कास्कीको प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा ८ जना पक्राउ, डेढ अर्ब बढी रकम अपचलन।

काठमाडौं ।  कास्कीको प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा  ८ जना  पक्राउ परेका  छन् ।

मंगलबार जिल्ला प्रहरी कार्यालय कास्कीले सो सहकारीका निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, अध्यक्ष शंकर कार्की, व्यवस्थापक निरु थापा केसी, कर्मचारी सुरेन्द्रमणि पौडेल, कानुनी सल्लाहकार इन्द्रप्रसाद बराल, पूर्व कोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा अधिकृत सुनिल थापा र शेयर सदस्य मानबहादुर गुरुङलाई पक्राउ गरेको हो ।

उनीहरुमाथी  बचतकर्ताको रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना गरेको र ठगी गरेको आरोप लागेको छ ।

सहकारी रजिस्ट्रारको कार्यालयले दिएको  जाहेरीको आधारमा प्रहरीले  उनीहरुलाई पक्राउ गरेको हो ।   बचतकर्ताहरुसँग पनि उजुरी आह्वान गरिएको प्रहरीले जनाएको छ । सहकारी रजिष्ट्रारको कार्यालय पोखराले गरेको अनुसन्धानले सहकारीबाट एक अर्ब ५४ करोड १५ लाख ८ हजार एक सय ४२ रुपैयाँ हिनामिना भएको निष्कर्ष निकालेको हो ।