

नेपाल हस्तकला महासंघले नेपाल ह्यान्डिक्राफ्ट एक्स्पो एण्ड कल्चरल शो २०२६ आयोजना गर्ने भएको छ । महासंघले सोमवार पत्रकार सम्मेलन गरी आगामी जेठ ८ गतेदेखि १० गतेसम्म काठमाडौंको बालुवाटारस्थित अम्रपाली बेन्कुवेट एण्ड इभेन्ट प्रा. लि. मा मेला हुने जानकारी दिएको हो ।
नेपाली हस्तकला क्षेत्रको प्रवद्र्धन, स्थानीय उद्यमीको बजार पहुँच विस्तार तथा परम्परागत कला–संस्कृतिको संरक्षण गर्ने उद्देश्यले प्रदर्शनी गर्न लागेको महासंघका अध्यक्ष रविन्द्र शाक्यले जानकारी दिनुभयो । नेपालका विभिन्न जिल्लामा स्थानीय कच्चा पदार्थबाट उत्पादन हुने वस्तुको प्रवद्र्धन, उत्पादनलाई बजार पहुँच तथा उत्पादक र खरिदकर्ताबीच समन्वय गराउन मेलाले सहयोग गर्ने उहाँको भनाई छ ।

मेलामा लोपोन्मुख सांस्कृतिक पहिचान, परम्परागत भेषभूषा र पुस्तान्तरण हुन नसकेका सीप संरक्षणलाई विशेष प्राथमिकता दिएको उहाँले जानकारी दिनुभयो । उहाँकाकअनुसार यसपटक मेलाको मुख्य थिम थारु संस्कृतिलाई बनाइएको छ । नेपालमा राना थारु, कठरिया थारु र देउखुरिया थारु गरी विभिन्न समुदायका विशिष्ट सांस्कृतिक पहिचान रहेका छन् । थारु महिलाले प्रयोग गर्ने ‘लेहेंगा’ र ‘अङ्ग्या’मा गरिने परम्परागत कढाइ कला अहिले लोपोन्मुख अवस्थामा पुगेको बताउनु भयो । बर्दियाका राना थारु समुदाय तथा दाङका गजरा थारु समुदायमा प्रयोग हुने ‘कदेरिया’ शैलीको कढाइ पनि हाल लोपोन्मुख रहेको उहाँले बताउनु भयो ।

उक्त कदेरिया शैलीको कढाई कला कुनै समय राजस्थानसम्म व्यापारिक पहुँच पुगेको विशिष्ट कला भएको स्मरण गराउँदै उहाँले हाल पुस्तान्तरण अभावमा हराउँदै गएको बताउनु भयो । शाक्यले मेलामा थारु सांस्कृतिक नृत्य, कार्यशाला र प्यानल छलफलसमेत आयोजना गर्ने योजना रहेको जानकारी दिनुभयो । मेलामार्फत हस्तकला क्षेत्रको घोषणापत्र तयार गरी नेपाल सरकारलाई बुझाउने तयारी रहेको उहाँले बताउनु कभयो । सुदूरपश्चिमका मुक्त कमलरी समुदायको सांस्कृतिक विशिष्टतालाई पनि मेलामा समेट्न खोजिएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘अहिले विविध कल्चरल रुपमा विभिन्न जातजातिका भेषभुषाहरुको जुन लोपोन्मुख अवस्था छ, पुस्तान्तरण हुन नसकेका सीप र कल्चरहरु छ, त्यसलाई संरक्षण गर्नुपर्छ । त्यही सिलसिलामा यो मेलाको थिम हामीले थारु कल्चरलाई बनाएका छोँ । थारु कल्चरमा दुई तीन किसिमको थारुहरु हुँदो रहेछ, नेपालभरिमा । थारु कल्चरमा राना थारु, कठरिया थारु र देउखुरिया थारु भनेर तीन किसिमको थारु कल्चर हुँदो रहेछ । उहाँहरुले लगाउने लेहेंगा र अङ्ग्या भन्ने एउटा वस्त्र हुँदो रहेछ । त्यसमा जुन इम्बोइडेरी गर्ने सिस्टमलाई चाहिँ कटौती भन्दो रहेछ, त्यो अहिले झन्डैझन्डै लोप भएको अवस्था छ । पुस्तान्तरण हुन सकेन भन्ने कुरा उहाँहरुबाट हामीले थाहा पायौँ । त्यसैले यसलाई नै हामीले एउटा मेजर थिम बनाएका छौँ । बर्दियाका राना थारु भन्ने रहेछ, उनीहरुको देउखुरिया भन्ने थारु महिलाहरुले लगाउने लेहेंगा र अङ्ग्या भन्दो रहेछ । त्यसमा गरिने कडाइ भन्दो रहेछ, एउटा काइन्ड अफ आर्ट । अनि दाङमा गजरा थारु भन्ने हुँदो रहेछ, त्यो गजरा थारुको महिलाहरुले लगाउने चोल्या भन्दो रहेछ । त्यसमा गरिने त्यो कदेरिया भन्ने जुन एउटा इम्बोइडेरी सिस्टम छ, त्यो एकदम विशिष्ट प्रकारको रहेछ । पहिला राणा कालमा राजस्थानसँग यसको टाई–अप भएर एकदम ठुलो मार्केट भएको तर हाल यो पुस्तान्तरण नभएर झन्डैझन्डै लोपोन्मुख भएको अवस्था छ । यसलाई हामीले मेलामा एउटा कल्चरल डान्स रुपमा राखेका छौँ । हामीले एउटा प्यानल डिस्कसन गरेर एउटा वर्कसप गरेर एउटा यथार्थ विवरण निकालेर घोषणापत्रको रुपमा हामीले उजागर गरेर नेपाल सरकारलाई दिन सकेको खण्डमा यो तीन तहको सरकारले यसलाई अपनत्व लिएर पक्कै पनि संरक्षणमा लाग्छ भन्ने हामीले महसुस गरेका छौँ । सुदुरपश्चिमबाट मुक्त कमलरीहरु भन्दो रहेछ । उहाँहरुको पनि आफ्नै किसिमको विशिष्टता रहेछ । यस्तो कुराहरु हामीले समय सापेक्ष उजागर गर्दै लानुपर्ने भन्ने लागेर विशेष आकर्षणको रुपमा यसलाई राख्न चाह्यौँ ।’
हस्तकला क्षेत्रले देशभर लाखौं नागरिकलाई स्वरोजगारको अवसर प्रदान गर्दै आएको महासंघले जनाएको छ । भारत, चीन लगायत तेस्रो विश्वका मुलुकहरूमा वार्षिक करिव २८ अर्ब बराबरका हस्तकला सामग्री निर्यात भइरहेको महासंघकी उपाध्यक्ष मलिका श्रेष्ठले जानकारी दिनुभयो । हस्तकला क्षेत्र कृषिजन्य उद्योगपछि उच्च सम्भावनायुक्त क्षेत्रका रूपमा रहेको उहाँको भनाई छ ।

मेलामा हस्तकला प्रदर्शनी तथा विक्री, सांस्कृतिक कार्यक्रम, स्थानीय कलाकार तथा कालीगढहरूको सीप प्रदर्शन, साथै विभिन्न जिल्लाका परम्परागत परिकारहरूको स्वाद पश्तुत गरिने महासंघले जनाएको छ । मेलामा काठमाडौं उपत्यकासहित संखुवासभा, मकवानपुर, दाङ, बाजुरा, ताप्लेजुङ, चितवन, बर्दिया, काभ्रेपलाञ्चोक, कास्की, झापा, धनुषा, सुनसरी, धादिङ, तनहुँ, पाल्पा, बाग्लुङ लगायत जिल्लाका हस्तकला संघहरूको सहभागिता रहनेछ । महासंघकाअनुसार मेलामा करिब ७० वटा स्टल रहनेछन् । मेला बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्ने तयारी गरिएको महासंघले जनाएको छ ।



