प्रथम नेपाली तारा युकेको सांगितिक यात्रामा

Nepal Life

 

काठमाडौं,  १ जेठ । नेपाली संगीत क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि सक्रिय गायक तथा प्रथम नेपाल तारा दिपक लिम्बु हाल सांगीतिक यात्राको क्रममा युनाइटेड किङ्गडम (युके) आइपुगेका छन्।

Nepal life insurance

मे १० मा ग्रेस कम्युनिटी सेन्टरमा सेवारो कलाकार संघ युकेको आयोजनामा सम्पन्न ‘यक्वा तङ्नाम’ कार्यक्रममा उनले आफ्ना चर्चित गीतहरूको प्रस्तुति दिए। सोही अवसरमा लिम्बुले आफ्नो सातौं गीति एल्बम ‘पैसा’ को विमोचनसमेत गरे।

एल्बम सेवारो कलाकार संघ युकेका उपाध्यक्ष अग्निप्रसाद केदेमसँगको सहकार्यमा निर्माण गरिएको हो।

कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै गायक लिम्बुले भने, “गीत-संगीत मेरो सासजस्तै हो। आज म जुन स्थानमा छु, त्यो यहाँसम्म पुर्‍याउन मेरा दर्शक–श्रोताको माया र साथकै कारण सम्भव भएको हो। युकेमा म नेपाली समुदायको माया र सम्मानले अभिभूत भएको छु।”

उनले थपे, “पैसा’ एल्बम मेरो जीवनका अनुभवहरूसँग जोडिएको एल्बम हो। गीत मात्र होइन, म आजको पुस्तालाई केही अनुभूति बाँड्न चाहन्छु। नेपाली संगीतलाई विश्वसामु चिनाउन सक्ने सामर्थ्य हामी सबैमा छ।

सन् २००५ मा नेपाल तारा विजेता बनेपछि लिम्बुले निरन्तर सांगीतिक यात्रा तय गरेका छन्। उनका ‘मुटु माग्यौ तिमीले’, ‘मैले माया गर्नु जानिन होला’, ‘सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला’ लगायत थुप्रै गीतहरू लोकप्रिय छन्। उनले हालसम्म झन्डै तीन हजार गीतमा स्वर दिइसकेका छन्।

युके भ्रमणपछि लिम्बु नेपाल फर्किएर आउँदो भदौ महिनामा काठमाडौंमा आयोजना हुने विशेष सांगीतिक कार्यक्रम ‘स्वर्णिम साँझ’ मा सहभागी हुनेछन्। कार्यक्रमको आयोजना ओ.एस. म्युजिकले गर्ने जनाएको छ।

गायक लिम्बुले नेपाल तारा २००५, छिन्नलता पुरस्कार २००७, वेष्ट भोकल फिल्मी अवार्ड २००८, नेशनल फिल्म अवार्ड २००९, डि–सिने अवार्ड २०१० र नारायण गोपाल युथ म्युजिक अवार्ड २०१६ प्राप्त गरिसकेका छन्।

 

Nepal life insurance