रेमिटेन्समा निर्भर अर्थतन्त्र टिक्न सक्दैन, आन्तरिक उत्पादन बढाउँदै कृषि क्षेत्रको सुदृढीकरण गरौँः सभापति थापा

 

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले रेमिटेन्समा निर्भर अर्थतन्त्र दीर्घकालीन रूपमा टिक्न नसक्ने भन्दै मुलुकलाई बाह्य अर्थतन्त्रसँग जोडेर आन्तरिक उत्पादन र कृषि क्षेत्रलाई सुदृढीकरण गर्न आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रवार सानेपास्थित पार्टी कार्यालयमा आयोजित छलफल कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो बताउनुभएको हो । उहाँले रेमिटेन्सको भर मात्रै पर्ने अवस्था रहे मुलुक निश्चितस्तरभन्दा माथि उठ्न नसक्ने बताउनु भयो ।

उहाँले कृषि व्यवसायलाई आकर्षक बनाउन दीर्घकालीन ऋण सुविधाको आवश्यकता औँल्याउँदै १५ वर्षसम्मको कर्जा सुविधा उपलब्ध गराउन सके धेरैलाई वैदेशिक रोजगारीमा जानबाट रोक्न सकिने बताउनुभयो । उहाँले आफ्नो बाख्रा पालन व्यवसायको उदाहरण दिँदै कृषि क्षेत्रमा लगानी र सम्भावनाको विस्तार आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘रेमिटेन्सको भरमा मात्रै पर्ने हो भने देश एउटा सर्टेन लेभलभन्दा माथि जानै सक्दैन । त्यसकारण आजको दिनमा हामीले सिक्नुपर्ने कुरा भनेको आजको दिनमा बाहिर भइरहेको कुरालाई यहाँको अर्थतन्त्रलाई बलियो बनाउनको लागि यसलाई जोडेर कसरी माथि जानसक्छौँ भन्ने कुरा नै महत्वपूर्ण कुरा हो । मेरो फेमस बाख्रा व्यवसाय देखेर धेरै जना साथिहरु बाहिरबाट आउनुभयो, व्यवसाय शुरु गर्नुभयो । मैले एग्रिकल्चरको क्षेत्रमा यतिधेरै बाहिरबाट आउनुभएको मान्छेहरु देखेको छु । त्यसकारण कृषि व्यवसाय गर्ने मानिसका लागि १५ वर्षको ऋण सुविधा हुने हो भने धेरै जना मान्छेहरु यस्तो अवस्थाबाट जोगिन सक्नुहुन्छ ।’

उहाँले आफू छलफल र बहसमा विश्वास गर्ने उल्लेख गर्दै मुलुकको परिवर्तन नीतिमार्फत हुनुपर्नेमा जोड दिनुभयो ।

 

Nepal life insuranceimagesimagesimages