
काठमाडौं । बीमा कम्पनीहरूको कोष रकम दुरुपयोग, धितोपत्र बजारमा कृत्रिम चलखेल तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी गम्भीर आरोपमा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई विशेष अदालतले कारागार चलान गर्न आदेश दिएको छ।
विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासले बयान तथा थुनछेक बहसपछि दुवै जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।


अभियोगपत्रअनुसार भट्ट र अग्रवालले विभिन्न बीमा कम्पनीहरू तथा हिमालयन लार्जक्याप सामूहिक लगानी कोषको रकम दुरुपयोग गरी धितोपत्र बजारमा कृत्रिम रूपमा मूल्य उतारचढाव गराउने, समूह बनाएर आपराधिक षड्यन्त्र गर्ने, कोषको रकम अपचलन गर्ने तथा ब्रोकर नम्बर ५५ मार्फत आर्थिक कारोबार सञ्चालन गरेको आरोप लगाइएको छ।

सम्पत्ति शुद्धीकरण मुद्दामा दीपक भट्टविरुद्ध २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ र शुलभ अग्रवालविरुद्ध २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ बिगो दाबी गरिएको छ।
अदालतमा बयानका क्रममा भट्टले आफ्नो वार्षिक आम्दानी नै ३० करोड रुपैयाँ रहेको दाबी गर्दै गैरकानुनी आम्दानी नगरेको बताएका थिए। तर हालसम्म संकलित प्रमाणका आधारमा अदालतले दुवै जनालाई थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो।

यस्तै, शुलभ अग्रवालको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै आवश्यक उपचारको व्यवस्था गर्न कारागार प्रशासनलाई अदालतले निर्देशन दिएको छ।
अदालतले बरामद गरिएको गाडी कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा पठाउन, मोबाइललगायतका विद्युतीय उपकरण अदालतको जिन्सी शाखामा राख्न तथा बरामद विदेशी मुद्रा नेपाल राष्ट्र बैंकमा बुझाउन समेत आदेश दिएको छ।





