आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

 

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- नेपाली कां‌ग्रेसका सभापति गगन थापाले लिडरशिप एकेडेमीमा भर्ना भई निर्धारित कोर्स पूरा नगरे स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न नपाउने बताएका छन् । शनिबार नेपाली काँग्रेसको भातृसंघ नेपाल थारु संघको महाअधिवेशनको उद्घाटन सत्रमा बोल्दै सभापति थापाले स्थानीय तहमा काँग्रेसबाट उम्मेदवार बन्न लिडरशिप एकेडेमीमा भर्ना भई निर्धारित कोर्स पूरा गर्नुपर्ने बताएका हुन् । सभापति थापाले भने- ‘हामीले अहिले नेतृत्वको एउटा छुट्टै युनिट बनाएका छौं, लिडरशिप एकेडेमी भनेर, जसमा पार्टीको तर्फबाट अब हामी केही दिनमा यसको खुला आह्वान गर्छौं । ७५३ पालिकामा निर्वाचन लड्न चाहने, इच्छा राख्नुभएको कोही पनि हुनुहुन्छ, म उम्मेदवार बन्न चाहन्छु भनेर कोही अहिले दोहोरिन चाहनुभएको छ वा नयाँ उम्मेदवार बन्न चाहनुभएको छ भने अनिवार्य रुपमा लिडरशिप एकेडेमीमा भर्ना हुनैपर्छ र एउटा कोर्स पूरा गर्नैपर्छ । त्यो कोर्स पूरा गरिसकेपछि मात्रै त्यसका निम्ति योग्य बनिन्छ ।’ उनले नेतृत्व विकासका लागि लिडरशिप एकेडेमीको छुट्टै संरचना स्थापना गरिएको स्पष्ट गरेका थिए ।

२-  चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकनका क्रममा मुख्य अभिनेता विजय बराल घाइते भएका छन् । छायांकनका क्रममा घोडाबाट खसेर उनको दाहिने हातको नाडीको जोर्नीमा चोट लागेको हो । यही जेठ १ गतेदेखि पर्वतको कुस्मा नगरपालिकास्थित आर्थर डाँडाखर्कबाट चलचित्रको छायांकन सुरु भएको थियो । करिब १५ दिनको सेड्युल सकेर बुधबार एक दृश्यका लागि घोडा चढ्ने क्रममा अचानक सन्तुलन बिग्रँदा बराल दुर्घटनामा परेका हुन् । निर्माण टिमका अनुसार उनको दाहिने हात फ्याक्चर भएको छ । तत्कालै कुस्मा लगी थप उपचारका लागि पोखरा पुर्‍याइएका बरालको दाहिने हातको नाडीमा जोर्नी हडिड्मा ‘फ्याक्चर’ देखिएपछि पलास्टर गरिएको टिमले जनाएको छ । मुख्य कलाकार नै घाइते भएपछि चलचित्रको छायांकन हाललाई पूर्ण रूपमा रोकिएको छ । निर्देशक सरोज पौडेलका अनुसार चलचित्रको कुल ३५ दिनको छायांकन सेड्युल तय गरिएको थियो । तर, यो अप्रत्यासित दुर्घटनापछि कलाकारसहितको टोली काठमाडौं फर्किएको छ । निर्देशक पौडेलले भने, ‘विजयजीको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता हो । चिकित्सकको सल्लाहअनुसार उहाँलाई कम्तीमा ३५ देखि ४० दिन पूर्ण आरामको आवश्यकता छ । त्यसैले बाँकी छायांकन अब आगामी असार १५ गतेपछि मात्र सुरु हुनेछ ।’ अभिनेता विजय बरालले भने,‘काम गर्ने क्रममा अचानक दुर्घटना हुन पुग्यो । यसले गर्दा टिमको सेड्युल केही समयका लागि प्रभावित भएको छ । अहिले डाक्टरको निगरानीमा छु र केही हप्ताको आरामपछि पुनः काममा फर्किनेछु ।’ उनले आफ्नो स्वास्थ्य अवस्थाका कारण अन्य केही चलचित्रको छायांकन तालिकामा पनि सामान्य हेरफेर हुन सक्ने संकेत गरे ।

३- प्रिमियर लिग क्लब लिभरपुलले मुख्य प्रशिक्षक आर्ने स्लटलाई बर्खास्त गरेको छ । यस सिजनमा क्लबले खराब प्रदर्शन गरेपछि मुख्य प्रशिक्षक स्लटलाई क्लबले तत्काल प्रभावबाट लागु हुने गरि बर्खास्त गरेको जानकारी दिएको छ । क्लबले नयाँ प्रशिक्षक नियुक्तिको प्रक्रिया शुरु भएको जानकारी दिदै आफ्नो नाममा प्रिमियर लिग उपाधि र क्लबसँग गहिरो कृतज्ञता र प्रशंसाका साथ स्लट बिदा भएको उल्लेख गरेको छ । नेदरल्याण्डसका ४७ बर्षिय स्लट २०२४ को जुन १ मा लिभरपुलको प्रशिक्षक बनेका थिए । उनको नेतृत्वमा लिभरपुलले खेलेका ११३ खेल मध्ये ६६ खेल जितेको थियो भने २८ खेलमा हार र १९ खेल बराबरी खेलेको थियो । उनले लिभरपुललाई २०२४-२५ सिजनको प्रिमियर लिगको उपाधि जिताएका थिए भने सोहि सिजनमा इएफएल कपको उपविजेता बनाएका थिए ।

४- रोजगारीको प्रलोभनमा भारतमा अलपत्र परेका ४५३ नेपाली नागरिकको उद्धार गरिएको छ । रुपन्देही प्रहरीका अनुसार भारतको कुशीनगर क्षेत्रमा रोजगारीको प्रलोभनमा परि अलपत्र परेका ४५३ जनाको उद्धार गरिएको हो । उनीहरुलाई भारतस्थित नेपाली दुताबास एवं भारतीय प्रहरीको समन्वयमा उद्धार गरि बेलहिया नाका मार्फत नेपाल ल्याइएको प्रहरीले जानकारी दिएको छ ।

५- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड अस्वस्थ भएका छन् । प्रचण्डलाई केहि दिन अघिदेखि ज्वरो आइरहेको र हाल निमोनिया देखिएपछि शनिबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । शनिबार बिहान अस्पताल पुगेका प्रचण्डको हाल स्वास्थ्य सामान्य भएपनि चिकित्सकको सल्लाह अनुसार भर्ना गरिएको बताइएको छ । अस्वस्थ भएकैले उनी शुक्रबारको बजे भाषणमा संसदमा समेत अनुपस्थित रहेका थिए ।

६- झापामा प्लाष्टिकको बोरामा महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शनिबार बिहान दमक- १० सेतुमाडी स्थित रहेको रतुवाखोलाको पुल मुनी बगिरहेको पानीमा प्लाष्टिकको बोरामा महिलाको शव भेटिएको हो । प्रहरीले मृतकको हालसम्म पहिचान नहुलेको र अनुसन्धान जारी रहेको जनाएको छ ।

७-  इङल्याण्डका पूर्व अन्तर्राष्ट्रिय फुटबलर रहीम स्टर्लिङ लागूऔषध सेवन गरेर सवारी चलाएको आशंकामा पक्राउ परेका छन् । ३१ वर्षीय स्टर्लिङ आफ्नै लाम्बोर्गिनी कार दुर्घटनामा परेपछि पक्राउ गरिएको बताइएको छ । दक्षिणतर्फ जाने एम–३ मोटरमार्गमा मिन्ली इन्टरचेन्ज नजिक उनको कार सडकको सुरक्षात्मक बारमा ठोक्किएको थियो । दुर्घटनामा अन्य कुनै सवारीसाधन संलग्न नभएको र मानवीय क्षति पनि नभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्टर्लिङमाथि लागूऔषध सेवनपछि सवारी चलाएको, खतरनाक ढंगले सवारी चलाएको, निषेधित लागूऔषध राखेको तथा परीक्षणका लागि नमुना दिन अस्वीकार गरेको आरोपमा अनुसन्धान भइरहेको बताएको ब्रिटिश मिडियाहरुले उल्लेख गरेका छन् । उनलाई धरौटीमा रिहा गरिएको भएपनि घटनाबारे थप अनुसन्धान जारी रहेको छ । एक समय म्यानचेस्टर सिटीका प्रमुख खेलाडीमध्ये रहेका स्टर्लिङ पछिल्ला वर्षहरूमा भने कठिन समयबाट गुज्रिरहेका छन् । चेल्सी र आर्सनलमा अपेक्षित प्रदर्शन गर्न नसकेपछि उनले हालै फेयनूर्डबाट छोटो अवधिको सम्झौतामा खेलेका थिए । धरौटीमा रिहा भएका स्टर्लिङ अहिले प्रहरी अनुसन्धानको नतिजा र आफ्नो फुटबल भविष्य दुवैको प्रतीक्षामा रहेको बताइएको छ ।

images

८- नेपाल महिला क्रिकेटतर्फ एशियन गेम्स क्वालिफायर्सको सेमिफाइनलमा मलेसियासँग पराजित भएको छ । शनिबार भएको सेमिफाइनलमा नेपाल मलेसियासँग २ विकेटले पराजित भएको हो । नेपालले दिएको १२७ रनको लक्ष्य पछाएको मलेसियाले १८.४ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि नेपालले २० ओभरमा ६ विकेट गुमाएर १२६ रन बनाएको थियो  । यो जितपछि फाइनलमा पुगेको मलेसिया महिला क्रिकेटतर्फ एशियन गेम्समा छनौट भएको छ । त्यस्तै नेपाल भने पराजित भएपछि अब तेस्रो स्थानका लागि चीनसँग खेल्ने छ । अब तेस्रो स्थानको खेल आइतबार हुने छ । त्यसैगरी फाइनलमा मलेसिया र थाइल्याण्ड आइतबार खेल्ने छन् ।

९- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता महसुस गर्दै विगतका तितामीठा अनुभवलाई बिर्सेर आफूहरू पार्टीमा आबद्ध भएको बताएका छन् । उनले राजनीतिक यात्रामा चुनावी हारजित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै त्यसबाट विचलित वा निराश हुन आवश्यक नरहेको बताएका छन् । राप्रपाको भविष्य उज्ज्वल रहेको दाबी गर्दै उनले पार्टीले अंगालेका विचार र सिद्धान्त कहिल्यै समाप्त नहुने बताएका छन् । थापाले पार्टीभित्र केही समस्या र विकृतिहरू रहेको स्वीकार गर्दै तिनको समाधान पार्टीभित्रै खोज्नुपर्ने धारणा राखेका छन् । उनले निकट भविष्यमा हुने महाधिवेशनले पार्टीलाई नयाँ ऊर्जा र स्पष्ट दिशा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार पार्टी नेतृत्वले सबैलाई समेटेर अघि बढ्नुपर्ने, सबै सदस्यमा सम्मान र अपनत्वको भावना कायम हुने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता छ । पार्टीबाट अलग हुने वा निष्क्रिय बस्ने मनस्थिति नराख्न कार्यकर्ता र समर्थकहरूलाई आग्रह गर्दै थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सबै राष्ट्रवादी नेपालीहरूको साझा शक्ति तथा बलियो राष्ट्रिय विकल्पका रूपमा स्थापित गर्न एकजुट हुन आह्वान गरेका छन् ।

१०- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य अवस्था उत्कृष्ट रहेको भन्दै ह्वाइट हाउसले नयाँ स्वास्थ्य प्रतिवेदन सार्वजनिक गरेको छ । आगामी जुन १४ मा ८० वर्ष पुग्न लागेका ट्रम्प राष्ट्रपति पदको जिम्मेवारी निर्वाह गर्न पूर्ण रूपमा सक्षम रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । ह्वाइट हाउसका चिकित्सक डाक्टर शन पी. बारबाबेलाले ट्रम्पको मुटु, फोक्सो र स्नायु प्रणालीको स्वास्थ्य बलियो रहेको बताएका छन् । प्रतिवेदनअनुसार ट्रम्पले कोलेस्ट्रोल नियन्त्रणका लागि दुई तथा मुटुसम्बन्धी जोखिम न्यूनीकरणका लागि एक गरी तीन प्रकारका औषधि सेवन गरिरहेका छन् । गत मंगलबार वाल्टर रीड नेशनल मिल्ट्री मेडिकल सेन्टरमा गरिएको स्वास्थ्य परीक्षणमा २२ जना विशेषज्ञ चिकित्सक सहभागी भएका थिए । परीक्षणका क्रममा शरीरको विस्तृत परीक्षण, मुटुको परीक्षण, क्यान्सर परीक्षण तथा अन्य रोकथामसम्बन्धी स्वास्थ्य जाँच गरिएको थियो । प्रतिवेदनमा ट्रम्पको मानसिक तथा शारीरिक कार्यक्षमता उत्कृष्ट रहेको उल्लेख छ । नियमित बैठक, सार्वजनिक कार्यक्रम र सक्रिय जीवनशैलीले उनको समग्र स्वास्थ्यलाई सकारात्मक सहयोग पुर्‍याएको चिकित्सकहरूको निष्कर्ष छ । स्वास्थ्य प्रतिवेदनअनुसार ट्रम्पको तौल हाल करिब १०८ किलोग्राम पुगेको छ। अघिल्लो वर्ष गरिएको परीक्षणमा उनको तौल करिब १०१ किलोग्राम रहेको थियो । उनको उचाइ ६ फिट ३ इन्च रहेको जनाइएको छ। चिकित्सकहरूले तौल घटाउन, स्वस्थ खानपान अपनाउन तथा शारीरिक गतिविधि बढाउन सुझाव दिएका छन् । पछिल्ला केही महिनादेखि ट्रम्पका हातमा देखिएका दागबारे पनि प्रतिवेदनमा स्पष्टीकरण दिइएको छ । बारम्बार मानिससँग हात मिलाउने तथा मुटुसम्बन्धी औषधिको प्रयोगका कारण हल्का दाग देखिएको चिकित्सकहरूको भनाइ छ । प्रतिवेदनमा ट्रम्पको खुट्टाको तल्लो भागमा देखिएको सामान्य सुन्निने समस्या अघिल्लो वर्षको तुलनामा सुधार भएको उल्लेख गरिएको छ । यसअघि ह्वाइट हाउसले उनलाई उमेरसँग सम्बन्धित रक्तसञ्चारसम्बन्धी समस्या रहेको जानकारी दिएको थियो । अमेरिकी इतिहासमा सबैभन्दा बढी उमेरमा राष्ट्रपति पद सम्हाल्ने नेतामध्ये एक मानिएका ट्रम्पको स्वास्थ्य अवस्थाबारे पछिल्लो समय विभिन्न चर्चा हुँदै आएको छ। यद्यपि ट्रम्प र उनका सहयोगीहरूले आफूलाई कुनै गम्भीर स्वास्थ्य समस्या नरहेको दाबी गर्दै आएका छन् । स्वास्थ्य प्रतिवेदनमा ट्रम्पको मुटुको वास्तविक उमेर उनको जैविक उमेरभन्दा १४ वर्ष कम रहेको दाबी पनि गरिएको छ । यद्यपि केही स्वतन्त्र चिकित्सकहरूले यस्तो विवरण स्वास्थ्य प्रतिवेदनमा समावेश गरिनु असामान्य भएको टिप्पणी गरेका छन् । स्वास्थ्य परीक्षणपछि ट्रम्पले आफ्नै सामाजिक सञ्जालमार्फत सबै परीक्षणको नतिजा उत्कृष्ट आएको प्रतिक्रिया दिएका थिए । तर केही स्वास्थ्य विज्ञहरूले छ महिनामै पूर्ण स्वास्थ्य परीक्षण गरिएको दाबीमाथि प्रश्न उठाएका छन् । उनीहरूका अनुसार सामान्यतया विस्तृत स्वास्थ्य परीक्षण वर्षमा एकपटक मात्र गरिने प्रचलन छ ।

११- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशतका दरले मूल्य अभिवृद्धि कर लगाउने निर्णयप्रति कडा आपत्ति जनाएका छन् । घिसिङले यो निर्णय आम उपभोक्ताको हितविपरीत, ऊर्जा रूपान्तरणको लक्ष्यविपरीत तथा देशभित्र उत्पादन भएको स्वच्छ ऊर्जाको उपयोग बढाउने राष्ट्रिय अभियानसँग मेल नखाने भएको भन्दै यसको विरोध गरेका छन् । घिसिङले नेपालमा विद्युत पहुँच विस्तार भएसँगै घरायसी प्रयोजनमा विद्युत प्रयोग बढ्दै गएको उल्लेख गर्दै खाना पकाउने, पानी तताउने तथा अन्य घरेलु काममा विद्युत प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने समयमा उल्टै करको भार थपिएको बताएका छन् । उनका अनुसार मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने अधिकांश उपभोक्ता सामान्य घरपरिवार नै हुन्, जसले यस्तो निर्णयबाट प्रत्यक्ष असर भोग्नुपर्नेछ । उनले करको कारण लाखौँ परिवारको मासिक खर्च बढ्ने र भान्साको लागत समेत महँगो हुने चेतावनी दिएका छन् । साथै देशभित्रै उत्पादन भएको विद्युतको खपत बढाउने नीति ल्याउनुको सट्टा सरकारले उल्टै प्रयोग घटाउने कदम चालेको उनको आरोप छ । घिसिङले यो नीतिले विद्युतीय चुलो लगायतका उपकरणको प्रयोग घटाएर पुनः एलपी ग्यासतर्फ निर्भरता बढाउन सक्ने भन्दै यसले राष्ट्रिय ऊर्जा सुरक्षा, व्यापार घाटा न्यूनीकरण र हरित अर्थतन्त्र निर्माणको लक्ष्यलाई कमजोर बनाउने बताएका छन् । उनले विद्युतको आन्तरिक खपत बढाउनु आजको आवश्यकता भएको भन्दै महसुल प्रणालीलाई अझ न्यायोचित, प्रगतिशील र उपभोक्तामैत्री बनाउनुपर्नेमा जोड दिएका छन् । साथै नयाँ करको बोझ थप्नुको सट्टा स्वदेशी विद्युत उपयोग र स्वच्छ ऊर्जाको प्रवर्द्धन गर्नुपर्ने उनको भनाइ छ । उनले उपभोक्तामाथि लगाइएको ५ प्रतिशत अतिरिक्त कर तत्काल फिर्ता लिन सरकारसँग जोडदार माग गरेका छन् ।

१२- नेकपा एमालेले विधान अनुसार संगठन विभाग गठन गरेको छ । अन्तर पार्टी निर्देशन जारी गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सचिव भानुभक्त ढकाललाई प्रमुख बनाएर १६ सदस्यीय संगठन विभाग गठन गरेका हुन् । विधानको नयाँ व्यवस्थाअनुसार पार्टी सदस्यता नवीकरण र विस्तार लगायतका काम सुरु भएको अवस्थामा संगठन विभाग गठन गरी कामलाई अघि बढाउनु अपरिहार्य भएकाले केन्द्रीय संगठन विभाग गठन गरिएको अपानिमा उल्लेख गरिएको छ । संगठन विभागमा भानुभक्त ढकाल (प्रमुख), विशाल भट्टराई, सुजिता शाक्य, पार्वत गुरुङ, तिलकुमार मेन्याङ्वो, ज्वाला साहा, जगत विश्वकर्मा, माधव ढुंगेल, चेतनारायण आचार्य, लालबहादुर थापा, जीवन गौतम, तिलकबहादुर क्षेत्री, सरोजकुमार यादव, मञ्जु भण्डारी, राजबहादुर बुढा र आरसी लामिछाने रहेका छन् ।

१३- जापानले यस वर्ष भारतीय आँपको आयातमा रोक लगाएपछि विश्वकै सबैभन्दा ठूलो आँप उत्पादक देश भारतका निर्यातकर्ताहरू प्रभावित भएका छन् । जापानी अधिकारीहरूले आँप निर्यातअघि गरिने कीट नियन्त्रण प्रक्रियामा कमजोरी भेटिएपछि यस्तो निर्णय लिइएको बताएका छन् । जापानले भारतीय आँपमा लाग्ने किराका अण्डा वा लार्भा देशभित्र प्रवेश गरेर स्थानीय कृषिमा क्षति पुर्‍याउन सक्ने जोखिमलाई ध्यानमा राख्दै आयात अस्थायी रूपमा रोकेको हो । यसअघि पनि सन् १९८० को दशकमा यस्तै चिन्ताका कारण जापानले भारतबाट आँप खरिद बन्द गरेको थियो । प्रत्येक वर्ष आँपको मौसममा जापानले आफ्ना निरीक्षकहरूलाई भारत पठाएर विशेष परीक्षण गराउने गर्दछ । यस क्रममा ‘वाष्पीय ताप उपचार’ नामक प्रक्रिया अपनाइन्छ, जसमा फललाई निश्चित समयसम्म तातो हावायुक्त कक्षमा राखेर भित्र रहेका कीरा र तिनका अण्डा नष्ट गरिन्छ । यस वर्षको निरीक्षणमा यही प्रक्रियामा त्रुटि भेटिएपछि जापानको वनस्पति संरक्षण निकायले भारतीय आँप स्वीकार नगर्ने निर्णय गरेको हो । जापानी पक्षले आवश्यक मापदण्ड पूर्ण रूपमा पालना भएकोमा विश्वस्त नभएसम्म भारतबाट आउने आँपको आयात रोकिरहने जनाएको छ । यो निर्णय आँपको मुख्य उत्पादन तथा निर्यात सिजनकै समयमा आएको हो । विश्वका विभिन्न क्षेत्रमा जारी तनाव र समुद्री ढुवानी मार्गमा देखिएका अवरोधका कारण निर्यातकर्ताहरू पहिले नै दबाबमा रहेका बेला जापानको यो कदमले थप चुनौती सिर्जना गरेको छ । ढुवानी बीमा शुल्क बढ्दा यातायात लागत पनि बढेको छ, जसको असर आँपसहित अन्य कृषि उत्पादनको निर्यातमा समेत पर्न सक्ने बताइएको छ । जापान फलफूल आयातका विषयमा निकै कडा नीति अपनाउने देश मानिन्छ । सन् १९७० को दशकमा देशको दक्षिणी क्षेत्रमा फलफूलमा लाग्ने एक प्रकारको झिँगा फैलिँदा आँप, मेवा लगायतका बालीमा ठूलो क्षति पुगेको थियो । त्यसपछि जापानले दीर्घकालीन अभियान चलाएर समस्या नियन्त्रणमा ल्याएको थियो । यही अनुभवका कारण अहिले त्यहाँ कीट तथा रोगप्रति शून्य सहनशीलताको नीति लागू छ । भारत र जापानबीच भएको सम्झौताअनुसार अल्फोन्सो, केसर, बंगनापल्ली, लंगडा, चौसा र मलिका जातका आँप जापान निर्यात हुँदै आएका थिए । विशेषगरी महाराष्ट्रमा उत्पादन हुने अल्फोन्सो आँप स्वाद, सुगन्ध र गुणस्तरका कारण जापानी बजारमा उच्च मूल्यको फलका रूपमा लोकप्रिय थियो । भारतले विश्वको कुल आँप उत्पादनको करिब ४० देखि ४५ प्रतिशत हिस्सा उत्पादन गर्ने गर्छ । भारतमा करिब एक हजार प्रजातिका आँप पाइन्छन्, तर अधिकांश उत्पादन आन्तरिक बजारमै खपत हुने भएकाले निर्यातको हिस्सा अपेक्षाकृत कम छ । भारतीय कृषि तथा प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरणका अनुसार आर्थिक वर्ष २०२४/२५ मा भारतले करिब ३० हजार टन ताजा आँप निर्यात गरेको थियो । यसको अधिकांश हिस्सा संयुक्त अरब इमिरेट्स, अमेरिका, बेलायत, कुवेत र कतार पठाइएको थियो । जापानतर्फ जाने आँपको मात्रा कुल निर्यातको एक प्रतिशतभन्दा पनि कम रहेको बताइएको छ ।

१४- नेकपा एमालेले केन्द्रीय कमिटीको बैठकबाट पार्टी पुनर्गठन र पुनर्जागरणको कार्य योजना अघि बढाउने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले अन्तर पार्टी निर्देशन जारी गर्दै पार्टीको एउटा हिस्सा निराश र पलायन हुन लागेकाले सुधार ल्याउनु र पार्टी पंक्तिमा आशाको संचार जागृत गर्नु आवश्यक रहेको उल्लेख गर्दै केन्द्रीय कमिटीको बैठकबाट पार्टी पुनर्गठन र पुनर्जागरणको कार्य योजना अघि बढाउने बताएका हुन् ।  ओलीले  वर्तमान अवस्थामा एकता, एकता र अझ उन्नतस्तरको एकता प्रदर्शन गर्नु आवश्यक रहेको बताउदै भनेका छन्- ‘निर्वाचनमा व्यहोर्नुपरेको गम्भीर पराजयका कारणले पार्टीको एउटा हिस्सा निराश र पलायन हुन खोजेको अवस्था छ। यसप्रकारको अवस्थामा सुधार ल्याउनु र पार्टीपंक्तिमा आशाको संचार जागृत गर्नु आवश्यक छ ।पार्टी समीक्षाको चरणमा रहेको हुँदा केन्द्रीय कमिटीको बैठकबाट पार्टी पुनर्गठन र पुनर्जागरणको कार्य योजना अघि बढाइने छ। पार्टी सदस्यता नवीकरणको प्रक्रियाबाट नै त्यो काम अघि बढाउने छ।’जतिसुकै गम्भीर समस्या भए त्यसको समाधान सम्भव रहेको दाबी गर्दै उनले पार्टी काममा सक्रियताका साथ जुट्न कार्यकर्तालाई जुट्न अनुरोध गरेका छन् । ओलीले भनेका छन्- ‘जतिसुकै गम्भीर समस्या भए त्यसको समाधान सम्भव छ। चुनौती जतिसुकै जटिल भए पनि त्यसको पनि सामना गर्न सकिन्छ। इतिहासका विभिन्न कालखण्डमा गम्भीर भन्दा गम्भीर चुनौतीलाई सामना गर्दै पार्टी राष्ट्रिय राजनीतिको केन्द्रीय भूमिकामा स्थापित गरिएको हो भन्ने सत्यलाई मनन गरेर पार्टी काममा सक्रियताका साथ जुट्न म सम्पूर्ण कमरेडहरुलाई हार्दिक अनुरोध गर्दछु।’ निर्वाचनमा के कस्तो कमी कमजोरी रहे ? कस्को के कस्तो भूमिका रह्यो भन्ने सन्दर्भमा पार्टीले समीक्षा प्रतिवेदनमार्फत आफ्नो दृष्टिकोण बाहिर ल्याउने बताउदै ओलीले अन्तरपार्टी निर्देशनमा भनेका छन्- ‘निश्चय नै निर्वाचनको अस्वभाविक परिणामबाट हामी सबै चिन्तित छौं। पार्टीका सामू उत्पन्न चुनौती र संकटलाई सामना गरेर नै हामीले निर्वाचनका समयमा भन्ने गरेको देश पहिला भन्ने नाराको सार्थकतालाई पुष्टि गर्न सफल हुनेछौं ।’ ओलीले भदौ २३ र २४ को घटना पछि उत्पन्न असहज परिस्थिति, पार्टीभित्र उत्पन्न अन्तरविरोध समेतका कारणले समयअगावै एघारौं राष्ट्रिय महाधिवेशन आयोजना गरेको बताउदै प्रतिगमनतर्फ अग्रसर भएको मुलुकलाई संविधान र लोकतन्त्रको बाटोमा फर्काउनका लागि प्रतिनिधिसभाको पुनर्स्थापना अपरिहार्य छ भन्ने विश्लेषणलाई नेपालका अन्य लोकतान्त्रिक दलहरुले साथ नदिएका कारणले निर्वाचनमा जानुपरेको बताएका छन् ।  उनले भनेका छन्- ‘निर्वाचनको परिणाम हाम्रो पार्टीका पक्षमा रहेन नै। नेपालको प्रमुख लोकतान्त्रिक पार्टीहरुको पक्षमा समेत रहेन। यहाँ कहाँ के कस्तो कमि कमजोरी रहे ? कस्को के कस्तो भूमिका रह्यो भन्ने कुरा समयक्रममा उजागर समेत हुँदै जाला। तर पनि यो निर्वाचन अघिपछिको निर्वाचन जस्तो रहेन। यसको परिणाम पनि स्वभाविक रहेन। यस सन्दर्भमा पार्टीले समीक्षा प्रतिवेदनमार्फत आफ्नो दृष्टिकोण बाहिर ल्याउने नै छ।’ ओलीले लोकप्रियतावादको आवरणमा मुलुकलाई अराजकता, स्वेच्छाचारिता र अधिनायकवादतर्फ लैजाने कोशिस भइरहेको बताए। भदौ २३ र २४ को विध्वंसात्मक घटनापछि मुलुक प्रतिगमनको बाटोमा अग्रसर भएको हाम्रो निष्कर्ष सही रहेछ भन्ने कुरा नवगठित सरकारका काम र क्रियाकलापले पुष्टि गर्दै लगिरहेको उनको भनाई छ। ओलीले कार्यकर्तालाई वर्तमान सरकार र निर्वाचन आयोग प्रदेशसभा र स्थानीय तहका निर्वाचन एकैसाथ गर्ने गरी तयारीमा जुटिरहेकोसमेत जानकारी गराए ।

१५- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले गणतन्त्र दिवसका दिन पार्टी अध्यक्ष केपी शर्मा ओलीके जारी गरेको अन्तरपार्टी निर्देशन- २ अध्ययन गर्ने नेता कार्यकर्तालाई आग्रह गरेका छन् । भट्टराईले सम्पूर्ण पार्टी सदस्यहरूलाई अपानि २ अनिवार्य अध्ययन गर्न अनुरोध गर्दै अपानिमा एकता, एकता र अझ उन्नतस्तरको एकता प्रदर्शनमा जोड दिइएको जानकारी दिएका छन् । यस्तै, अझ उन्नतस्तरको एकता प्रदर्शन गर्न केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको कार्यविभाजन गरिएको बताउँदै उनले उक्त कार्यविभाजनबाट पार्टीमा व्यापक एकता निर्माण हुने अपेक्षा अपानिमा गरिएको बताएका छन् । साथै उनले सबैलाई छर्लङ्ग हुन र ढुक्क रहन आग्रह समेत गरे । उनले भनेका छन्- ‘हिजो जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको हस्ताक्षरमा हाम्रो पार्टी नेकपा (एमाले) को अन्तरपार्टी निर्देशन-२ (अपानी-२) जारी भएको छ । ‘अपानीमा उल्लेखित विषयहरू आफैँमा महत्त्वपूर्ण छन्, त्यसमा पनि गणतन्त्र दिवसका दिन जारी भएको हुनाले यसले ऐतिहासिकता कायम गर्ने नै छ ।’ अपानीमा जोड दिइएको छ-‘ एकता, एकता र अझ उन्नत स्तरको एकता प्रदर्शन गर्नु आवश्यक छ।’ अझ उन्नत स्तरको एकता प्रदर्शन गर्न केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको कार्यविभाजन गरिएको छ । उक्त कार्यविभाजनबाट पार्टीमा व्यापक एकता निर्माण हुने अपेक्षा अपानीमा गरिएको छ । सम्पूर्ण पार्टी सदस्यहरूलाई अपानी-२ अनिवार्य अध्ययन गर्न अनुरोध गर्दछु । छर्लङ्ग हुनुहोस्, ढुक्क रहनुहोस् !

१६-  भारतका १५ भन्दा बढी राज्यमा अत्यधिक गर्मीका बीच वर्षाको चेतावनी जारी गरिएको छ । विभिन्न स्थानमा आएको आँधी, वर्षा र चट्याङका कारण जनजीवन प्रभावित भएको छ । बिहारमा पछिल्लो २४ घण्टामा आँधी, वर्षा र चट्याङका घटनामा परी १७ जनाको मृत्यु भएको छ । राजधानी पटनामा भारी वर्षाका कारण चार उडान अन्य विमानस्थलतर्फ मोडिएका छन् भने १८ उडान ढिलो भएका छन् । यसबाट पाँच सयभन्दा बढी यात्रु प्रभावित भएका छन् । मौसम विभागले शनिबार पनि राज्यका २५ जिल्लामा वर्षाको सम्भावना रहेको जनाएको छ । उत्तर प्रदेशमा पछिल्लो २४ घण्टामा आँधीबेहरीका कारण ३१ जनाको ज्यान गएको छ । सहारनपुरमा भारी वर्षापछि पहाडी क्षेत्रबाट आएको तीव्र भेलले इनोभा र ट्र्याक्टरसहित १० वटा सवारीसाधन बगाएको छ । राज्यका सबै ७५ जिल्लामा शनिबार पनि वर्षाको चेतावनी जारी गरिएको छ । यता राजस्थानका ३० जिल्लामा आँधीसँगै असिना पर्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ । एक दिनअघि चुरु, हनुमानगढ, बिकानेर र सीकरलगायत नौ जिल्लामा तापक्रम १० डिग्री सेल्सियससम्म घटेको थियो । पञ्जाबको पठानकोटमा शनिबार बिहान असिना परेको छ भने मोहालीमा भारी वर्षा भएको छ । मौसममा आएको अचानक परिवर्तनले धेरै क्षेत्रमा गर्मीबाट राहत मिले पनि जनजीवन प्रभावित बनेको बताइएको छ ।

१७-  सरकारले बजेटमार्फत विद्युतीय सवारी साधन (ईभी) मा २० प्रतिशत फ्ल्याट दरमा भन्सार दर कायम गरेको छ ।  विगतमा किलोवाट क्षमताको आधारमा फरक फरक भन्सार दर लिने गरेकोमा सरकारले अबदेखि २० प्रतिशत फ्ल्याट दरमा भन्सार दर लागु गरेको हो । भन्सार महसुललाई २० प्रतिशत कायम गरी फ्ल्याट बनाइए पनि ‘स्वच्छ पूर्वाधार लगानी शुल्क’ नामक नयाँ करहरू पनि थपिएका छन् । जसका कारण विगतको तुलनामा इभि गाडीको मूल्यमा भारी वृद्धि हुने देखिएको छ । २० लाख रुपैयाँसम्म मूल्य पर्ने ईभी गाडीहरुमा २० प्रतिशत भन्सार, २.५ प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क, १३ प्रतिशत मूल्य अभिवृद्धि कर र सडक मर्मत दस्तुर ५ प्रतिशत लाग्ने भएको छ ।  अब २० लाख रुपैयाँसम्मका ईभीमा भन्सार, स्वच्छ पूर्वाधार लगानी शुल्क, मूल्य अभिवृद्धि कर र सडक मर्मत दस्तुरसमेत जोड्दा कुल करभार ४०.५ प्रतिशत हुनेछ । तर, २० लाखदेखि ३० लाखसम्मको स्लाब  बजेटमा उल्लेख छैन । त्यस्तै, ३० लाखदेखि ४० लाख  मूल्यको गाडीमा २० प्रतिशत भन्सार १५ प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क, १३ प्रतिशत मूल्य अभिवृद्धि कर र सडक मर्मत दस्तुर ५ प्रतिशत लाग्ने भएको छ । अब ३० देखि ४० लाख मूल्यका गाडीमा भन्सार, स्वच्छ पूर्वाधार लगानी शुल्क, मूल्य अभिवृद्धि कर  र सडक मर्मत दस्तुरसमेत जोड्दा कुल करभार ५३ प्रतिशत हुनेछ । नयाँ कर नीतिअनुसार ४० लाखदेखि ५० लाख रुपैयाँसम्म मूल्यका गाडीहरुमा २० प्रतिशत भन्सार ७० प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क १३ प्रतिशत मूल्य अभिवृद्धि कर  र सडक मर्मत दस्तुर ५ प्रतिशत लाग्ने भएको छ । त्यस्तै ४० देखि ५० लाख मूल्यका ईभीमा अब भन्सार, स्वच्छ पूर्वाधार लगानी शुल्क, मूल्य अभिवृद्धि कर  र सडक मर्मत दस्तुरसमेत जोड्दा कुल कर १०८ प्रतिशत पुग्ने भएको छ ।  यसैगरी ५० लाख रुपैयाँभन्दा माथि मूल्य पर्ने गाडीहरुमा २० प्रतिशत भन्सार ११० प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क, १३ प्रतिशत मूल्य अभिवृद्धि कर र सडक मर्मत दस्तुर ५ प्रतिशत जोड्दा कुल कर १४८ प्रतिशतसम्म लाग्ने भएको छ ।

१८- भारतका सबैभन्दा ठूलो व्यापारिक समूह रिलायन्स इन्डस्ट्रिज लिमिटेडका अध्यक्ष मुकेश अम्बानीले लगातार छैटौँ वर्ष कम्पनीबाट कुनै तलब नलिएको विवरण सार्वजनिक भएको छ । कम्पनीको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०२५–२६ मा अम्बानीको तलब, भत्ता तथा सेवानिवृत्ति सुविधा सबै शून्य रहेको छ । उनले सन् २०२० मा कोरोना महामारीपछि कम्पनीको अवस्था सामान्य नभएसम्म तलब नलिने निर्णय गरेका थिए । त्यसयता उनले २०२१–२२, २०२२–२३, २०२३–२४, २०२४–२५ र २०२५–२६ सम्म लगातार तलब त्याग्दै आएका छन् ।तलब नलिए पनि उनको आम्दानी मुख्य रूपमा लाभांशबाट आएको देखिएको छ। कम्पनीले प्रतिशेयर ६ रुपैयाँ लाभांश घोषणा गरेपछि अम्बानीको व्यक्तिगत शेयरबाट करिब ९ करोड ६६ लाख भारु लाभांश आउने अनुमान छ । साथै, उनको नियन्त्रणमा रहेको प्रमोटर समूहको ५० प्रतिशतभन्दा बढी हिस्सेदारीबाट करिब ३ हजार ९८७ करोड भारु लाभांश प्राप्त हुने भएको छ । कुल मिलाएर करिब ३ हजार ९९६ करोड बराबरको लाभांश आम्दानी हुने देखिएको छ । प्रतिवेदन अनुसार मुकेश अम्बानीको कुल सम्पत्ति करिब ८.८३ लाख करोड भारु बराबर रहेको छ । उता उनका परिवारका अन्य सदस्य र उच्च व्यवस्थापनको पारिश्रमिक पनि सार्वजनिक गरिएको छ । अनन्त अम्बानीले करिब १२ करोड १७ लाख पारिश्रमिक पाएका छन् । आकाश र ईशा अम्बानीलाई भने केवल बैठक भत्ता र सानो लाभांश रकम मात्र दिइएको छ । साथै, निकट सहयोगी निखिल मेसवानी र हितल मेसवानीले करिब २५–२५ करोड पारिश्रमिक पाएका छन् । कार्यकारी निर्देशक पीएमएस प्रसादको पारिश्रमिक पनि बढेर करिब २० करोड ५८ लाख पुगेको छ । रिलायन्सले चौथो त्रैमासिकमा नाफा घटेको पनि जनाएको छ । जनवरीदेखि मार्चसम्मको अवधिमा कम्पनीको खुद नाफा १३ प्रतिशत घटेर १६ हजार ९७१ करोडमा झरेको छ । तर सोही अवधिमा आम्दानी १३ प्रतिशत बढेर २ लाख ९८ हजार करोड पुगेको जनाइएको छ ।

१९- गैरआवासीय नेपाली संघले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत गैरआवासीय नेपाली, वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विश्वभर फैलिएको नेपाली डायस्पोरालाई लक्षित गर्दै ल्याएका विभिन्न नीतिगत व्यवस्थाको स्वागत गरेको छ । संघले संविधानले सुनिश्चित गरेको गैरआवासीय नेपाली नागरिकतासम्बन्धी व्यवस्थालाई समयानुकूल परिमार्जन गर्दै ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने नारालाई व्यवहारमा उतार्ने सरकारी घोषणालाई ऐतिहासिक कदमको रूपमा लिएको जनाएको हो । संघका अनुसार सरकारले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्रदान गर्दै राष्ट्र निर्माणको मूलधारमा समावेश गर्ने घोषणा गरेकाले विश्वभर रहेका नेपालीमा उत्साह थपिएको छ । बजेटमार्फत गैरआवासीय नेपालीलाई नेपालको धितोपत्रको दोस्रो बजारमा सहभागी गराउने, डायस्पोरा बण्ड जारी गर्ने, स्टार्टअप तथा नवप्रवर्तन क्षेत्रमा सह–लगानी प्रोत्साहन गर्ने र विदेशमा रहेका नेपालीलाई मतदान अधिकार सुनिश्चित गर्न कानुनी तथा प्राविधिक पूर्वाधार तयार गर्ने घोषणा गरिएको छ । संघले यी व्यवस्थालाई सकारात्मक र दूरगामी महत्वका रूपमा व्याख्या गरेको छ । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका तथा फर्किएका नेपाली श्रमिकको सीपलाई औपचारिक मान्यता दिने, श्रमिक सुरक्षा, बीमा, सामाजिक सुरक्षा तथा श्रम शोषण नियन्त्रणसम्बन्धी व्यवस्था गरिएकोमा पनि संघले स्वागत जनाएको छ । नेपालमै बसेर विदेशी रोजगारदाताका लागि काम गर्न पाउने तथा रिमोट वर्कलाई कानुनी आधार दिने सरकारी घोषणाले नयाँ पुस्ताका नेपाली युवाका लागि महत्वपूर्ण अवसर सिर्जना गर्ने विश्वास संघले व्यक्त गरेको छ । संघले डायस्पोराको लगानी, ज्ञान, सीप र अन्तर्राष्ट्रिय सञ्जालको उपयोगसम्बन्धी आफूहरूले लामो समयदेखि उठाउँदै आएका विषय बजेटमार्फत सम्बोधन भएको भन्दै नेपाल सरकार, अर्थ मन्त्रालय तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ । सरकारले बजेटमार्फत गैरआवासीय नेपालीलाई लगानीमैत्री अध्यागमन व्यवस्था, नयाँ भिसा नीति, विदेशी लगानी स्वीकृति प्रक्रियामा सहजता, डायस्पोरा तथा हरित बण्ड जारी गर्ने व्यवस्था पनि अघि सारेको छ । यस्तै, वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र पारदर्शी बनाउन श्रम सम्झौताको पुनरावलोकन, शून्य लागत रोजगारी प्रोत्साहन, श्रमिकमैत्री सेवा शुल्क, श्रमिक बीमा, सामाजिक सुरक्षा र डिजिटल गुनासो व्यवस्थापन प्रणाली लागू गर्ने नीति पनि बजेटमा समावेश गरिएको छ । सरकारले औपचारिक माध्यमबाट आउने रेमिट्यान्सलाई प्रोत्साहन गर्न लट्री कार्यक्रम सञ्चालन गर्ने, वैदेशिक रोजगारीमा रहेका युवालाई खुला विश्वविद्यालयमार्फत अध्ययनको अवसर दिने तथा रिटर्नी माइग्रेन्ट कार्यक्रम सञ्चालन गर्ने घोषणा पनि गरेको छ । त्यसैगरी, प्रवासी नेपालीको ज्ञान र सीप उपयोग गर्न कृत्रिम बौद्धिकता क्षेत्रमा अन्तर्राष्ट्रिय पहिचान बनाएका नेपाली अनुसन्धानकर्तालाई फेलोसिपमार्फत नेपाल फर्काउने योजना पनि सरकारले अघि सारेको छ । गैरआवासीय नेपाली संघले घोषणा गरिएका नीतिगत व्यवस्थालाई छिटो कानुन बनाएर कार्यान्वयनमा लैजान सरकारसँग आग्रह गर्दै आवश्यक सहकार्य, सुझाव र समन्वयका लागि आफूहरू सदैव तयार रहेको जनाएको छ ।

२०- गुजरात टाइटन्स जारी आइपिएलको फाइनलमा पुगेको छ । गएराती सम्पन्न दोस्रो क्वालिफायर खेलमा गुजरातले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । राजस्थानले दिएको २१५ रनको लक्ष्य पछाएको गुजरातले १८.४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । गुजरातको जितमा कप्तान शुभमन गिलले १०४ रनको शतकीय पारी खेलेका थिए भने साइ सुदर्शनले ५८ रन बनाएका थिए । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाउदै २१४ रन बनाएको थियो । राजस्थानका लागि वैभव सुर्यबंशीले ९६ रन बनाए भने रविन्द्र जडेजाले ४५ र डोनोभान फरेराले ३८ रन बनाएका थिए । यो जितपछि गुजरात फाइनलमा पुगेको छ र अब उपाधिका लागि रोयल च्यालेन्जर्स बैंगलुरुसँग आइतबार खेल्ने छ । त्यस्तै हारसँगै राजस्थान रोयल्स भने बाहिरिएको छ ।

 

 

Nepal life insuranceimagesimagesimages