निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी बजेट ल्याउछौँ : अर्थमन्त्री पुन

काठमाण्डौ – अर्थमन्त्री वर्षमान पुनले आउँदो आर्थिक वर्षको बजेट निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी ल्याउने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले काठमाण्डौमा आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा उहाँले सरकारले निजी क्षेत्रको मनोबल उच्च बनाउन प्रशासनिक,आर्थिक नीति नियम र व्यावसायिक वातावरण बनाउने गरी छलफल गरेर असहज भएको ठाउँमा सहज बनाउने काम गरिरहेको बताउनुभयो ।

अर्थमन्त्री पुनले लगानी सम्मेलनअघि कानुनी अफ्ठ्यारो हटाउन आठ वटा कानुन संशोधन गरेको भन्दै त्यसबाट केही सहज वातावरण बनेको बताउनुभयो । सरकारले एकल निर्णय गर्ने अधिकार भए पनि निजी क्षेत्रलाई सहभागिता गराएर नीतिगत व्यवस्था गर्ने गरेको उहाँको भनाइ छ ।

मन्त्री पुनले औद्योगिक क्षेत्रका अन्य विषयलाई सरकारले बजेटमार्फत सहजीकरण गर्ने बताउनु भयो । उहाँले सरकारको सोच लगानी र व्यवसायीमैत्री वातावरण बनाउने भएको उल्लेख गर्नुभयो ।

सरकारको नीतिभन्दा बाहिर राष्ट्र बैंक नभएको भन्दै अर्थमन्त्री पुनले सरकारको नीतिअनुसार अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । उहाँले राष्ट्र बैंकसँग अर्थ मन्त्रालय सहकार्य गरेर नीतिहरू ल्याउने काम गरिरहेको बताउनुभयो ।

अर्थमन्त्री पुनले सरकारले पुँजीगत खर्च बढाउने कोशिश गरिरहेको दाबी पनि गर्नुभयाे । उहाँले स्रोतमा सीमितता भएकाले सरकार र निजी क्षेत्रले खर्च गरेको आधारमा चार दशमलव पाँच प्रतिशत आर्थिक वृद्धि हुने अपेक्षा रहेको उल्लेख गर्नुभयाे ।

– NP