आयात १५.१६ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब १६ अर्ब भन्दा बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिना साउनदेखि जेठसम्म सम्ममा १८ खर्ब ९४ अर्बको बस्तु आयात भएको छ ।

भन्सार विभागले सार्बजनिक गरेको रिपोर्टका अनुसार अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा भन्दा १५.१६ प्रतिशतले आयात बढेको छ ।  अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा १६ खर्ब ४४ अर्बको आयात भएको थियो ।

त्यस्तै यस अवधिमा निर्यात १२.२८ प्रतिशतले बढेको छ । विभागले ११ महिनामा निर्यात व्यापार २ खर्ब ७७ अर्ब बराबरको भएको जनाएको छ । अघिल्लो आर्थिक बर्षको ११ महिनामा २ खर्ब ४७ अर्बको निर्यात भएको थियो ।

त्यस्तै ११ महिनामा कुल वैदेशिक व्यापार आकार २१ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ । ११ महिनामा गत आवको सोही अवधिमा १८ खर्ब ९२ अर्ब बराबरको वैदेशिक व्यापार भएको थियो ।

यस अवधिमा व्यापार घाटा १५.६७ प्रतिशतले बढेर १६ खर्ब १६ अर्ब पुगेको छ । अघिल्लो आव भने १३  खर्ब ९७ अर्ब क्यापार घाटा रहेको थियो ।

यस अवधिमा विभागका अनुसार भारतबाट नेपालमा १० खर्ब ९२ अर्ब रुपैयाँबराबरको वस्तु आयात भएको छ । नेपालबाट भारततर्फ भने २ खर्ब २८ अर्ब १३ करोड रुपैयाँबराबर वस्तु निर्यात भएको छ । चीनबाट ३ खर्ब ८२ अर्ब बराबरको वस्तु आयात भएको भने नेपालबाट एक अर्ब ५९ करोड बराबरको वस्तु निर्यात भएको छ ।