महिनौ देखि गच्छे–भालुवाङ सडक अवरुद्ध हुँदा सास्ती

 

  -हृदय भुसाल, अर्घाखाँची ।

अर्घाखाँची । गच्छे–भालुवाङ सडक लामो समयदेखि अवरुद्ध हुँदा स्थानीयलाई निकै सास्ती भएको छ । गच्छे–भालुवाङ सडकअन्तर्गत  भूमिकास्थान नगरपालिका–१० र सिगंगा नगरपालिका–६ जुकेनाको बीचमा पर्ने साप्रे भन्ने ठाउँमा माथिबाट पहिरो झर्दा उक्त बाटो लामो समयदेखि अवरुद्ध भएको हो ।

एकैठाउँमा बाटो व्यवस्थापन गर्दा उक्त सडक सहजै सञ्चालन हुने अवस्थामा भए पनि जनप्रतिनिधि गैरजिम्मेवार हुँदा बाटो सुचारु हुन सकेको छैन ।नियमित रूपमा दैनिक गाडी आवतजावत गरिरहेको बाटो गत असारको पहिलो हप्तादेखि नै अवरुद्ध भएको २ महिना बित्दा पनि सञ्चालन हुन नसकेको भन्दै स्थानीय जनप्रतिनिधिलाई पटकपटक गुनासो गर्दा पनि सुनुवाई हुन नसकेको स्थानीय सुधिर नेपालीले बताए ।

सन्धिखर्कदेखि प्रदेश राजधानी दाङ–भालुवाङ जोड्ने अर्घाखाँची जिल्लाको महत्वपूर्ण सडक उक्त सडक अवरुद्ध हुँदा ठाडा, बुटवल, भालुवाङ, दाङ लगायतका क्षेत्रमा जान निकै कठिनाई बेहोर्नुपरेको स्थानीय रेमलाल भट्टराईले बताए । सामान्य हिँडडुल गर्ने बाटो बनाए पनि पैदल हिँड्नसमेत जोखिम भएको भट्टराईको भनाइ छ । अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कदेखि लुम्बिनी प्रदेशको सदरमुकाम भालुवाङ जोड्ने निकै छोटो, सहज बाटो ६७ किलोमिटरमा सजिलै पुग्न सकिन्छ ।

२०५५ सालबाट सुरु भएको बाटोले अहिलेसम्म पनि भालुवाङसम्म राम्रोसँग पूर्णता पाउन सकेको छैन । त्यो भन्दा दशकपछि खोलेका बाटोहरू कालोपत्रे भइसकेका छन् । तर, त्यो बाटो प्राथमिकतामा नपर्दा जनताको तीव्र गुनासो बढेको छ ।

images

पटकपटक विनियोजन भएको रकम पनि काटिने गरेको छ भने अहिलेको चालु आर्थिक वर्षमा विगत वर्षमा भन्दा झन् कम रकम भएको सोही क्षेत्रका लुम्बिनी प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरेले बताए ।

सांसद घिमिरेले भने, ‘उक्त महत्वपूर्ण बाटोका बारेमा पटकपटक सदनमै कुरा उठाए, यसपालि अलि धेरै बजेट पर्छ भन्ने अपेक्षा थियो, हुन सकेन प्रदेशकै एउटा महत्वपूर्ण बाटोमा प्रदेश राजधानी जान अर्घाखाँचीले मात्र होइन, गुल्मी पाल्पाले समेत प्रयोग गर्ने सडक हो, मेरो ध्यान गएको छ ।’चुनावका बेला उक्त बाटो सबैका लागि महत्वपूर्ण हुने गरेको छ । सबै पार्टीका घोषणा पत्रमा पनि आकर्षण शब्दमा राखिन्छ । बोल्दा सबैले महत्व दिएर बोल्छन् । तर व्यवहारमा भने बाटोले महत्व पाएको अनुभूति स्थानीयले गर्न पाएका छैनन् ।

images

उक्त अवरुद्ध बाटो खोल्न र स्तरोन्नति गर्न स्थानीय जनप्रतिनिधि र सरोकारवालाको अविलम्ब ध्यान जानुपर्ने स्थानीयको माग छ ।

images

 

 

facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button