‘शक्तिमान’ बन्दै अल्लु अर्जुन

 

काठमाडौँ । सबैभन्दा लोकप्रिय टिभी कार्यक्रमहरू मध्ये एक शक्तिमानलाई ठुलो पर्दामा ल्याउने तयारी फेरी एक पटक तिब्र भएको छ । निर्माताहरूले यस प्रतिष्ठित पात्रको लागि दक्षिण सुपरस्टार अल्लु अर्जुनलाई रोजेको दाबी गरिएको छ ।

Nepal life insurance

मिडिया रिपोर्टका अनुसार अब शक्तिमानको भूमिका अल्लु अर्जुनले निभाउने छन् । फिल्ममा शक्तिमानको कथा दर्शकहरूलाई नयाँ शैलीमा देखाइने दाबि गरिएको छ ।

बलिउड बबलको रिपोर्ट अनुसार, फिल्म शक्तिमानको निर्देशन प्रसिद्ध दक्षिण निर्देशक बासिल जोसेफले गर्नेछन् । जबकि यो फिल्म सोनी पिक्चर्सको ब्यानरमा बनाइनेछ । यति मात्र होइन, अन्तर्राष्ट्रिय स्टुडियो गीता आर्ट्सले यस फिल्मका लागि सोनीसँग सहकार्य गर्ने बताइएको छ ।

२०२४ मा मुकेश खन्नाले एउटा भिडियो सेयर गरे जसमा उनले भनेका थिए कि अल्लु अर्जुन अर्को सुपरहिरोको भूमिकाको लागि राम्रो विकल्प हुन सक्छन् । अभिनेताले भनेका थिए, ‘म कुनै पनि कुरामा प्रतिबद्ध छैन, तर मलाई लाग्छ अल्लु अर्जुन शक्तिमान हुन सक्छन् । उनको लुक्स र उचाइ राम्रो छ । तर पुष्पाका निर्माताहरूले उनलाई खलनायकमा परिणत गरेका छन् । तैपनि उनी शक्तिमानको भूमिकामा फिट हुनेछन् ।’

सुपरहिरो टिभी शो ‘शक्तिमान’ ९० को दशकमा हरेक घरपरिवारमा प्रसिद्ध थियो । यो शो १९९७-२००५ सम्म टिभीमा चलेको थियो। अभिनेता मुकेश खन्नाले यस शोमा शक्तिमानको भूमिकाबाट धेरै लोकप्रियता पाएका थिए।

सन् २०२२ मा सोनी पिक्चर्सले एक भिडियो मार्फत मेगा बजेट फिल्म ‘शक्तिमान’ को घोषणा गरेको थियो । यो फिल्म २००-३०० करोडको बजेटमा बन्ने बताइएको छ । निर्माताहरूले यसलाई अन्तर्राष्ट्रिय स्तरमा बनाउने योजना बनाइरहेका छन् । यस फिल्मका लागि रणवीर कपुर र ‘गली ब्वाई’ फेम अभिनेता सिद्धान्त चतुर्वेदीको नाम पनि अगाडी आएको थियो ।

घोषणा गरेको तीन बर्षसम्म पनि अगाडी बढ्न नसकेको यो फिल्म अब भने अगाडी बढ्ने तयारीमा रहेको बताइएको छ ।

 

Nepal life insurance