ।

ढाकावाङ्ग-धारापानी-सन्धिखर्क सम्पर्क मन्चका अध्यक्ष खनालका अनुसार ढाकावाङ्ग–धारापानी,सन्धिखर्क सम्पर्क मन्चले आगलागि पिडितको आवास निर्माणका लागि प्रति घर ३० हजार, थारेघर निर्माणको लागि प्रति थारो १५ हजार र गोठ निर्माणको लागि प्रति गोठ ८ हजार रुपैंयाका दरले राहत रकम हस्तान्तरण गरिने भएको हो । यस्तै धारापानी–रुपन्देही सम्पर्क मंचले प्रति घर निर्माणमा १० हजारका दरले रकम हस्तान्तरण गर्ने भएको छ ।

हाललाई आवास निर्माणको काम थाल्नुभएका देवी थापा, कृष्णा वली र वसन्ता मल्ललाई ढाकावाङ्ग-धारापानी-सन्धिखर्क सम्पर्क मन्चको ३०÷३० हजार र धारापानी–रुपन्देही सम्पर्क मंचको १०/१० हजार हस्तान्तरण गरिएको छ । यस्तै आगलागिमा परि घाइते हुनुभएका भूमिकास्थान–३ का पुर्ण बहादुर वि.क.लाई ५ हजार रुपैंया सहयोग हस्तान्तरण गरिएको छ ।

बाँकी आगलागि पिडितलाई घर र गोठ पूर्ननिर्माणको काम सुरु भएपछि सहयोग रकम हस्तान्तरण गरिने सस्थाका सचिव भुसालको भनाई छ । यसरी गाँस, बास र कपासको सहयोग बोकेर धारापानी जाने दाताहरुलाई भूमिकास्थान नगरपालिका र पीडित परिवारले समेत धन्यवाद ज्ञापन गरेका छन् ।