
विराटनगर । नेपाल आयल निगमले कोशी प्रादेशिक कार्यालय विराटनगरका लागि पेट्रोलियम पदार्थ ढुवानी गरिरहेको एक ट्यांकर चोरी भएको र त्यसबाट ९७३ लिटर पेट्रोल हराएको जनाएको छ ।
निगमका अनुसार नवीन ढुवानी सेवा प्रालिको को १ ख ६१९० नम्बरको ट्यांकरले भारतीय आयल निगमको सिलिगुडी डिपोबाट २० हजार लिटर पेट्रोल लोड गरी असार ७ गते बिहान करिब ८ बजे विराटनगरस्थित डिपोबाट करिब ३०० मिटर टाढा रहेको कञ्चनबारी पार्किङ क्षेत्रमा राखिएको थियो । ढुवानीकर्ताले असार ८ गते बिहान ९ बजे उक्त ट्यांकर पार्किङ स्थलबाट हराएको भन्दै निगमलाई लिखित जानकारी गराएको थियो । त्यसपछि निगमले जिल्ला प्रहरी कार्यालय मोरङलाई जानकारी गराएर अनुसन्धान थालेको थियो । बन्द सर्किट क्यामेराको दृश्य अध्ययन गर्दा असार ८ गते बिहान ३ बजेर ३ मिनेटमा ट्यांकर पार्किङ स्थलबाट बाहिरिएको र नोबेल अस्पतालतर्फ गएको देखिएको थियो ।


त्यसपछि निगम, प्रहरी र ढुवानीकर्ताको टोलीले खोजी अभियान सञ्चालन गरेको थियो। खोजीका क्रममा विराटनगरबाट करिब १७ किलोमिटर टाढा सुनसरीको भोक्राहा गाउँपालिका–८ अन्तर्गत हुलाकी राजमार्ग क्षेत्रमा ट्यांकर बेवारिसे अवस्थामा फेला परेको थियो। ट्यांकरमा जडान गरिएको सुरक्षा ताला काटिएको अवस्थामा भेटिएको निगमले जनाएको छ । घटनास्थलमै प्रहरी, निगमका कर्मचारी र ढुवानीकर्ताका प्रतिनिधिको उपस्थितिमा मुचुल्का तयार गरी थप अनुसन्धानका लागि कागजात जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको थियो । त्यसपछि ट्यांकरलाई पुनः निगमको डिपोसँगै रहेको पार्किङ क्षेत्रमा ल्याएर सिलबन्दी गरी राखिएको थियो । असार १० गते जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ, पत्रकार, निगम तथा ढुवानीकर्ताका प्रतिनिधिको उपस्थितिमा ट्यांकरको सिल खोली इन्धनको गुणस्तर र परिमाण परीक्षण गरिएको थियो ।

परीक्षणका क्रममा पेट्रोलको गुणस्तरमा कुनै समस्या नदेखिए पनि २० हजार लिटरमध्ये ९७३ लिटर पेट्रोल चोरी भएको पुष्टि भएको निगमले जनाएको छ । बाँकी रहेको १९ हजार २७ लिटर पेट्रोल निगमको भण्डारणमा खन्याइएको छ । निगमले पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, २०७३ अनुसार चोरी भएको परिमाणको दोब्बर रकम ढुवानीकर्ताबाट असुल गरिएको जनाएको छ ।




