तीन लघुवित्तको मर्जर प्रक्रिया अघि बढ्दै, असार १० मा विशेष साधारण सभा

काठमाडौं, २६ जेठ । लघुवित्त क्षेत्रमा अर्को ठूलो मर्जरको प्रक्रिया अगाडि बढेको छ। युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले मानुषी लघुवित्तसँगको एकीकरण प्रस्ताव अनुमोदन गर्न विशेष साधारण सभा आह्वान गरेका छन्। जेठ २५ गते बसेको दुवै संस्थाको सञ्चालक समिति बैठकले असार १० गते विशेष साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो। युनिक नेपाल लघुवित्तले आफ्नो केन्द्रीय कार्यालयमा तथा जीवन विकास लघुवित्तले पनि सोही दिन आफ्नै केन्द्रीय कार्यालयमा सभा सञ्चालन गर्नेछन्।

 

सभामा तीनवटै लघुवित्त संस्थाबीच गाभ्ने÷गाभिने सम्बन्धी प्रस्तावमाथि छलफल गरी निर्णय गरिनेछ। साथै, मर्जरसँग सम्बन्धित हालसम्म भएका कामकारबाही, खर्च अनुमोदन, लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणका विषय पनि प्रस्तुत गरिनेछन्। यस्तै, सेयर स्वाप रेसियोसहित मर्जर सम्बन्धी सम्पूर्ण प्रस्तावलाई स्वीकृति प्रदान गर्ने र आवश्यक थप प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डासमेत सभामा रहेको छ।

मर्जर प्रयोजनका लागि दुवै संस्थाले असार ३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेका छन्। त्यसअनुसार असार २ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनी मात्रै विशेष साधारण सभामा सहभागी भई मतदान गर्न योग्य हुनेछन्। तीन लघुवित्त संस्थाको एकीकरणपछि पूँजी आधार सुदृढ हुनुका साथै सेवा विस्तार र सञ्चालन क्षमता अझ मजबुत हुने अपेक्षा गरिएको छ।