
काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- प्रधानमन्त्री बालेन्द्र शाहले आवश्यक परे अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पाँच घण्टा होइन, पाँच वर्षसम्म पनि प्रश्न सोध्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सरकारी दोहन र अनियमितताका घटनामाथि कडाइका साथ प्रश्न उठाइने बताउदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पाँच घण्टा होइन, पाँच वर्षसम्म पनि प्रश्न सोध्ने बताएका हुन् । उनले भने- ‘सरकारी दोहन भएको छ भने निहुँ खोज्छौं । अख्तियारलाई पाँच घण्टा होइन, चाहियो भने पाँच वर्ष राखेर पनि प्रश्न सोधिन्छ ।’

२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश रास्वपाको हातमा सुरक्षित भएको बताएका छन् । रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै लामिछाने संघीय गणतन्त्रप्रति प्रतिवद्धता व्यक्त गर्दै देशमा अघिल्लो पुस्ताले हासिल गरेको राजनीतिक सफलताको जगेर्ना गर्ने बताएका छन् । लामिछानेले अब देशका लागि सहकार्यको समय आएको भन्दै वैमनश्यताको समय सकिएको स्पष्ट गरेका छन् । लामिछानेले पार्टीमा गुट उपगुट नगर्न आग्रह गर्दै अहिले कस्तो विउ रोप्ने भन्ने समयमा पार्टी रहेको बताए । पार्टी लोकतन्त्रका आधारभूत मान्यताबाट पार्टी यताउता नहुने बताउदै सरकारका कामको पनि नजिकबाट विश्लेषण गरिरहेको बताएका छन् । उनले बालेनसँग चुनावअघि भएको सहमति अक्षरस पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सरकारले जनताको अपेक्षा अनुसार काम गर्ने विश्वास व्यक्त गरे ।


३- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पोल्यान्डको सर्वोच्च राज्य सम्मान ‘अर्डर अफ द ह्वाइट इगल’ फिर्ता गरेका छन् । पोल्यान्डका राष्ट्रपति कारोल नवरोत्स्कीले उक्त सम्मान फिर्ता लिने निर्णय गरेपछि यो कदम उठाइएको हो । योसँगै दुई देशबीच दोस्रो विश्वयुद्धसँग जोडिएको ऐतिहासिक विवाद फेरि चर्किएको छ । पोल्यान्डले युक्रेनले आफ्नो विशेष सैन्य इकाईको नाम युक्रेनी विद्रोही सेना (युपिए) को नाममा राखेपछि असन्तुष्टि जनाएको हो । पोल्यान्डले दोस्रो विश्वयुद्धका क्रममा युपिएमाथि हजारौँ पोल्यान्ड नागरिकको हत्या गरेको आरोप लगाउँदै आएको छ । जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत यो सम्मान युक्रेनी जनता र सेनाको सम्मानका लागि भएको बताएका छन् । उनले सम्मान पोल्यान्डको राष्ट्रपति कार्यालयमा फिर्ता पठाएको जानकारी दिँदै त्यसको तस्बिर र हुलाक रसिद पनि सार्वजनिक गरेका छन् । यो सम्मान सन् २०२३ मा तत्कालीन पोल्यान्डका राष्ट्रपति आन्द्रेज डुडाले जेलेन्स्कीलाई युक्रेनको सुरक्षा, लोकतान्त्रिक मूल्य र मानवअधिकारको संरक्षणमा योगदान दिएको भन्दै प्रदान गरेका थिए । यसैबीच युक्रेनका चार वरिष्ठ अधिकारीले पनि पोल्यान्डबाट पाएको आफ्नो राज्य सम्मान फिर्ता गर्ने घोषणा गरेका छन् । तर पूर्व प्रधानमन्त्री आर्सेनी यात्सेन्युकले भने यो कदमको आलोचना गर्दै एक गलत निर्णयको जवाफ अर्को गलत निर्णयले दिन नहुने बताएका छन् ।
४- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफ्नो राष्ट्रियताप्रति शंका नगर्न आग्रह गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले आफ्नो राष्ट्रियताप्रति आशंका व्यक्त नगर्न आग्रह गरेका छन् । उनले आफुले प्रमाण आवश्यक परेमा तत्कालिन ब्रिटिश सरकारसँग रहेको प्रमाण ल्याउने भनेको तर बेलायतलाई मध्यस्थता गर्न नभनेको स्पष्ट गरे । उनले नेपालको सीमा बारे स्पष्ट धारणा रहेको भन्दै कालापानी लिपुलेकको प्रमाण रहेको बताए । उनले आफुहरुले यसै कार्यकालमा सुकुम्बासी समस्या समाधान गर्ने बताउदै अर्को चुनावमा अर्को एजेण्डा लिएर चुनावमा जाने बताए । उनले एक्सप्रेस बाटोमा हिडेको गाडी भएको बताउदै गन्तव्यमा पुगेर मात्र ब्रेक लाग्ने बताएका हुन् । त्यस्तै उनले रास्वपा विकासवादी पार्टी भएको बताउदै लेफ्ट राइट के हो भनेर चिन्ता लिन नपर्ने बताए । उनले पार्टी महाधिवेशनमा गुटबन्दी नगर्न आग्रह गर्दै बहुमतको सरकार भएकाले सबै नेता कार्यकर्ता एक भएर महाधिवेशन सम्पन्न गर्न आग्रह गरेका छन् ।

५- नेपाली काँग्रेसका सभापति गगन थापाले रास्वपाले चार बर्षमा हासिल गरेको सफलता लोभ लाग्दो भएको टिप्पणी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै रास्वपाको सफलता लोभ लाग्दो भएको बताउदै सभापति थापाले नेपालको राजनीतिमा रास्वपाले हासिल गरेको जनमत असाधारण रहेको बताउदै यस अघि यस्तै जनमत दुर्घटनामा परेको बताए । उनले विगतका पाठ सिक्दै यसअघि अगाडी बढ्ने विश्वास गरे । कांग्रेस रास्वपाको प्रतिष्पर्धी भएको भन्दै कांग्रेस भित्रको दुर्गन्ध हटाएर ठुलो हुने बताए । उनले सरकारलाई प्रश्न उठाउने बेलामा प्रश्न उठाउने र विरोध गर्ने बेलामा नडराएर उठाउने बताए । उनले पछिल्ला १०-१२ बर्षमा आफ्नै पार्टी नेतृत्वले गरेका गल्ति स्वीकार गर्दै प्रयास गरेपनि नसकेको बताए । उनले आफुहरुले आफ्नै पार्टीका नेताहरुलाई प्रश्न गरेको ढिला गरेकोले त्यसको सजाय पनि भोगेको बताउदै रास्वपाका नेता कार्यकर्तालाई गल्ति गर्ने नेताहरुलाई प्रश्न गर्न आग्रह गरे । उनले गरिवी र विभेद हामी सबैको दुश्मन भएको भन्दै यसको अन्त्य गर्न मिलेर काम गर्ने बताए ।
६- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले महाधिवेशनले राष्ट्रिय राजनीतिमा वैचारिक रुपमा रास्वपा कहाँ उभिन्छ भन्ने तय गर्ने बताएका छन् । रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै नेता प्रदीप ज्ञवालीले राष्ट्रिय राजनीतिमा रास्वपा कहाँ उभिन्छ भन्ने तय गर्ने भन्दै ज्ञवालीले महाधिवेशनले त्यो तय गर्ने विश्वास व्यक्त गरेका हुन् । उनले रास्वपाले उत्तरदायी बाटो तय गर्ने विश्वास गर्दै चार बर्षमा हासिल गरेको सफलताबाट सिक्नुपर्ने धेरै विषय रहेको बताए । नेता ज्ञवालीले जनादेश पाएपछि त्यसको सदुपयोग कसरी हुन्छ भन्ने महत्वपूर्ण हुने उल्लेख गरेका थिए । उनले रास्पवाले जनादेशलाई देश र जनताको समृद्धिका लागि प्रयोग गर्ने विश्वास गरे । उनले चुनाव र सिट साधन भएको बताउदै साध्य जनताको हित हुने बताए । नेता ज्ञवालीले सरकारले सय दिन नपुग्दै गरेका केहि निर्णयको जवाफ महाधिवेशनबाट जनतालाई जवाफ दिन आग्रह गरेका थिए ।

७- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपा नागरिक केन्द्रित लोकतन्त्रतर्फ जान चाहेको बताएका छन् । रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै अर्थमन्त्री समेत रहेका डा. वाग्लेले रास्वपाले पुरानालाई हराउने मात्र नभएर देशलाई जिताउन आएको बताउदै नागरिक केन्द्रित लोकतन्त्रतर्फ जान चाहेको बताएका हुन् । उनले रास्वपाले समन्यायिक समाज बनाउने बताउदै बालकको प्रतिभाले उसको भविष्य निर्धारण गरोस भन्ने चाहेको बताए । डा. वाग्लेले इतिहासले हरेक पुस्तालाई एउटा अवसर दिन्छ भन्दै आफुहरुले त्यस्तै अत्यन्त दुर्लभ अवसर पाएको बताए । उनले अब विद्रोहलाई रुपान्तरणमा बदल्नुपर्नेमा जोड दिएका छन् ।
८- हुम्लाको श्रीनगर केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भुकप्म मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउसो २: ३२ बजे हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।
९- बेलायतका प्रधानमन्त्री कीर स्टार्मरले सोमबार राजीनामाको घोषणा गर्न सक्ने र पद त्याग्ने कार्ययोजनासमेत सार्वजनिक गर्न सक्ने दाबी गरिएको छ । बेलायती पत्रिका द अब्जर्भरको रिपोर्टअनुसार स्टार्मरले मन्त्रिपरिषद्का सदस्य, सल्लाहकार तथा ट्रेड युनियन नेताहरूसँगको छलफलपछि पदमा निरन्तर रहन कठिन भएको निष्कर्ष निकालेका छन् । यद्यपि, समाचार संस्था रोयटर्सका अनुसार सरकारी स्रोतहरूले उक्त दाबीलाई अस्वीकार गर्दै स्टार्मर अझै पनि प्रधानमन्त्रीका रूपमा आफ्नो जिम्मेवारी पूरा गर्न केन्द्रित रहेको बताएका छन् । रिपोर्टअनुसार स्टार्मरको लेबर पार्टीका एक सयभन्दा बढी सांसदले सार्वजनिक रूपमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने वा पद छोड्ने समयसीमा घोषणा गर्नुपर्ने बताएका छन् । स्टार्मरको विरोध गर्ने सांसदको संख्या तल्लो सदनमा रहेको पार्टीका कुल सांसदको करिब एक चौथाइ रहेको जनाइएको छ । यदि स्टार्मरले राजीनामा दिए भने पछिल्लो १० वर्षमा कार्यकाल पूरा गर्न नपाई पद छोड्ने उनी बेलायतका छैटौँ प्रधानमन्त्री बन्नेछन् । यसअघि डेभिड क्यामरुन, थेरेसा मे, बोरिस जोन्सन, लिज ट्रस र ऋषि सुनकले पनि कार्यकाल पूरा नहुँदै पद त्यागेका थिए । स्टार्मरले सन् २०२४ को आमनिर्वाचनमा लेबर पार्टीलाई ठूलो जित दिलाएका थिए । तर त्यसपछि उनको लोकप्रियता निरन्तर घट्दै गएको छ। विभिन्न विवाद, नीतिगत निर्णयमा पटक–पटक परिवर्तन तथा जनजीवन सुधारका वाचा पूरा गर्न नसक्दा उनको छविमा असर परेको बताइएको छ । उनको चुनौती अझ बढेको बेला विपक्षी धारका नेता एन्डी बर्नह्यामले शुक्रबार भएको उपनिर्वाचनमा विजय हासिल गरेका छन् । त्यसपछि उनले पार्टी नेतृत्वको दाबेदारी प्रस्तुत गर्न सक्ने चर्चा सुरु भएको छ । उपलब्धिपछि बर्नह्यामले देशलाई नयाँ दिशा दिन चाहेको बताएका छन्। उनका समर्थकहरूले स्टार्मरसँग राजीनामाको माग गरिरहेका छन् । विशेषज्ञहरूका अनुसार बेलायतमा प्रधानमन्त्री बारम्बार परिवर्तन हुनुको मुख्य कारण त्यहाँको संसदीय प्रणाली हो । बेलायती नागरिकले प्रधानमन्त्रीलाई प्रत्यक्ष रूपमा निर्वाचित गर्दैनन् । प्रधानमन्त्री आफ्नो पार्टीका सांसदहरूको समर्थनका आधारमा पदमा रहने व्यवस्था छ । यदि सांसदहरूले कुनै नेताको घट्दो लोकप्रियताले आगामी निर्वाचनमा पार्टीलाई नोक्सान पुर्याउन सक्छ भन्ने ठाने भने आमनिर्वाचन नगरी नयाँ नेता चयन गर्ने प्रक्रिया सुरु गर्न सक्छन् । यही कारण बेलायतमा पार्टीभित्रको समर्थन कमजोर हुनासाथ प्रधानमन्त्री परिवर्तनको सम्भावना बढ्ने गर्छ । त्यस्तै, बेलायतका प्रमुख राजनीतिक दलका आन्तरिक नियमले पनि नेतृत्व परिवर्तनलाई सहज बनाएका छन् । कन्जरभेटिभ पार्टीमा १५ प्रतिशत सांसदले विरोध जनाए अविश्वास प्रस्ताव ल्याउन सकिन्छ भने लेबर पार्टीमा २० प्रतिशतभन्दा बढी सांसद र सदस्यको समर्थन पाए अर्को नेताले नेतृत्वका लागि दाबेदारी प्रस्तुत गर्न सक्ने वयवस्था गरिएको छ ।
१०- लेबनानमा भएको आक्रमणमा एक इजरायली सैनिकको मृत्यु भएको छ भने अन्य १३ जना सैनिक घाइते भएका छन् । इजरायली सञ्चारमाध्यमका अनुसार, कफर तेबनित क्षेत्रमा रहेको सैनिक चौकीलाई लक्षित गर्दै रकेट प्रहार र मानवरहित हवाई उपकरणमार्फत आक्रमण गरिएको थियो । रिपोर्टका अनुसार इजरायली सैनिकहरू अली ताहेर रिज क्षेत्रमुनि रहेको हिजबुल्लाहको ठूलो भूमिगत संरचनालाई आफ्नो नियन्त्रणमा लिन सञ्चालन गरिएको अभियानमा सहभागी थिए । यही स्थानमा शुक्रबार गरिएको कारबाहीका क्रममा चार इजरायली सैनिकको मृत्यु भएको थियो । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सर्वसाधारण नागरिकको ज्यान जोगाउन इजरायली सेनाले विश्वका अन्य सेनाभन्दा बढी सावधानी अपनाउने दाबी गरेका छन् । उनले इजरायलविरुद्ध सबैभन्दा धेरै भ्रामक प्रचार हुने गरेको पनि बताएका छन्। यता, लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च २ यता इजरायली आक्रमणमा कम्तीमा ४ हजार ५७ जनाको मृत्यु भएको छ भने १२ हजार १ सय २१ जना घाइते भएका छन् । मृत्यु हुनेमध्ये ठूलो सङ्ख्यामा महिला र बालबालिका रहेका बताइएको छ । यसैबीच, स्विट्जरल्यान्डमा हुने वार्तामा लेबनानको अवस्थाबारे आपत्कालीन बैठक पनि समावेश गरिएको छ । यही विषय छलफलको पहिलो प्राथमिकतामा रहने बताइएको छ । स्विट्जरल्यान्ड प्रस्थान गर्नुअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले लेबनानमा युद्धविरामको दिशामा प्रगति गराउनु आफ्नो प्रमुख प्राथमिकतामध्ये एक रहेको बताएका थिए ।

११- ट्युनिसियाको निराशाजनक विश्वकप अभियान जापानसँगको पराजयपछि समूह चरणमै समाप्त भएको छ । स्विडेनसँग ५-१ को फराकिलो हार बेहोरेपछि प्रशिक्षक साब्री लामुचीलाई बर्खास्त गरी पूर्व साउदी अरेबिया प्रशिक्षक हेर्भे रेनार्डलाई जिम्मेवारी दिएको ट्युनिसियाले नयाँ प्रशिक्षकको आगमनपछि पनि सुधारिएको प्रदर्शन गर्न सकेन । मेक्सिकोको ग्वाडालुपेमा भएको खेलमा ट्युनिसिया जापानसँग ४-० गोल अन्तरले पराजित हुदै विश्वकपबाट बाहिरिएको छ । खेलको चौथो मिनेटमै ट्युनिसिया पछि परेको थियो । तीव्र प्रत्याक्रमणलाई उत्कृष्ट रूपमा उपयोग गर्दै जापानका डाइची कामाडाले नजिकको दूरीबाट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको केही समयपछि आयासे उएदाले पेनाल्टी क्षेत्रबाहिरबाट आकर्षक प्रहार गर्दै एक रक्षकको खुट्टाबीचबाट बललाई जालीको कुनामा पठाए र जापानको अग्रता दोब्बर बनाए । खेलभर ट्युनिसिया योजनाविहीन देखियो भने जापानले बल नियन्त्रणमा आधारित आफ्नो आकर्षक शैली प्रस्तुत गर्दै खेलमाथि पूर्ण पकड कायम राख्यो । जुन्या इतोले एक्लै अघि बढ्ने अवसर पाएपछि सहज गोल गर्दै जापानको तेस्रो गोल थपे । त्यसपछि उएदाले हावामा आएको बललाई हेडमार्फत जालीको कुनामा पठाउँदै व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेका थिए । जापानले खेलभर स्पष्ट रूपमा आफ्नो वर्चस्व कायम राख्यो। ट्युनिसियाको प्रत्येक आक्रमण सजिलै रोकियो र टोलीले प्रभावशाली प्रदर्शन गर्न सकेन । यस जितसँगै जापानले चार अंक जोडेको छ र अर्को चरण पुग्ने सम्भावना बलियो बनाएको छ । जापानले समूह चरणको अन्तिम खेल शुक्रबार स्विडेनविरुद्ध खेल्नेछ, जहाँ जित हासिल गरे अन्तिम ३२ मा स्थान पक्का हुनेछ । उता, विश्वकपको अर्को चरणबाट बाहिरिएको ट्युनिसियाले समूहको शीर्ष स्थानमा रहेको नेदरल्यान्ड्ससँग सोही समयमा प्रतिस्पर्धा गर्नेछ ।
१२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा ४ हजार २११ प्रतिनिधि सहभागी हुने भएका छन् । रास्वपाको केन्द्रीय निर्वाचन आयोगले ७ प्रदेश, प्रवास, समायोजन र मनोनयनबाट चुनिएका ४ हजार २११ महाधिवेशन प्रतिनिधिको नामावली सार्बजनिक गरेको हो । आयोगले प्रतिनिधिको विवरण सच्याउनु पर्ने वा प्रकाशित नामावलीमा विरोध भएमा महाधिवेशन सचिवालय प्रदर्शनी स्थलमा सम्पर्क राख्न आग्रह गरिएको छ । रास्वपाको महाधिवेशनमा ३३ देशका प्रवास सम्पर्क विभागबाट १७० जना, विधानअनुसार पार्टी सभापतिबाट १३८ जना प्रतिनिधि मनोनित भएका छन् । त्यस्तै समूहगत रूपमा पार्टी प्रवेश गरेका १९२ जनालाई प्रतिनिधि बनाइएको छ । त्यस्तै यस महाधिवेशनमा कोशी प्रदेशबाट ३६४, मधेसबाट ६३०, बागमतीबाट ७९४, लुम्बिनीबाट ६२१, गण्डकीबाट ४५४, कर्णालीबाट ३४३ र सुदूरपश्चिमबाट ५०५ जना प्रतिनिधि महाधिवेशनमा चयन भएका छन् । त्यसैगरी महाधिवेशन प्रतिनिधिकारूपमा पालिका सभापति, क्षेत्रीय सभापति र उपसभापति, जिल्ला सभापतिसहित ५ जना प्रतिनिधि रहेका छन् भने प्रदेश समितिका सबै सदस्यहरू, प्रदेशस्तरीय विभाग, अनुशासन आयोग र सल्लाहकार परिषद्का पदाधिकारी पनि प्रतिनिधि बनेका छन् । त्यस्तै सङ्घीय नेतृत्व मञ्चका सबै केन्द्रीय सदस्य, केन्द्रमा रहेका ३८ विभागबाट ११-११ जना, केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगबाट ११-११ जना महाधिवेशन प्रतिनिधि बनेका छन् । त्यस्तै केन्द्रीय समितिमा नरहेका सांसदहरु पनि महाधिवेशन प्रतिनिधि भएका छन्। त्यस्तै प्रत्येक गाउँपालिकाबाट एक जना, नगरपालिकाबाट दुई जना, उपमहानगरपालिकाबाट तीन जना र महानगरपालिकाबाट चार जना प्रतिनिधि छानिएको छ । त्यस्तैगरी प्रदेश सम्पर्क विभागबाट तीन-तीन जना र जिल्ला सम्पर्क विभागबाट एक–एक जना प्रतिनिधि छानिएको छ । गत प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका तर्फबाट पराजित तथा समानुपातिक सूचीका व्यक्ति पनि प्रतिनिधि भएका छन् । त्यसैगरी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजित समानुपातिक सूचीमा रहेका पनि प्रतिनिधि बनेका छन् । आजदेखि शुरु हुने रास्वपाको महाधिवेशनकको आयोगले निर्वाचन तालिका समेत सार्बजनिक गरिसकेको छ । जस अनुसार निर्वाचन कार्यक्रम मंगलबारसम्म हुने छ ।
१३- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको ६ सयले बढेर तोलाको २ लाख ८७ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ८६ हजार ७ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले घटेर तोलाको ४६९० मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४६४० मा कारोबार भएको थियो ।
१४- नेपाली हास्य कलाकार खेम शर्माको ६५ वर्षको उमेरमा निधन भएको छ । हाल अमेरिका बस्दै आएका शर्मा पछिल्लो समय क्यान्सर रोगका कारण अस्वस्थ रहेका थिए । आफ्नो स्वाभाविक अभिनय, हास्य प्रस्तुति र प्रभावशाली संवाद शैलीका कारण उनी दर्शकमाझ लोकप्रिय थिए । खेम शर्मा कुनै बेला चतुरेको नामले पनि परिचित थिए । नेपाल टेलिभिजनको चर्चित टेलिसिरियल चतुरेको दाउपेचमा ‘चतुरे’ बनेर अत्यन्त चर्चा कमाएका शर्माको जोडी शिवहरि पौडेल हुन् । पौडेल-शर्माको जोडी महको जस्तै चम्केको जोडी थियो । यो जोडीले दर्जनौ चलचित्र तथा टेलिफिल्मलगायत रंगमञ्चमा नाटक पनि खेलेका छन् । पौडेलले खेम शर्माको निधनप्रति दुख व्यक्त गर्दै भनेका छन्- ‘स्तव्ध: । आज भर्खरै मैले एउटा अमुल्य रत्न गुमाएं…उफ्फ…हे भगवान के गर्यौ यस्तो ? ॐ नम: शिवाय । खेम वावु तिमी संधैनै मेरो मनमा थियौ र रहि रहन्छौ ।’ शर्माले करोडपति, नेपाली बाबु, बेइमानी, आवारा, यस्तै रहेछ पिरती, गोठालो, अधिकार, सौगात, माया, झझल्को, घर-आँगन, माया, परेली, लौन यो मायाले सतायो जस्ता दर्जनौं नेपाली फिम्मा समेत अभिनय गरेका छन् ।

१५- कुरासाओले आफ्नो इतिहासमै पहिलो पटक विश्वकपमा अंक जोड्दै ठूलो उपलब्धि हासिल गरेको छ । समूह ई अन्तर्गत भएको खेलमा इक्वेडरको लगातार आक्रमण रोक्दै कुरासाओ बराबरीमा रोक्न सफल भयो । कुरासाओको जितसरहको यो बराबरीमा मुख्य नायक गोलकिपर एलोय रूम रहे । उनले उत्कृष्ट प्रदर्शन गर्दै कुल १५ वटा बचाउ गरे र विश्वकप इतिहासमै एक खेलमा सबैभन्दा धेरै बचाउ गर्ने कीर्तिमान बराबरी गरेका छन् । यसअघि यो कीर्तिमान अमेरिकाका गोलकिपर टिम हावर्डको नाममा थियो । खेलको सुरुवातमै इक्वेडरले दबाब बनाएको थियो । तेस्रो मिनेटमै एनर भ्यालेन्सियाको नजिकबाट आएको प्रहार रूमले रोकेका थिए । त्यसपछि पनि उनले जोन येबोआह र भ्यालेन्सियाका थप प्रयास असफल बनाए । पहिलो हाफमा मात्र उनले ६ वटा महत्वपूर्ण बचाउ गरेका थिए । दोस्रो हाफमा पनि इक्वेडरले लगातार आक्रमण गरिरहँदा मोइसेस काइसिडो, पेड्रो भिटे, केभिन रोड्रिगेज, निल्सन एङ्गुलो र गोन्जालो प्लाटाका प्रयासहरू पनि रूमले रोकेका थिए । कुरासाओले पनि बीचबीचमा मौका पाएको थियो । एक घण्टा नजिक पुग्दा लेआन्ड्रो बाकुनाको प्रहार इक्वेडरका गोलकिपरले बचाए भने लिभियाना कोमेनेन्सियाको अर्को प्रयास पनि सफल हुन सकेन । इक्वेडरले कुल २७ पटक प्रहार गरे पनि गोल गर्न सकेन । अब समूह चरणको अन्तिम खेलमा जर्मनीलाई हराउन सके मात्रै उसले नकआउट चरणमा पुग्ने सम्भावना जिवित रहन्छ । अर्कोतर्फ, पहिलो खेलमा जर्मनीसँग ७-१ ले पराजित भएको कुरासाओले अब आइभरी कोस्टलाई हराएमा अन्तिम ३२ मा पुग्ने सम्भावना कायम रहनेछ ।
१६- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको अवसरमा सभापति रवि लामिछानेलाई बधाई दिदै पार्टी स्थापनाको छोटो अवधिमै राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा बलियो रूपमा स्थापित गरेको बताएका छन् । रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा शुभकामना दिँदै थापाले लामिछाने नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय रहेको बताएका हुन् । उनले महाधिवेशन विचार, संगठन र नीतिका दृष्टिले ऐतिहासिक अवसर भएको बताउदै भनेका छन- ‘पार्टी स्थापनाको छोटो अवधिमै राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको छ । तपाईंको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यो यात्रा प्रशंसनीय छ । यो महाधिवेशन रास्वपाका लागि विचार, संगठन र नीतिका दृष्टिले अझ परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर हो ।’ थापाले महाधिवेशनले पार्टीलाई वैचारिक रूपमा स्पष्ट, जवाफदेही र थप उत्तरदायी गराउन गति र ऊर्जा प्रदान गर्नेछ अपेक्षा लिएको बताउदै भनेका छन्- ‘महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासहरूलाई आत्मसात् गर्न तथा संविधानप्रदत्त नागरिक अधिकारको संरक्षण गर्न पार्टीलाई वैचारिक रूपमा स्पष्ट, जवाफदेही र थप उत्तरदायी गराउन गति र ऊर्जा प्रदान गर्नेछ भन्ने अपेक्षा लिएको छु। तपाईंको आगामी राजनीतिक यात्रा तथा रास्वपाको प्रथम महाधिवेशनको पूर्ण सफलताको कामना गर्दछु ।’
१७- नापी कार्यालय गौशालाले बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित नक्सासम्बन्धी सेवा अब अनिवार्य रूपमा ‘मेरो कित्ता’ प्रणालीमार्फत मात्रै प्रवाह हुने जनाएको छ । कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार बैंक तथा वित्तीय संस्थालाई प्रवाह हुने नक्सासम्बन्धी सेवा असार ८ गतेदेखि संस्थागत प्रयोगकर्ता मार्फत अनलाइन प्रणालीबाट सञ्चालन गरिने व्यवस्था गरिएको हो । सूचनामा बैंक तथा वित्तीय संस्थाहरूले सम्बन्धित संस्थागत प्रयोगकर्ता मार्फत मेरो कित्ता प्रणालीबाट मात्रै सेवा लिनुपर्ने उल्लेख गरिएको छ । सेवाप्रवाहलाई थप व्यवस्थित, पारदर्शी तथा प्रविधिमैत्री बनाउन यस्तो व्यवस्था लागू गरिएको कार्यालयले जनाएको छ । यस व्यवस्थासँगै बैंक तथा वित्तीय संस्थाले नक्सासम्बन्धी सेवा प्राप्त गर्न कार्यालयमा प्रत्यक्ष उपस्थित हुनुपर्ने झन्झट कम हुने तथा अनलाइन प्रणालीमार्फत छिटो, सहज र प्रभावकारी सेवा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ ।
१८- अमेरिकी उपराष्ट्रपति जेडी भान्स स्विट्जरल्यान्ड प्रस्थान गरेका छन् । उनी इरानसँग हुने वार्तामा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् । अमेरिकी विशेष दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर भने यसअघि नै स्विट्जरल्यान्ड पुगिसकेका छन् । उनीहरूले वार्ताका प्राविधिक पक्षहरू सम्हालिरहेका छन् । प्रस्थानअघि भान्सले पछिल्लो एक सातामा आफ्नो भ्रमण तालिकामा धेरै परिवर्तन भएको भन्दै यसलाई ‘संवेदनशील समन्वय प्रक्रिया’ को संज्ञा दिएका थिए। उनले कूटनीतिक मर्यादा र प्रोटोकललाई विशेष ध्यान दिनुपर्ने बताएका छन् । भान्सका अनुसार इरानसँगको वार्तामा अमेरिकाका तीन प्रमुख प्राथमिकता रहेका छन् । पहिलो, वार्ताको संरचना तय गर्ने, दोस्रो, इरानको आणविक कार्यक्रमसम्बन्धी मुद्दामा प्रगति हासिल गर्ने र तेस्रो, लेबनानमा युद्धविराम कायम गराउने । भान्सले आफू स्विट्जरल्यान्डमा एक वा दुई दिन मात्रै बस्ने भए पनि इरानको आणविक सामग्री व्यवस्थापनसम्बन्धी विषयमा महत्वपूर्ण प्रगति हुने अपेक्षा गरेको बताए । उनले लेबनानमा युद्धविराम कायम गर्नु पनि महत्वपूर्ण प्राथमिकता भएको उल्लेख गरेका छन् । पछिल्लो समय इजरायलबाट फेरि मिसाइल आक्रमण भएपछि त्यहाँको अवस्था तनावपूर्ण बनेको उनले बताए । यसैबीच, इरानको प्रतिनिधिमण्डल पनि अमेरिकासँग वार्ताका लागि शनिबार स्विट्जरल्यान्ड पुगेको इरानी सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् । वार्ता स्विट्जरल्यान्डको पर्वतीय पर्यटकीय क्षेत्र बुर्गेनस्टकमा हुने तय भएको छ । इरानी प्रतिनिधिमण्डलको नेतृत्व मुख्य वार्ताकार मोहम्मद बाघेर घालिबाफले गरिरहेका छन् ।
१९- जर्मनीले आइभरी कोस्टविरुद्ध रोमाञ्चक पुनरागमन जित निकाल्दै फिफा विश्वकपको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ । खेलको अतिरिक्त समयको चौथो मिनेटमा डेनिज उन्डाभले निर्णायक गोल गरेपछि जर्मनीले २- १ को जित हात पारेको हो । चार पटकको विश्व विजेता जर्मनी खेलको ३०औँ मिनेटमा पछाडि परेको थियो । आइभरी कोस्टका कप्तान फ्रान्क केसीले गोल गर्दै अफ्रिकी टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि जर्मनीका प्रशिक्षक युलियन नागेल्समानले दोस्रो हाफमा बेन्चका खेलाडीलाई मैदानमा उतारे र त्यसको प्रतिफल टोलीले पायो । वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका डेनिज उन्डाभले ६८औँ मिनेटमा नदीम अमिरीको क्रसलाई उत्कृष्ट ढंगले जाली चुमाउँदै खेल बराबरीमा ल्याएका थिए । त्यसपछि खेल अतिरिक्त समयमा पुगेको अवस्थामा उनले ९४औँ मिनेटमा अर्को गोल गर्दै जर्मनीलाई अविस्मरणीय जित दिलाए । उन्डाभले यसअघि कुरासाओविरुद्ध जर्मनीको ७-१ को जितमा पनि बेन्चबाट मैदान प्रवेश गर्दै एक गोल र दुई गोलका अवसर सिर्जना गरेका थिए । हारका बाबजुद आइभरी कोस्टको नकआउट चरणमा पुग्ने सम्भावना अझै बाँकी छ । समूह ‘ई’ को अन्तिम खेलमा विश्वकपमा पहिलो पटक सहभागी भएको कुरासाओलाई पराजित गर्न सके उसले अर्को चरणमा स्थान बनाउन सक्छ । टोरोन्टोमा भएको खेलको सुरुआती समयमा आइभरी कोस्टले ऊर्जावान र आक्रामक प्रदर्शन गरेको थियो । तर स्पष्ट अवसर भने जर्मनीले बढी सिर्जना गरेको थियो । जर्मनीले २२औँ मिनेटमा अलेक्जान्डर पाभ्लोभिचमार्फत गोल गरेको थियो । तर कर्नर प्रहारबाट आएको हेडर गोलरक्षक याहिया फोफानामाथि फउल भएको ठहर गर्दै मान्यता दिइएन । त्यसपछि १९ वर्षीय विङ्गर यान डियोमान्डेले आमाद डियालोलाई उत्कृष्ट पास उपलब्ध गराए । डियालोको प्रहारलाई नाथानिएल ब्राउनले रोके पनि फर्किएको बलमा केसीले गोल गर्दै आइभरी कोस्टलाई अग्रता दिलाए । जर्मनीका लागि अर्को निराशा त्यतिबेला थपियो जब काइ हाभेर्ट्सको गोल पनि अमान्य घोषित भयो । गोल हुनुअघि जमाल मुसियालाले इमानुएल अग्बादाउमाथि फउल गरेको ठहर गरिएको थियो । आइभरी कोस्टले अग्रता दोब्बर बनाउने केही राम्रो अवसर पनि गुमायो । क्रिस्ट इनाओ ओउलाई र केसीले पाएका अवसर सदुपयोग गर्न नसक्दा त्यसको मूल्य टोलीले अन्तिम समयमा चुकाउनुपर्यो । अन्तिम क्षणमा गोलरक्षक फोफानाले ब्राउन र अमिरीका प्रहार रोके पनि उन्डाभलाई रोक्न सकेनन्। फेलिक्स नेम्चाको पासलाई उत्कृष्ट नियन्त्रणमा लिँदै उनले घुमेर गरेको प्रहार गोलमा परिणत गरे र जर्मनीलाई नकआउट चरणमा पुर्याए ।
२०- नेदरल्यान्ड्सले स्विडेनमाथि ५–१ को प्रभावशाली जित निकाल्दै फिफा विश्वकपको अन्तिम ३२ मा स्थान बनाउने सम्भावना लगभग सुनिश्चित गरेको छ । रोनाल्ड कोम्यानको टोलीका लागि ब्रायन ब्रोबे र कोडी गाक्पोले समान दुई-दुई गोल गरे भने क्रिसेन्सियो समरभिलले एक गोल थपेका थिए । स्विडेनका लागि सान्त्वना गोल एन्थोनी एलाङ्गाले गरेका थिए । जापानविरुद्धको २–२ को बराबरी खेलमा उत्कृष्ट प्रदर्शन गर्दै गोल गरेका समरभिललाई सुरुआती टोलीबाट बाहिर राख्दै ब्रोबेलाई मौका दिइएको थियो । प्रशिक्षक कोम्यानको त्यो निर्णय सही सावित भयो । खेलको पाँचौँ मिनेटमै नेदरल्यान्ड्सले उत्कृष्ट सामूहिक प्रदर्शन गर्दै अग्रता बनायो । गोलरक्षक बार्ट फेर्ब्रुगेनको लामो पासलाई नियन्त्रणमा लिएर ब्रोबेले गाक्पोलाई बल उपलब्ध गराए र त्यसपछि पेनाल्टी क्षेत्रमा पुगेर गाक्पोको लो क्रसलाई गोलमा परिणत गरेका थिए । खेलको १७औँ मिनेटमा ब्रोबेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । डेन्जेल डुम्फ्रिसको लो क्रसमा उनले स्विडेनका रक्षक इसाक हिएनलाई पछि पार्दै सहज गोल गरेका थिए । पहिलो हाफको अतिरिक्त समयमा स्विडेनले अन्तर घटाएको जस्तो देखिएको थियो । गुस्ताफ लागरबिएल्केले फ्रिकिकमा गोलरक्षकलाई उछिन्दै जाली चुमाए पनि अफसाइडका कारण गोल मान्यता पाएन । दोस्रो हाफ सुरु भएको दुई मिनेट नबित्दै नेदरल्यान्ड्सले तेस्रो गोल थप्यो । डुम्फ्रिसको अर्को खतरनाक क्रसमा गाक्पोले पछिल्लो पोस्टमा सहज ट्याप गर्दै गोल गरेका थिए । खेलको ५४औँ मिनेटमा गाक्पोले व्यक्तिगत दोस्रो गोल पूरा गरे । दोस्रो हाफ सुरुसँगै मैदान प्रवेश गरेका समरभिलले तीव्र गतिमा अगाडि बढ्दै गाक्पोलाई पास उपलब्ध गराए र उनले तल्लो कुनामा उत्कृष्ट प्रहार गर्दै गोल गरे । यो गोलसँगै यस विश्वकपमा ३३ खेलमा कुल १०० गोल पूरा भएको छ । सन् १९५८ पछि विश्वकपमा सबैभन्दा छिटो एक सय गोलको कीर्तिमान बनेको हो । स्विडेनले ५९औँ मिनेटमा एक गोल फर्कायो। वैकल्पिक खेलाडी एलाङ्गाले उत्कृष्ट थ्रु पासमा दौडिँदै गोलरक्षक फेर्ब्रुगेनमाथिबाट बल उछालेर गोल गरेक थिए । तर अन्तिम समयमा समरभिलले पनि आफ्नो नाम गोलकर्ताको सूचीमा लेखाए । उनले तीव्र गतिमा अघि बढ्दै तल्लो कुनामा सटिक प्रहार गरेर नेदरल्यान्ड्सको शानदार जित सुनिश्चित गरे । यस जितसँगै नेदरल्यान्ड्स चार अंकसहित समूह ‘एफ’ को शीर्ष स्थानमा पुगेको छ । स्विडेनले भने नकआउट चरणमा पुग्न अन्तिम समूह खेलमा जापानविरुद्ध सकारात्मक नतिजा निकाल्नुपर्ने देखिएको छ ।




