


काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत पहिलो चरणमा लिइएको भाषा परीक्षा र सीप परीक्षाबाट ५,७५३ परीक्षार्थी उत्तीर्ण भएका छन् । सन् २०२४ मा इपिएसमार्फत उत्पादनतर्फको कामका लागि भाषा परीक्षा उत्तीर्ण गरेका ६,३२१ जनामध्ये सीप परीक्षामा उत्तीर्ण भएका हुन् । जसमा बाँकी ७७ जना सीप परीक्षामा अनुपस्थिति रहेको वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस शाखाले जानकारी दिएको छ ।


शाखाका अनुसार उत्पादनतर्फ पहिलो चरणको परीक्षामा सहभागी ४० हजार ५८० सहभागी भएका थिए । यो संख्या तीन चरणको भाषा परीक्षासहित छनोट गरिने १६ हजार चार सय हो । सो शाखाका अनुसार गएको फागुन पहिलो सातादेखि चैत २४ सम्म ४७ हजार ५१५ जनाका लागि लिइएको पहिलो चरणको भाषा परीक्षामा ४० हजार ५८० जना सहभागी भएका थिए ।

पहिलो चरणको सीप परीक्षामा सहभागी परीक्षार्थीको नतिजा दक्षिण कोरिया सरकारको मानव संशोधन विभाग (एचआरडी) ले बिहीबार राति सार्वजनिक गरेको जनाइएको छ । गएको फागुन २७ गते भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको एचआरडीले वैशाख ९ गतेदेखि १५ सम्म सीप परीक्षा सञ्चालन गरिएको थियो । इपिएस शाखाले कोरियन भाषा र सीप परीक्षा उत्तीर्ण हुँदैमा कोरियामा रोजगारीको ग्यारेन्टी नहुने र रोजगारीको छनोट प्रक्रियामा सामेल हुनु रोस्टरमा सूचीकृत हुनु मात्रै भएको जनाएको छ ।


दक्षिण कोरियाले इपिएस अन्तर्गत सन् २०२४ का लागि नेपाललाई तोकेको कोटा थप गरेका कारण यो वर्ष हालसम्मकै धेरै नेपालीले कोरियाको रोजगारी पाउने सम्भावना छ । २०२३ सालमा इपिएस अन्तर्गत १९ हजार ६९८ नेपाली कोरिया प्रवेश गरेकामा २०२४ सालको हालसम्म दुई हजार ७९२ जना गइसकेका छन् । यसबाहेक दक्षिण कोरियाले सन् २०२३ सम्म कृषि तथा पशुपालन, उत्पादनमूलक र सिप बिल्डिङ क्षेत्रबाट मात्र श्रमिक लगिरहेकोमा यो वर्षदेखि वन, सेवा र रुट इन्डस्ट्री क्षेत्रसमेत थप गरी यी क्षेत्रमा पनि नेपालबाट श्रमिक लैजाने भएको छ । विगतको वर्षभन्दा सन् २०२४ मा अझ बढी संख्यामा नेपाली श्रमिक कोरिया लैजाने बेहोराको पत्र कोरिया सरकारबाट आएको छ । कोरियाले यो वर्ष नेपालबाट २२ हजारभन्दा बढी युवा लैजाने आश्वासन दिएको छ ।
आवेदन दिएका ६९१ जनाको सेवा परिवर्तन
यसैबीच इपिएसमार्फत कोरिया जान भाषा परीक्षा उत्तीर्ण गरेर रोस्टरमा रहेका ६९१ जनाको सेवा परिवर्तन भएको छ । इपिएस कोरिया शाखाले कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रतर्फ रोस्टरमा रहेकाका लागि आह्वान गरेको सूचनामा तीन हजार पाँच सय जनाले सेवा क्षेत्र परिवर्तनका लागि आवेदन दिएकोमा त्यो सङ्ख्याको मात्रै सेवा क्षेत्र परिवर्तन भएको हो । सो शाखाका अनुसार सेवा क्षेत्रका लागि तत्काल परीक्षा नगर्ने र हाल कृषि, पशुपालन र उत्पादनमूलक क्षेत्रमा अन्तिम चरणमा छानिएर रोस्टरमा रहेका नेपालीलाई क्षेत्र परिवर्तन गरी कोरिया जाने अवसर दिएको थियो ।
– एनपि












