१० वाणिज्य बैंकको ‘एसेट क्वालिटी रिभ्यु’ सार्वजनिक, औसत खराब कर्जा ७.६ प्रतिशत

 

१० वाणिज्य बैंकको ‘एसेट क्वालिटी रिभ्यु’ सार्वजनिक, औसत खराब कर्जा ७.६ प्रतिशत

काठमाडौं, ०५ जेठ । नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को प्राविधिक सहयोगमा गरिएको १० वाणिज्य बैंकको सम्पत्ति गुणस्तर परीक्षण (एसेट क्वालिटी रिभ्यु–एक्यूआर) प्रतिवेदन सार्वजनिक गरेको छ। बाह्य लेखापरीक्षकमार्फत गरिएको उक्त परीक्षणले बैंकहरूको वित्तीय अवस्थाबारे महत्वपूर्ण संकेत देखाएको छ।

राष्ट्र बैंकका अनुसार ग्लोबल आइएमई बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कुमारी बैंक, राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक, एनआईसी एशिया बैंक, एनएमबी बैंक र प्रभु बैंकको वित्तीय अवस्था मूल्यांकन गरिएको हो। परीक्षण २०८१ चैतसम्मको वित्तीय विवरणका आधारमा गरिएको जनाइएको छ।

सार्वजनिक प्रतिवेदनअनुसार ती बैंकहरूको औसत निष्क्रिय कर्जा (एनपीएल) अनुपात ७.६ प्रतिशत पुगेको छ। यस्तै औसत पुँजी पर्याप्तता अनुपात ११.३० प्रतिशत कायम रहेको उल्लेख गरिएको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि न्यूनतम ८.५ प्रतिशत पुँजी पर्याप्तता अनुपात अनिवार्य गरेको छ।

बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा अनुपात कम हुनु वित्तीय स्वास्थ्यको सकारात्मक संकेत मानिन्छ। पछिल्लो परीक्षणले केही बैंकमा जोखिम बढ्दो अवस्थामा रहेको संकेत गरे पनि समग्र पुँजी पर्याप्तता नियामकीय सीमाभन्दा माथि रहेको देखिएको छ।

सम्पत्ति गुणस्तर परीक्षणका लागि बंगलादेशको ‘हउलदार युनुस एन्ड को चार्टर्ड एकाउन्टेन्ट्स’ कम्पनी छनोट गरिएको थियो। उक्त कम्पनीले प्रत्येक बैंकको छुट्टाछुट्टै तथा एकीकृत प्रतिवेदन तयार पारेको राष्ट्र बैंकले जनाएको छ।

 

 

Nepal life insuranceimagesimagesimages