
काठमाडौं, ०३ असार । व्यवसायिक भुक्तानी प्रक्रियालाई थप आधुनिक, छिटो र प्रभावकारी बनाउने उद्देश्यसहित ई–सेवा र आइएमएसले संयुक्त रूपमा ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ सेवा सार्वजनिक गरेका छन्। नयाँ प्रणालीमार्फत कम्पनी तथा संस्थाहरूले आफ्नै भुक्तानी संरचनाबाट सिधै साझेदार, आपूर्तिकर्ता र लाभग्राहीलाई रकम भुक्तानी गर्न सक्नेछन्।
यो समाधानले आइएमएसको इन्टरप्राइज व्यवस्थापन क्षमता र ई–सेवाको सशक्त डिजिटल भुक्तानी पूर्वाधारलाई एकीकृत गरेको छ। यसबाट व्यवसायहरूले परम्परागत चेक प्रणाली तथा म्यानुअल प्रक्रियामाथिको निर्भरता घटाउँदै भुक्तानी व्यवस्थापनलाई थप सहज बनाउन सक्नेछन्।


कम्पनीका अनुसार ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ प्रयोग गर्दा भुक्तानी प्रक्रिया स्वचालित हुने भएकाले समयको बचत हुनुका साथै वित्तीय कारोबारमा पारदर्शिता र नियन्त्रण पनि बढ्नेछ। व्यवसायीहरूले हाल प्रयोग गरिरहेका प्रणालीबाटै सिधै डिजिटल भुक्तानी गर्न सक्ने सुविधा प्राप्त गर्नेछन्।

नयाँ सेवाले सञ्चालन लागत घटाउन, कार्यप्रवाहलाई व्यवस्थित बनाउन तथा संस्थाहरूलाई आफ्नो मुख्य व्यवसायिक गतिविधिमा केन्द्रित हुन सहयोग पुग्ने विश्वास गरिएको छ। विशेषगरी ठूलो संख्यामा नियमित भुक्तानी गर्नुपर्ने संस्था तथा व्यवसायका लागि यो प्रणाली उपयोगी हुने अपेक्षा गरिएको छ।
ई–सेवा र आइएमएसले यो सहकार्यलाई नेपालको व्यावसायिक भुक्तानी प्रणालीको डिजिटल रूपान्तरणतर्फको महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेका छन्। दुवै संस्थाले प्रविधिमार्फत व्यवसायिक कारोबारलाई थप सुरक्षित, प्रभावकारी र सहज बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।





