
काठमाडौँ । पर्यटन राजधानी पोखरा, भरतपुर र लुम्बिनीबिच पर्यटन प्रवर्द्धन तथा विकासका लागि ‘सिल्भर ट्रयाङ्गल’ अवधारणामा सहकार्य गर्ने समझदारी भएको छ ।संयुक्त रूपमा पर्यटन प्रवर्द्धन, एकीकृत पर्यटन प्याकेज विकास, वार्षिक ट्राभल मार्ट आयोजना तथा अन्तरप्रदेशीय पर्यटन कनेक्टिभिटी विस्तारमा सहकार्य गर्ने समझदारी भएको हो ।

पोखरा महानगरपालिकाद्धारा सञ्चालित पोखरा भ्रमण वर्षको संयोजनमा आयोजित कार्यक्रममा पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्र सेन अधिकारी तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजनले हस्ताक्षर गरेका हुन् ।

समझदारीअनुसार तीनै पक्षले वार्षिक नीति, योजना तथा बजेटमा ‘सिल्भर ट्रयाङ्गल’ अवधारणालाई समावेश गर्नेछन् । सहकार्यको नेतृत्व तथा समन्वय प्रत्येक वर्ष पालैपालो रूपमा तीनै स्थानीय तहले गर्ने व्यवस्था गरिएको छ । समझदारी पत्रमा प्रत्येक वर्ष पालैपालो रूपमा ‘सिल्भर ट्रयाङ्गल पर्यटन मेला ट्राभल मार्ट’ आयोजना गर्ने, आवश्यकता अनुसार व्यवसायदेखि–व्यवसाय बीटूबी तथा जीटूजी बैठक सञ्चालन गर्ने र संयुक्त रूपमा पर्यटन प्रवर्द्धन तथा बजार विस्तार अभियान सञ्चालन गर्ने उल्लेख छ ।

नगर प्रमुख आचार्यका अनुसार पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर एकीकृत पर्यटन प्याकेज विकास गरिनेछ । तीनै गन्तव्यको प्रचारका लागि संयुक्त ब्रोसर, भिडियो तथा डिजिटल सामग्री उत्पादन र वितरण गरिने छ । प्रत्येक सहरमा अन्य दुई सहरका प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी दिने डिजिटल सूचना बोर्ड स्थापना समेत गरिने आचार्यले बताए ।

भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्र सेन अधिकारीले उक्त सहकार्यलाई दीर्घकालीन पर्यटन विकास, सांस्कृतिक संरक्षण तथा अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धनको महत्त्वपूर्ण कदमका रूपमा लिएको बताए । सिल्भर ट्रयाङ्गललाई जोड्न संयुक्त लोगो, क्यालेन्डर र यातायात सञ्चालनका लागि व्यवसायीसँग सहकार्य गर्ने बताए । लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख हरिजनले तीन वटै गन्तव्य स्थललाई जोड्ने गरी आगामी नीति कार्यक्रममा प्राथमिकता दिने समझदारी ऐतिहासिक भएको बताइन् ।
पर्यटन व्यवसायी, होटेल, ट्राभल एजेन्सी तथा स्थानीय समुदायबिच सहकार्य र सञ्जाल विस्तार गर्ने, सांस्कृतिक, शैक्षिक तथा पर्यटन आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने र पर्यटन प्रवर्द्धनका लागि स्थानीय, प्रदेश तथा सङ्घीय सरकार, नेपाल पर्यटन बोर्ड तथा विकास साझेदार संस्थासँग संयुक्त समन्वय गर्ने विषय पनि समझदारी पत्रमा समावेश गरिएको छ ।





