
ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार बजेट ल्याएको छ ।
बुधवार आगामी आर्थिक वर्षको बजेट प्रश्तुत गर्दै उक्त महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले चालु आर्थिक वर्षको हाराहारीमा नै बजेट ल्याइएको जानकारी गराउनुभएको हो । त्यसैगरी बजेटमा चालु खर्चका लागि ३ अर्ब २५ करोड १८ लाख ५३ हजार विनियोजन गरिएको छ ।
बजेटलाई मितव्ययी, पारदर्शी, औचित्यपूर्ण रुपमा खर्च हुने गरी चालु खर्चको व्यवस्था गरिएको पनि उपमेयर बज्राचार्यले स्पष्ट पार्नुभयो । चालु खर्च कर्मचारीको तलवलगायत वृद्धि भएका कारण बढन सक्ने उपमहानगरपालिकाको प्रक्षेपण छ । त्यसैगरी पुँजीगत खर्चतर्फ ४ अर्ब २३ करोड ६९ लाख २७ हजार विनियोजन गरिएको छ । जुन चालु आर्थिक वर्षको भन्दा ६ प्रतिशतले कमी रहेको पनि उपमेयर बज्राचार्यले बताउनु भयो । वडास्तरीय कार्यक्रम र विषयगत क्षेत्रको कार्यक्रमलाई बजेटमा प्राथमिकता दिइएको हो ।


उपमेयर बज्राचार्यले भन्नुभयो,‘आगामी आर्थिक वर्षका लागि कूल बजेट ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार मात्रै विनियोजन गरेको छु । यो रकम चालू आर्थिक वर्षको हाराहारीमा रहेको छ । बजेटलाई मितव्ययी, पारदर्शी, औचित्यपूर्ण रुपमा खर्च गर्नेगरी आगामी आर्थिक वर्षका लागि चालू खर्चका लागि ३ अर्ब २५ करोड १८ लाख ५३ हजार विनियोजन गरेको छु ।

चालु आर्थिक वर्षका लागि रु २ अर्व ९६ करोड ६४ लाख १८ हजार विनियोजन भएकोमा आगामी आर्थिक वर्षका लागि कर्मचारीहरुको तलव वृद्धि तथा प्रोत्साहनसँगै प्रशासनिक खर्च तर्फका पारिश्रमिक बृद्धि र सामाजिक सुरक्षा भत्ता लगायतका अनिवार्य दायित्वको खर्चमा हुने वृद्धि हुनेआधारमा चालु खर्च गत वर्षको तुलनामा करिव २८ करोेड बढ्ने प्रक्षेपण गरिएको छ ।


अर्थात यो रकम चालु आर्थिक वर्षको तुलनामा नौ प्रतिशत बढी हो । पूँजीगत खर्चतर्फ आगामी आर्थिक वर्षका लागि ४ अर्व २३ करोड ६९ लाख २७ हजार विनियोजन गरेको छु । चालु आर्थिक वर्षमा पुँजीगत खर्च ४ अर्व, ५० करोड ७७ लाख २९ हजार विनियोजन भएकोमा संघीय सरकार र प्रदेश सरकारबाट पूँजीगत शीर्षकमा कम बजेट प्राप्त भएको कारण गत वषृको भन्दा करिव २७ करोड रकम पूँजीगत खर्चमा कमी अर्थात चालु वर्षको तुलनामा ६ प्रतिशत घटी प्रश्ताव गरिएको छ । वडास्तरीय कार्यक्रम र विषयगत क्षेत्र कार्यक्रमका लागि चालु आवमा विनियोजन भए अनुसार आगामी आवका लागि बजेट प्रस्ताव गरिएको छ ।’
बजेट कार्यान्वयनका लागि मासिक रुपमा सम्बन्धित निकायसँग रिर्पोटिङले व्यवस्था गरिएको पनि उपमेयर बज्राचार्यले बताउनु भयो । त्यसैगरी बजेटमा निर्माणाधिन आयोजनाका लागि बजेटको सुनिश्चितता पनि गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ ।





