चर्चित निर्वाचन क्षेत्र: काठमाडौँ- ५ को चुनावी गणित, प्रदिपका चुनौती कमल, ईश्वरदेखि सस्मितसम्म

 

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक काठमाडौँको क्षेत्र नम्बर ५ पनि रहेको छ ।  यस क्षेत्रबाट नेपाली काँग्रेसका महामन्त्री प्रदिप पौडेल, नेकपा एमालेका नेता ईश्वर पोखरेललगायतको उम्मेदवारीका कारण चर्चामा रहेको छ ।

काठमाडौँ क्षेत्र न्मब्र ५ संसदीय क्षेत्रमा काठमाडौँ महानगरपालिकाका वडा नम्बर २, ३, ४ र ५ रहेका छन् भने बूढानीलकण्ठ नगरपालिकाका वडा नम्बर ३, ४, ५, ६ र ७ रहेका छन् । त्यस्तै टोखा नगरपालिकाको २, ३, ४, ५, ६ र ७ नम्बर वडा रहेका छन् ।

काठमाडौँ- ५ बाट यस निर्वाचनमा मतदान गर्न सक्ने कुल मतदाताको संख्या ७८ हजार ११४ रहेको छ । यस क्षेत्रमा यस निर्वाचनमा ९० मतदान केन्द्र तोकिएको छ ।

पछिल्लो निर्वाचन- २०७९ 

२०७९ को आम निर्वाचनमा नेपाली काँग्रेसका महामन्त्री प्रदिप पौडेलले जित हासिल गरेका थिए । पौडेलले १५ हजार २६९ मत प्राप्त गर्दै जित हासिल गरेका थिए । त्यसैगरी एमाले नेता ईश्वर पोखरेलले १० हजार १९० मत प्राप्त गरेका थिए । त्यस्तै यस क्षेत्रबाट गत निर्वाचनमा रास्वपाका डा. प्रणय शमशेर राणाले ५ हजार ४७७ मत प्राप्त गरेका थिए भने राप्रपाका राम प्रसाद उप्रेतीले ३ हजार १६२ मत प्राप्त गरेका थिए ।

त्यस्तै गत निर्वाचनमा यस क्षेत्रबाट समानुपातिकतर्फ रास्वपाले ११ हजार ६४७ मत प्रप्त गरेको थियो भने नेपाली काँग्रेसले १० हजार ४३ मत प्राप्त गरेको थियो । त्यस्तै एमालेले ९ हजार ६५२ मत प्राप्त गरेको थियो भने राप्रपाले ७ हजार २०१ मत प्राप्त गरेको थियो ।

उम्मेदवार- २०८२

फागुन २१ गते हुने निर्वाचनका लागि यस क्षेत्रबाट दल र स्वत्रन्त्र गरि २५ उम्मेदवार चुनावी मैदानमा रहेका छन् । जसमा नेकपा एमालेबाट नेता ईश्वर पोखरेल, नेपाली काँग्रेसबाट प्रदिप पौडेल, रास्वपाबाट सस्मित पोखरेल, नेकपाबाट कल्पना शर्मा, राप्रपाबाट कमल थापा उम्मेदवार बनेका छन् । त्यस्तै यस क्षेत्रमा गतिशील लोकतान्त्रिक पार्टीबाट निशा अधिकारी, उज्यालो नेपाल पार्टीबाट श्रीराम गुरुङलगयात उम्मेदवार रहेका छन् ।

निष्कर्ष:

यस क्षेत्रमा नेपाली काँग्रेसका प्रदिप पौडेल पुन: एक पटक जित निकाल्ने प्रयासमा रहेका छन् । तर उनलाई यो सजिलो भने देखिएको छैन । उनलाई एमालेका ईश्वर पोखरेल र रास्वपाका सस्मित पोखरेलले चुनौती दिएका छन् । पौडेल काँग्रेसमा तत्कालिन संस्थापनविरुद्ध विद्रोह गरेर पार्टीको महामन्त्री बन्दै चुनावी मैदानमा रहेका छन् । यसबाट आम मतदातामा काँग्रेसप्रति बनेको सकारात्मक धारणाको फाइदा पौडेललाई हुने देखिएको छ । त्यस्तै एमालेको हालै सम्पन्न महाधिवेशनमा केपी शर्मा ओलीलाई चुनौती दिएका ईश्वर पोखरेल यस क्षेत्रबाट पाँचौं पटक उम्मेदवार बनेका छन् । उनले २०६४ र २०७० को निर्वाचनमा हार बेहोरेका थिए भने त्यसपछि २०७४ मा पोखरेल विजयी भएका थिए ।

त्यसैगरी यस क्षेत्रमा रास्वपाका सस्मित पोखरेल उम्मेदवार बनेका छन् । बालेन शाहको टिमबाट उम्मेदवार बनेका पोखरेलले काँग्रेस र एमालेका उमेम्दवारलाई चुनौती दिने देखिन्छ । त्यस्तै यस अघि हेटौडाबाट चुनाव लड्ने गरेका राप्रपा नेता कमल थापा पनि यस क्षेत्रमा उम्मेदवार बनेका छन् । अघिल्लो निर्वाचनमा राप्रपाले यस क्षेत्रमा समानुपातिक तर्फ प्राप्त गरेको ७ हजार मतलाई आधार मान्दा पनि उनी पनि चुनावी प्रतिष्पर्धामा रहेको भन्न सकिन्छ ।

यसरी हेर्दा यस क्षेत्रमा प्रदीप पौडेललाई रास्वपाको देशव्यापी लहरसँगै कमल थापा र ईश्वर पोखरेलको राजनीतिकको सामना गर्दै आफ्नो  क्षेत्र बचाउने चुनौती रहेको देख्न सकिन्छ ।

#काठमाडौँ५ #निर्वाचन #चुनाव #राजनीति #नेपाल #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimages

अन्य समाचारहरु