


काठमाडौं — भारतका पाँच राज्यमा सम्पन्न विधानसभा निर्वाचनको मतगणना सोमबार सम्पन्न भएसँगै राजनीतिक समीकरणमा उल्लेखनीय परिवर्तन देखिएको छ। पश्चिम बंगाल, असम, तामिलनाडु, केरल र पुडुचोरीमा भएको निर्वाचनमध्ये सबैभन्दा बढी ध्यान पश्चिम बंगालतर्फ केन्द्रित भएको थियो।
पश्चिम बंगालमा लामो समयदेखि सत्तामा रहेको तृणमूल कांग्रेस (टीएमसी) लाई पराजित गर्दै भारतीय जनता पार्टी (भाजपा) ले ऐतिहासिक सफलता हासिल गरेको छ। २९३ सदस्यीय विधानसभामा भाजपाले करिब १९९ सिट जित्ने देखिएको छ भने टीएमसी ८८ सिटमा सीमित हुने अनुमान गरिएको छ। यससँगै पश्चिम बंगालमा पहिलोपटक भाजपाको सरकार बन्ने निश्चित भएको छ।

टीएमसीकी नेतृ तथा मुख्यमन्त्री ममता बनर्जी स्वयं पनि निर्वाचनमा पराजित भएकी छन्। भाजपा तर्फबाट शुभेन्दु अधिकारी मुख्यमन्त्रीका प्रमुख दाबेदारका रूपमा अघि आएका छन्।
यसैबीच, दक्षिण भारतीय राज्य केरलमा कम्युनिस्ट पार्टी नेतृत्वको एलडीएफ गठबन्धन पराजित भएको छ। १४० सदस्यीय विधानसभामा कांग्रेस आईको नेतृत्वमा रहेको यूडीएफ गठबन्धनले ९८ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको छ भने एलडीएफ ३५ सिटमा खुम्चिएको छ। यस नतिजासँगै भारतमा कम्युनिस्ट प्रभाव झन् कमजोर बन्दै गएको विश्लेषण गरिएको छ।

तामिलनाडुमा भने नयाँ राजनीतिक शक्ति उदाएको छ। फिल्म अभिनेता थलापति विजय (जोसेफ विजय) को पार्टीले उल्लेखनीय सफलता हासिल गर्दै २३४ सदस्यीय विधानसभामा १०९ सिट जित्ने देखिएको छ। बहुमतका लागि केही सिट अपुग भए पनि उनको पार्टी सरकार गठनको निर्णायक अवस्थामा पुगेको छ।
असममा भने भारतीय जनता पार्टीले आफ्नो वर्चस्व कायम राख्दै पुनः सरकार बनाउने अवस्थामा पुगेको छ। १२६ सदस्यीय विधानसभामा भाजपाले १०१ सिट जित्ने देखिएको छ। वर्तमान मुख्यमन्त्री हेमन्त विश्व शर्मा पुनः नेतृत्वमा फर्किने सम्भावना बलियो बनेको छ।
त्यसैगरी, सानो राज्य पुडुचोरीमा पनि भाजपाले स्पष्ट बहुमत हासिल गर्दै आफ्नो प्रभाव विस्तार गरेको छ।
यसपटकको निर्वाचन परिणामले भारतको राजनीतिक परिदृश्यमा महत्वपूर्ण परिवर्तन ल्याएको छ। विशेषगरी पश्चिम बंगालमा भाजपाको पहिलोपटकको विजय र केरलमा कम्युनिस्ट पराजयलाई ठूलो राजनीतिक सन्देशका रूपमा हेरिएको छ।

#IndiaElections #WestBengal #Kerala #BJP #Congress #Communist #TamilNadu #Assam #Puducherry #ElectionResults #Politics #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD



