




काठमाडौँ । बलिवुड फिल्म ‘बागी’ फ्रान्चाइजीको चौथो फिल्म बक्स अफिसमा फ्लप भएको छ । यस फिल्म रिलिजको पहिलो सातामा दर्शकलाई प्रभावित पार्न असफल भएको छ । रिलिजको सातौं दिनसम्म फिल्मले ४४ करोड मात्र कमाई गरेको छ ।

टाइगर सराफ स्टारर बागी-४ ले पहिलो सातामा ५० करोडको आँकडा समेत पार गर्न नसकेपछि फिल्मले बक्स अफिसमा ठुलो असफलता बेहोरेको छ ।

बागी- ४ ‘बागी’ फ्रान्चाइजका फिल्महरूमध्ये सबैभन्दा कमजोर कथा रहेको टिप्पणी भएको छ । प्रेम र यसको जोश वरिपरि बुनेको यसको कथानक दर्शकहरूलाई प्रभावित गर्न सफल भएन । सामाजिक सञ्जालमा बागी- ४ मा आवश्यकताभन्दा बढी एक्सन दृश्य र रक्तपात रहेको चर्चा छ । फिल्ममा संजय दत्त खलनायकको रूपमा रहेपनि उनले दर्शकलाई प्रभावित गर्न असफल भए । यस फिल्मको लागत करिब दुई सय करोड रहेको बताइएको छ ।

बागी सिरिजको पहिलो फिल्म २०१६ मा रिलिज भएको थियो । जब साजिद नाडियाडवालाले यो फिल्म ल्याए, दर्शकले यसलाई धेरै मन पराएका थिए । यसपछि उनले थप दुई फिल्म ल्याए । दुवै फिल्मले दर्शकको अपेक्षा पूरा गरे ।
टाइगरका पछिल्ला तीन फिल्म बडे मियाँ छोटे मियाँ, गणपत (भाग १) र हिरोपन्ती २ फ्लप भएका थिए । त्यस्तै चौथो फिल्म बागी- ३ हिट भएको थियो । त्यस्तै २०१९ मा रिलिज भएको उनको फिल्म वार ले पहिलो दिन ५३ करोड कमाई गरेको थियो । यसमा ऋतिक रोशन मुख्य भूमिकामा थिए ।
फिल्म बागी- ४ मार्फत पर्दामा बलियो पुनरागमन गरे पनि आगामी दिनमा बक्स अफिसमा कस्तो कमाई गर्छ भन्नेले फिल्मको भविष्य निर्धारण गर्ने छ । फिल्ममा सोनम बाजवा, हरनाज कौर सन्धु, श्रेयस तलपदे, सौरभ सचदेवा, उपेन्द्र लिमये र सुदेश लाहिरीले मुख्य भूमिका निर्वाह गरेका छन् ।



