आइसीसी महिला टी-२० विश्वकप आजदेखि, १२ देश सहभागी हुदै

काठमाडौँ । आइसीसी महिला टी-२० विश्वकप आजदेखि हुँदैछ। प्रतियोगिताको पहिलो खेल बर्मिङ्घममा इंग्ल्यान्ड र श्रीलंकाबीच हुदैछ । यो खेल नेपाली समयअनुसार राति ११:३० बजेदेखि सुरु हुनेछ।

खेल सुरु हुनुअघि उद्घाटन समारोह (ओपनिङ सेरेमनी) आयोजना गरिनेछ, जहाँ ब्रिटिस अभिनेत्री एमा किंग्सटन र अभिनेत्री तथा गायिका जिजी स्ट्रलेनले आफ्नो प्रस्तुति दिनेछन् ।

यस पटकको महिला टी-२० विश्वकपमा १२ टोलीले सहभागिता जनाउँदैछन् । हालको लय (फर्म), विश्वकपको इतिहास, टोलीको सन्तुलन र कप्तानीलाई आधार मान्दा अस्ट्रेलिया, भारत, इंग्ल्यान्ड र दक्षिण अफ्रिका उपाधिका सबैभन्दा बलियो दाबेदार देखिएका छन्।

महिला क्रिकेट इतिहासमा अस्ट्रेलिया सबैभन्दा सफल देश हो । अस्ट्रेलियाले हालसम्म भएका ९ वटा संस्करणमध्ये ६ पटक टी-२० विश्वकपको उपाधि जितेको छ । यस पटक टोली एलिसा हिलीपछि सोफी मोलिन्युक्सको कप्तानीमा मैदान उत्रिनेछ । टोलीमा एलिस पेरी, बेथ मुनी, एश गार्डनर, ताहलिया म्याकग्रा र मेगन शुट जस्ता स्टार खेलाडीहरूको उपस्थिति रहनुले अस्ट्रेलियालाई निकै बलियो बनाएको छ ।

विगत डेढ वर्षमा अस्ट्रेलियाले १२ वटा टी-२० खेलमध्ये १० वटामा जित दर्ता गरेको छ। तर, हालैका आईसीसी प्रतियोगिताहरूमा भने टोलीले आफ्नो क्षमता अनुरूप प्रदर्शन गर्न सकेको छैन । सन् २०२५ को एकदिवसीय विश्वकपको सेमिफाइनलमा अस्ट्रेलिया भारतसँग पराजित भएको थियो भने २०२४ को टी-२० विश्वकपको सेमिफाइनलमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो ।

यस विश्वकपमा अस्ट्रेलिया, भारत, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, न्यूजील्याण्ड, वेस्ट इण्डिज, पाकिस्तान, श्रीलंका, बंगलादेश, आयरल्याण्ड, नेदरल्याण्डस र स्कटल्याण्ड खेल्दैछन् ।

जसमा अस्ट्रेलिया, भारत, बंगलादेश, नेदरल्याण्डस, पाकिस्तान र दक्षिण अफ्रिका समुह ए मा रहेका छन् भने इङल्याण्ड, आयरल्याण्ड, न्यूजील्याण्ड, स्कटल्याण्ड, श्रीलंका र वेस्ट इन्डिज समुह बी मा रहेका छन् । समुह चरणका खेलपछि शिर्ष २ स्थानमा रहेका देश सेमिफाइनलमा पुग्ने छन् ।

प्रतियोगिताको सेमिफाइनल खेल जुन ३० र जुलाई २ मा तथा फाइनल खेल जुलाई ५ मा हुने तालिका रहेको छ ।