आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछः अर्थमन्त्री वाग्ले

 

भारतको १० वर्षअघिको अवस्थामा नेपाल छ, अब आर्थिक छलाङ मार्ने पालो हाम्रो होः अर्थमन्त्री डा. वाग्ले
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको वर्तमान आर्थिक अवस्था १० वर्षअघिको भारतको अवस्थासँग मिल्दोजुल्दो रहेको उल्लेख गर्नुभएको छ ।
बाह्रखरी मिडियाद्वारा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री वाग्लेले अब नेपालले आर्थिक रूपान्तरणमा ठूलो फड्को मार्नुपर्ने बताउनुभएको हो । सन् २०१४ मा भारतको प्रतिव्यक्ति आम्दानी १ हजार ५ सय डलर रहेको र हाल नेपाल पनि सोही बिन्दुमा रहेकाले नेपालका लागि यो ‘आर्थिक प्रस्थान बिन्दु’ भएको बताउनु भयो ।

मन्त्री वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वर्तमान सरकार पाँच वर्षको पूर्ण कार्यकाल चल्ने दाबी गर्दै यसले लगानीकर्ताका लागि नीतिगत स्थिरता र सुनिश्चितता प्रदान गर्ने बताउनु भयो । नेपाल भूपरिवेष्ठित राष्ट्र भएकाले भौगोलिक जटिलतालाई चिर्न डिजिटलाइजेसन नै प्रमुख अस्त्र हुने उहाँको तर्क छ । सूचना प्रविधिलाई प्राथमिकता दिनैका लागि सूचना प्रविधि विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको र यसले सेवा प्रवाहमा क्रान्ति ल्याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी सन् २०२७ सम्मको चुनावी चक्र पर्खिरहेका थियौँ, तर ‘जेन–जी’ आन्दोलनले हामीलाई समय अगावै जिम्मेवारी सुम्पिएको छ । अब हामी सुशासन र आर्थिक वृद्धिको स्पष्ट मार्गचित्रसहित अघि बढ्नेछौँ । मैले विगत १२ वर्षदेखि भन्दै आएको ‘तौलरहित र दूरीरहित’ अर्थतन्त्रको अवधारणा कार्यान्वयन गर्ने समय आएको छ । विगतमा नीतिगत कब्जा र भ्रष्ट राजनीतिज्ञहरूसँगको अस्वस्थ सम्बन्धका कारण व्यावसायिक वातावरण धमिलिएको थियो। अब त्यो अन्त्य हुनेछ । कानून कार्यान्वयनमा हामी निर्मम र कठोर हुनेछौँ, तर इमानदार उद्यमीहरू डराउनुपर्ने अवस्था छैन । आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ, जसमा लगानीको सुरक्षा, सम्पतीको रक्षा र करार कार्यान्वयनलाई उच्च प्राथमिकता दिइनेछ । हामी चाहन्छौँ कि निजी क्षेत्रले इमान्दारिताको जगमा उभिएर व्यवसाय विस्तार गरोस् र राष्ट्रको अर्थतन्त्रमा योगदान पु¥याओस् ।’

निजी क्षेत्रको मनोबल उच्च बनाउन सरकार प्रतिवद्ध रहेको स्पष्ट पार्दै मन्त्री वाग्लेले इमानदार व्यवसायीलाई सरकारले पूर्ण संरक्षण गर्ने बताउनु भयो । मन्त्री वाग्लेले आगामी ७ वर्षमा प्रतिव्यक्ति आम्दानी ३ हजार डलर पु¥याउने र अर्थतन्त्रको आकार १०० अर्ब डलरको हाराहारीमा पु¥याउने लक्ष्य राखिएको जानकारी दिनुभयो । भारतले विगत १०–१२ वर्षमा हासिल गरेको ९ देखि १० प्रतिशतको आर्थिक वृद्धिलाई नेपालले पनि पछ्याउन सक्ने उहाँको भनाइ छ । कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका पूर्व सल्लाहकार अमिताभ कान्त र पूर्व अर्थसचिव रामेश्वर खनालको धारणाप्रति सहमति जनाउँदै मन्त्री वाग्लेले नेपालको पर्यटन, जलविद्युत र उच्च मूल्यका कृषि उपजले विश्व बजारमा प्रतिष्पर्धा गर्नसक्ने बताउनु भयो । उहाँले रुग्ण कानूनहरूको खारेजी र प्रशासनिक झन्झटको अन्त्य नै आफ्नो पहिलो प्राथमिकता रहेको समेत पुनः दोहो¥याउनु भयो ।

 

Nepal life insuranceimagesimagesimages

अन्य समाचारहरु