‘बस्ती भत्काउँदा खुशी लागेको छ, तर हाम्रो बिचल्ली भयो’

 

२०६५ सालमा भविष्य खोज्दै काठमाडौं छिरेका सिन्धुपाल्चोकका डम्बरबहादुर तामाङ अहिले कीर्तिपुरस्थित सत्संग भवनमा आश्रय लिइरहेका छन् । थपाथलीस्थित सुकुम्बासी बस्तीमा महानगरको डोजर चलेपछि उनी आफ्नो परिवारसहित यहाँ आइपुगेका हुन् । वर्षौंदेखि अभाव, रोग र गरिबीसँग जुधिरहेका डम्बरबहादुरको कथा सुन्दा जो कोहीको आँखा रसाउँछन् । डम्बरबहादुरको बाल्यकाल आर्थिक अभाव र गरिबीमै बित्यो ।

‘सानोमा पढ्न पाइएन, बारी थोरै थियो, खान–लाउनै पुग्दैनथ्यो ।’ उनी विगत सम्झिन्छन्, ‘मकैको ढिँडो खाएर स्कुल गइन्थ्यो, ८–९ वर्षकै उमेरदेखि घाँस–दाउरा र ढिकी–जाँतोमा काम गर्नुपर्ने बाध्यता थियो ।’

आर्थिक समस्याकै कारण उनले ६–७ कक्षाभन्दा बढी पढ्न सकेनन् र कामको खोजीमा काठमाडौं आए ।
काठमाडौं आएपछि मजदुरी गरेर जीवन चलाइरहेका उनको जीवनमा भूकम्पको समयमा अर्को बज्रपात आइलाग्यो । घाँटी वरिपरि पिप जमेर वीर अस्पतालमा उपचार गराएका उनले ८ महिना औषधि खाए । तर अचानक दुवै आँखाको दृष्टि गुम्यो ।

‘केही नदेख्ने भएपछि भाइले त्रिपुरेश्वर पु¥यायो, केही समय देख्ने फेरि मधुरो हुने भइरह्यो’ उनी भन्छन् । अहिले तिलगंगामा देब्रे आँखाको उपचारपछि उनी सामान्य हिँडडुल गर्नसक्ने भएका छन्, तर दाहिने आँखा अझै बन्द छ ।

डम्बरबहादुर मात्र होइन, उनकी श्रीमती पनि मुटुको बिरामी छिन् । घरमा दुई बालबच्चा छन् । परिवारको आम्दानीको स्रोत भनेको अरूको घरमा भाँडा माझ्नु र सरसफाइ गर्नु मात्र हो । ‘महिनाको ४–५ हजार मात्र आम्दानी थियो, त्यसैले जेनतेन घर धानिएको थियो’ उनी भन्छन्, ‘अहिले त न काम छ, न बैंक ब्यालेन्स, न एक रुपैयाँको वचत ।’

महानगरले बस्ती हटाउँदा आफूले दुःखले किनेका सामानसमेत जोगाउन नपाएकोमा उनी दुःखी छन् । उनले ८०० मा किनेको खन्ने औजार, २ हजारको खुकुरी, ३० मिटर कार्पेट, थाल र कराइहरू सबै डोजरले पुरिदिएको उनले बताए ।

‘उनीहरूले झिक्न त झिक्दिए तर ‘दामी कार्पेट छ’ भन्दै पछि त्यहीँ पुरिदिए’ उनी गुनासो गर्छन् ।
आफ्नो बास खोसिए पनि डम्बरबहादुरले सुकुम्बासी बस्ती भत्काउनुलाई भने सही मानेका छन् । यसको कारण हो—त्यहाँ हुने विकृति । 
उनी भन्छन्, ‘त्यहाँ त शक्तिको पहुँच भएका, आइएनजीओ र चर्चबाट पैसा लिने, विदेशी डोनेसन खाने र जग्गा बेचेर घर बनाएर बस्ने मान्छेहरू धेरै थिए ।’

उनी जस्ता वास्तविक गरिबले कहिल्यै केही सुविधा नपाएको तर टाठाबाठाहरूले सुकुम्बासीको नाममा रजाइँ गरेको उनको अनुभव छ ।
‘त्यस्तो गरिखाने भाँडो हराएकोमा म खुशी छु, तर हामी जस्ता वास्तविक मर्कामा परेकाका लागि राज्यले सोच्नुपर्छ ।’ उनी थप्छन् ।
डम्बरबहादुर अहिले सरकारसँग आश मारेर बसेका छन् ।

‘हामीलाई थोरै क्षतिपूर्ति दिएर वा कोठा भाडा तिरिदिए हामी अन्तै बस्न तयार छौँ’ उनी भन्छन्, ‘म अशक्त छु, काम गर्न सक्दिनँ । मलाई मेरो अवस्था अनुसारको रोजगार र आँखाको उपचार गरिदिए हुन्थ्यो भन्ने आशा छ ।’

आफ्ना नानीहरूको स्कुल छुट्ने पीरलोले उनलाई सताइरहेको छ ।
अहिले सत्संग भवनको बसाइ अस्थायी छ, तर डम्बरबहादुर र उनी जस्ता ३–४ जनाको परिवारलाई स्थायी व्यवस्थापन र राज्यको संरक्षकत्वको खाँचो छ ।

०६३ सालदेखि बसेको थातथलो भत्किएपछि सत्संग भवनमा नीलमको बिलौनाः पीडामाथि पीडा थप्दै सरकार
कीर्तिपुरस्थित सत्संग भवनको एक कुनामा बसेकी नीलम थापाको आँखा अझै ओभाएका छैनन् । वर्षौंदेखि जोडेको ओत राज्यको डोजरले एकै निमेषमा भत्काइदिएपछि उनी अहिले अन्योलमा छिन् ।

‘मेरो शुभ नाम नीलम थापा हो, मलाई सबैले यही नामले चिन्छन्,’ उनले मधुरो स्वरमा आफ्नो परिचय दिइन् । 
नीलमको परिवार अहिले ८ जनाको छ । तर खुशी भने हराएको वर्षौं भइसक्यो । दुई छोरामध्ये कान्छा छोराको ८ महिनासम्म अस्पतालमा उपचार गराउँदा पनि बचाउन सकिएन । 
‘कान्छो छोरा बित्यो ७–८ महिना हस्पिटल राखेर । अहिले २–३ वर्ष हुँदैछ,’ उनले भक्कानिँदै भनिन् ।
जेठो छोरा काम गर्थे, तर घर भत्किएपछि उनको रोजगार पनि खोसिएको छ ।

२०६३ सालमा माओवादी द्वन्द्वका कारण गाउँमा बस्ने स्थिति नभएपछि उनी काठमाडौं आइपुगेकी थिइन् । सुविधा खोज्दै होइन, ज्यान जोगाउन र दुई छाक जोहो गर्न उनी शहर पसेकी थिइन् ।
‘काम गरेर खान पाइयो, गाडीको सुविधा, हस्पिटल नजिकै भएर हामी त्यहाँ बस्यौं,’ उनले विगत सम्झिइन् ।

उनको गुनासो राज्यसँग मात्र होइन, तिनै नेताहरूसँग पनि छ जसले चुनावमा ‘हामी छौं’ भन्दै भोट मागे ।
‘नेताहरू कमाउने पट्टि लागे, हामी चाहीँ आफ्नो जीविकाको लागि मरिहत्ते गरेर बस्यौं । ०५८ सालमा भत्काउँदा पनि सरकारबाट केही पाएनौं, छिमेकीले भात पकाएर खुवाउनुभयो, त्यसरी नै टिक्यौं,’ नीलमले भनिन् । 
पोहोर साल खोलामा बाढी आउँदा पनि राज्यको उपस्थिति शुन्य रहेको उनको अनुभव छ ।

‘सरकारबाट हामीले केही पाएका छैनौं बाबु । संघ संस्थाले ओढ्ने–ओछ्याउने दिनुभयो, त्यसैको भरमा रात काट्यौं। यो सामान पनि अरूले नै दिएको हो,’ उनले भनिन् ।
भत्काउने अघिल्लो दिनसम्म पनि नेताहरूले ‘नडराउनुस्’ भन्दै ढाडस दिएका थिए । तर भित्री रूपमा उनीहरूले आफ्ना सामान सुल्टाइसकेका रहेछन् ।

‘अस्ति राती पुलिस आएपछि मात्र थाहा पायौँ । छोरो एक दिन अगाडि मात्र चितवनबाट आएको थियो । राती आएर घरभित्रै पसेर कुना–काप्चा हेर्न थालेपछि के होला भन्ने डर लाग्यो,’ उनले पछिल्लो घटना सुनाइन् ।

अहिले नीलम र उनीजस्ता धेरै सुकुम्बासीहरू कीर्तिपुरको सत्संग भवनमा आश्रय लिइरहेका छन् । भविष्यको कुनै टुङ्गो छैन, न त सरकारले नै उनीहरूको पुनस्र्थापनाको लागि ठोस कदम चालेको छ ।

‘हामी ढुक्क थियौं, तर अहिले भत्र्याकभुत्रुक सबै एकैचोटि भयो,’ नीलमको यो वाक्यले वर्तमान सुकुम्बासी पीडाको वास्तविक तस्बिर झल्काउँछ । 

काठमाडौं महानगरपालिकाले थापाथली, गैरीगाउँ र शान्तिनगर क्षेत्रमा नदी किनार, सार्वजनिक तथा सरकारी जग्गामा बनाइएका अव्यवस्थित संरचनाहरू खाली गराउने कार्य सम्पन्न गरेको छ । महानगरपालिकाले नेपाल प्रहरी र महानगर प्रहरी बलको सहयोगमा उक्त बस्तीहरू खाली गराएको हो । बस्ती खाली गराउने क्रममा स्थानीय बासिन्दाहरूको तर्फबाट समेत सहयोग प्राप्त भएपछि यो कार्य शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा सम्पन्न भएको महानगरले जनाएको छ ।

हालसम्म यस प्रक्रियामा १४४ परिवार सम्पर्कमा आएका छन् । यसबाहेक बस्ती क्षेत्रमा कोही छुटेका छन् कि भनी खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ । सम्पर्कमा आएका परिवारहरूलाई तत्काल विवरण सङ्कलन गरी व्यवस्थापन गरिएको छ । कीर्तिपुरमा रहेको राधास्वामी सत्संग व्यास आश्रम र बालाजुका विभिन्न होटलहरूमा उनीहरूका लागि अस्थायी बसोबासको प्रबन्ध मिलाइएको छ । महानगरकाअनुसार २०८३ वैशाख १२ गते शनिवार सत्संग व्यास आश्रममा २३२ जना लगिएकोमा १३२ जनाले आश्रममा भोजन गरेका छन् । बाँकी परिवारहरूले आफ्ना आफन्त कहाँ जाने वा कोठा खोज्ने विवरण टिपाएर बाहिरिएका छन्। त्यस्तै, बालाजु क्षेत्रका होटलहरूमा १११ जनाको व्यवस्थापन गरिएको छ ।

नागरिकहरूको घरायसी सामानहरूलाई दशरथ रंगशाला र कीर्तिपुरस्थित राधास्वामी सत्संग व्यास नेपालमा सुरक्षित रूपमा भण्डारण गरिएको छ ।

 

Nepal life insuranceimagesimagesimages