आजको मौसम: देशका विभिन्न प्रदेशमा वर्षा र चट्याङको सम्भावना, लुम्बिनीमा तातो दिन रहने
जेष्ठ ८ गते, २०८३ मा प्रकाशित
काठमाडौं —जल तथा मौसम विज्ञान विभाग ले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ।
विभागका अनुसार अहिले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ। गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको जनाइएको छ।
आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित अन्य प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा मधेशसहित लुम्बिनी र कर्णाली प्रदेशका केही क्षेत्रमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ।
त्यस्तै सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागमा तातो लहरको सम्भावना रहेको छ भने लुम्बिनी प्रदेशमा तातो दिन रहने सम्भावना रहेको विभागको पूर्वानुमान छ।
आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा बदली रही केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने मौसम विभागले जनाएको छ।