
काठमाडौं, २५ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सिंहसहितले गलत लिखत, सरकारी कागजात सच्याउने, सरकारी कागजात नोक्सान गर्ने तथा गलत प्रतिवेदन तयार गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेका अन्यमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० की रिता भट्टराई, वीरगन्ज महानगरपालिका–३ का तत्कालीन वडासचिव भिखारी राय, तत्कालीन वडासदस्य तुफैल अख्तर ठकुराई, गृह मन्त्रालयका तत्कालीन उपसचिव पुस्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेल रहेका छन् ।

वीरगन्ज महानगरपालिकाका नगरप्रमुख सिंहले गलत विवरण पेस गरी भट्टराई थर भएको महिलाको छोरीलाई आफ्नी छोरी रुविना श्रेष्ठ बनाई नागरिकताको प्रमाणपत्र दिलाएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धान हुँदा सिंहले वीरगन्ज महानगरपालिका–३ का तत्कालीन वडासचिव राय, तत्कालीन वडासदस्य ठकुराई र जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोख्रेलसँग मिलेमतो गरी अर्काको छोरीलाई आफ्नो भनी गलत व्यहोरा खुलाई रुविना श्रेष्ठको जन्मदर्ता प्रमाणपत्र तयार पारेको अख्तियारको आरोप पत्रमा उल्लेख गरिएको छ ।


जन्मदर्ता प्रमाणपत्रका आधारमा नागरिकता सिफारिस तयार गरी जिल्ला प्रशासन कार्यालय, पर्साबाट मिति २०७५ साउन १३ गते रुविना श्रेष्ठका नाममा नागरिकता प्रमाण पत्र लिएको अख्तियारद्वारा सोमबार जारी विज्ञप्तिमा जनाइएको छ । उनीहरूले सरकारी निकाय वा सार्वजनिक संस्थाको कागजातमा अनाधिकार एवं गैरकानुनी तरिकाले सच्याउने, केरमेट गर्ने, थपघट गरी हेरफेर गर्ने गराउने र कागजात लुकाउने, नोक्सान पुर्याउने एवं नष्ट गर्ने गराउने कार्य गरेको पाइएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ । अदालतमा भ्रष्टचारको मुद्दा दायर भए लगतै मेयर सिंह निलम्बनमा परेका छन् ।





