
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विस्तारित कर्जा सुविधा (ईसीएफ) कार्यक्रमअन्तर्गत नेपाललाई ४ करोड २९ लाख अमेरिकी डलर अर्थात् ६ अर्ब ५० करोड रुपैयाँभन्दा बढी सहायता उपलब्ध गराउने निर्णय गरेको छ।आईएमएफले सार्वजनिक गरेको विज्ञप्तिअनुसार आर्थिक गतिविधिमा देखिएको सुस्तताका बाबजुद नेपालले संरचनात्मक सुधारका विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेकाले सहायता उपलब्ध गराउने निर्णय गरिएको हो।

आईएमएफका अनुसार नेपालले मौद्रिक सञ्चालन प्रणालीको आधुनिकीकरण, वित्तीय क्षेत्रको निगरानी तथा नियमनमा सुधार, ऋण पोर्टफोलियो समीक्षा, वित्तीय पारदर्शिता अभिवृद्धि, सार्वजनिक लगानी व्यवस्थापन सुधार तथा सम्पत्ति शुद्धीकरण नियन्त्रणसम्बन्धी संरचना सुदृढीकरणमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। साथै कानुनी सुधार तथा सार्वजनिक संस्थानहरूको जवाफदेहिता बढाउने कार्यले सुशासन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुगेको जनाइएको छ।

यो सहायता रकमसँगै विस्तारित कर्जा सुविधा कार्यक्रमअन्तर्गत नेपालले हालसम्म प्राप्त गरेको कुल सहायता ३८ करोड ४१ लाख अमेरिकी डलर पुगेको छ। यसैबीच, आईएमएफले चालु आर्थिक वर्ष २०२५/२६ मा नेपालको आर्थिक वृद्धि दर ३ प्रतिशत रहने प्रक्षेपण गरेको छ। राजनीतिक गतिविधिबाट उत्पन्न अवरोध, कृषि उत्पादनमा आएको कमी, निजी क्षेत्रको लगानीमा सुस्तता तथा मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वको प्रभावका कारण अपेक्षाकृत न्यून आर्थिक वृद्धि हुने अनुमान गरिएको आईएमएफले जनाएको छ।

आईएमएफले आगामी दिनमा वित्तीय सुधार, सुशासन र आर्थिक स्थायित्वका क्षेत्रमा थप सुधारलाई निरन्तरता दिन नेपाललाई सुझाव समेत दिएको छ





