शेयर बजारमा रौनक: ६ अर्बको कारोबारसहित ५६ अंकले बढ्यो नेप्से

Open photo

 

 काठमाडौं- आइतबार शेयर बजारमा पुनः रौनक फर्किएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५६.०९ अंकले बढेको छ । आज नेप्से २.१५ प्रतिशतले बढेर २६५३.५८ विन्दुमा पुगेको छ ।

आज शेयर बजारमा बेच्नेले मात्र दशैं अगाडि पैसा पाउने दिन भएकाले पनि आज शेयर बजार पनि बढेको छ । आज ६ अर्ब १३ करोड ८२ लाख ६ हजार रुपैयाँ बराबरको १ करोड ५० लाख ४६ हजार ७१० कित्ता शेयर किनबेच भएको छ ।

आज २१९ वटा कपनीको शेयर मूल्य बढेको छ भने २३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आइतबार प्रि–ओपन सेसनमा झिनो अंकले बढेर सुरु भएको बजार निरन्तर उकालो लगेको थियो । बजार खुलेको केही समय नेप्सेमा रातो देखिएको भए पनि त्यसपछि भने निरन्तर हरियाली नै छाएको थियो । अन्तमा बजार बन्द हुँदा भने नेप्से ५६ अंकले बढ्यो ।

नेप्से बढेसँगै सबै समूहमा पनि हरियाली छाएको छ । आज सबैभन्दा बढी फाइनान्स समूह ६.३० प्रतिशतले बढेर ३ हजार ३५५.२२ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम म्यूचुअल फण्ड समूह ०.१८ प्रतिशतले बढेर २०.६३ विन्दुमा पुगेको छ ।

त्यस्तै, वाणिज्य बैंक २.२० प्रतिशतले, विकास बैंक समूह २.२२ प्रतिशतले, होटल एण्ड टुरिजम १.७१ प्रतिशतले, हाइड्रोपावर २.७३ प्रतिशतले, लगानी १.९९ प्रतिशतले, जीवन बीमा १.३४ प्रतिशतले, उत्पादन तथा प्रशोधन ३.१२ प्रतिशतले, लघुवित्त १.४७ प्रतिशतले, निर्जीवन बीमा १.४९ प्रतिशतले, अन्य समूह १.६२ प्रतिशतले र ट्रेडिङ समूह ०.९० प्रतिशतले बढेको छ ।