आज देशभर बदली, वर्षा, चट्याङ्ग र हावाहुरीको सम्भावना
जेष्ठ १६ गते, २०८३ मा प्रकाशित
काठमाडौँ ।जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक सक्रिय न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । यस प्रणालीका कारण देशका अधिकांश क्षेत्रमा मौसम बदली भई वर्षाको सम्भावना रहेको छ ।
विभागका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा पूर्णतया बदली रहेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्य बदली रहेको छ । बाँकी तराई क्षेत्रहरूमा आंशिक बदली देखिएको छ । कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन तथा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि केही स्थानमा वर्षा हुन सक्ने जनाइएको छ ।
त्यसैगरी देशका पहाडी तथा तराई भू-भागका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
आज राति सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
मौसममा आएको परिवर्तनसँगै वर्षा, चट्याङ्ग तथा हावाहुरीबाट हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाउन विभागले सर्वसाधारणलाई अनुरोध गरेको छ ।