

काठमाडौं, १९ जेठ । सीप भएर पनि आवश्यक उपकरणको अभावमा स्वरोजगार बन्न नसकेका नागरिकलाई लक्षित गर्दै ज्योति विकास बैंकले सुर्खेतमा सिलाई मेसिन वितरण गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्दै आएको “हाम्रो विकास प्रवद्र्धन कोष“ मार्फत वीरेन्द्रनगर नगरपालिका–१० र १२ का सिलाई तालिम प्राप्त व्यक्तिहरूलाई सिलाई मेसिन हस्तान्तरण गरेको हो।

स्थानीय तहसँगको सहकार्यमा सञ्चालन गरिएको कार्यक्रममा सिलाईसम्बन्धी तालिम हासिल गरेका लक्षित तथा आर्थिक रूपमा विपन्न वर्गका नागरिकलाई स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले मेसिन प्रदान गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार परम्परागत सीप र कलालाई व्यवसायमा रूपान्तरण गरी आयआर्जनका अवसर सिर्जना गर्न सहयोग पु¥याउने लक्ष्यसहित यो कार्यक्रम सञ्चालन गरिएको हो। यसबाट सीप भएका तर उपकरण अभावका कारण व्यवसाय सुरु गर्न नसकेका व्यक्तिहरूलाई आत्मनिर्भर बन्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
ज्योति विकास बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, जीवनस्तर सुधार तथा आर्थिक सशक्तीकरणका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ। बैंकले यस्ता कार्यक्रममार्फत समुदायमा दिगो र समावेशी विकासलाई प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाएको छ।



